बाघ संरक्षणमा बर्दिया निकुञ्जलाई अन्तर्राष्ट्रिय पुरस्कार

एक दशकमा बाघको संख्या दोब्बर भएका नेपालको बर्दिया र भारतको सत्यमंगलम संरक्षण क्षेत्रमध्ये उत्कृष्ट

काठमाडौँ — बाघले मान्छे र पशुमाथि लगातारको आक्रमणका कारण नकारात्मक खबर आइरहेका बेला बर्दिया राष्ट्रिय निकुञ्जले बाघ पाइने ११ देशलाई उछिन्दै महत्त्वपूर्ण पुरस्कार जितेको छ । संसारका १३ देशमा बाघ पाइन्छन् । तर करिब १२ वर्षमा बाघको संख्या दोब्बर गर्न सफल भएका बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सत्यमंगलम टाइगर रिजर्भले  डब्लूडब्लूएफको टीएक्स–टु पुरस्कार जितेका हुन् । 

बाघ संरक्षणमा बर्दिया निकुञ्जलाई अन्तर्राष्ट्रिय पुरस्कार

तमिलनाडुमा पर्ने सत्यमंगलममा सन् २०११ सम्म २५ वटा बाघ रहेकामा अहिले ८० पुगेको छ । यता सन् २०१० पछि अहिलेसम्म बर्दिया निकुञ्जमा बाघको संख्या दोब्बर भएको छ ।

रसियामा २०६७ मंसिर ७ मा भएको बाघ पाइने १३ मुलुकका सरकार प्रमुखहरूको सम्मेलनले १२ वर्ष अर्थात् सन् २०२२ सम्ममा प्राकृतिक बासस्थानमा बाघको संख्या दोब्बर बनाउन लागिपर्ने घोषणा गरेको थियो । त्यो बेला बर्दिया निकुञ्जमा १८ वटा बाघ थिए, सन् २०१८ को गणना अनुसार ८७ पुगेका छन् । बर्दियामा सन् २०१० पछि चार गुणाले बाघको संख्या बढेको हो । २०६७ मा नेपालमा १ सय २१ वटा बाघ थिए । सन् २०१८ को गणनाअनुसार २ सय ३५ पुगेका छन् । अहिले फेरि बाघ गणना जारी छ । यो गणनाले उत्साहजनक नतिजा दिने अपेक्षा संरक्षणकर्मीहरूको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले पुरस्कारका लागि बर्दिया छानिनु गौरवको विषय भएको बताए । ‘यो अवार्ड हामीले बाघ संरक्षणमा पाएको उपलब्धि हो,’ उनले भने, ‘पुरस्कारले बाघ पाइने देशहरूमध्येमा हामी अग्र स्थानमा भएको पुष्टि पनि गरेको छ ।’

यो पुरस्कार आगामी भदौ २० मा रुसको भ्लादिभोस्तोकमा हुने दोस्रो बाघ संरक्षण सम्मेलनमा प्रदान गरिनेछ । ग्लोबल टाइगर फोरम (जीटीएफ), डब्लूडब्लूएफ, कन्जर्भेसन एस्युर्ड टाइगर स्ट्यान्डर्टस (सीएटीएस), यूएनडीपी, वाइल्डलाइफ कन्जर्भेसन सोसाइटी, फाउना एन्ड फ्लोरा इन्टरनेसनल, प्यान्थेरालगायतका संस्थाहरूले बाघ संरक्षणमा गरेका प्रयास र योगदानलाई मूल्यांकन गर्दै यो पुरस्कार गरिने भएको हो ।

बाघ संरक्षणमा उत्कृष्ट काम गरेको भन्दै बर्दियाको खाता जैविक मार्ग समितिलाई समेत पुरस्कृत गरिएको छ । नेपाल–भारत सीमामा पर्ने खाता जैविकमार्ग वन्यजन्तु ओहोरदोहोरका लागि प्रख्यात छ । भारततिर कतरनियाघाट वाइल्डलाइफ सेन्चुरी छ । एनटीएनसीको बर्दिया संरक्षण कार्यक्रमका प्रमुखसमेत रहेका वन्यजन्तुविद् रबिन कडरियाका अनुसार सीमा क्षेत्रमा जडान गरिएको स्वचालित क्यामेराले उक्त क्षेत्रमा ५ वटा बाघ नेपाल–भारत ओहोरदोहोर गर्ने गरेको देखाएको छ ।

डब्लूडब्लूएफको टाइगर्स अलाइभ इनिसियटिभका प्रमुख स्टुअर्ट च्यापम्यानले फिल्डमा काम गर्ने कर्मचारी, संरक्षणका साझेदार र बाघ पाइने क्षेत्रमा बस्ने समुदायको अथक संरक्षण प्रयासका कारण यो असाधारण परिणाम प्राप्त भएको बताएका छन् । बाघ संरक्षणमा सरकारलाई सघाइरहेको जुलोजिकल सोसाइटी अफ लन्डन, नेपाल (जेडएसएल) का नेपाल प्रतिनिधि डा.हेमसागर बरालले बर्दिया निकुञ्ज पुरस्कृत हुनु संरक्षण क्षेत्रका लागि गौरव मान्नुपर्ने प्रतिक्रिया दिए ।

बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले टिएक्स–टु पुरस्कारलाई ठूलो उपलब्धि भनेका छन् । ‘काम गरेपछि पुरस्कार पाइन्छ भन्ने यो एउटा उदाहरण हो,’ उनले भने, ‘सँगै बाघका लागि बर्दिया महत्त्वपूर्ण गन्तव्य हो भन्ने साबित पनि भएको छ ।’ उनका अनुसार निकुञ्जले बाघको संख्या बढाउन बाघका आहार प्रजातिका लागि घाँसे मैदान बिस्तार र पानीका घोलहरू बिस्तार गर्ने कार्यक्रमलाई जोड दिएको छ । पछिल्लो पटक बढेको बाघ–मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि पनि निकुञ्जले अल्पकालीन र दीर्घकालीन कार्यक्रम अघि सारेको छ ।

बाघ पाइने देशका मन्त्रीहरूको गत शुक्रबार सम्पन्न चौथो बैठकले पनि बाघ–मानवबीच बढ्दो द्वन्द्व घटाउँदै वासस्थान बिस्तार र जैविक करिडोर संरक्षणमा अझ सशक्त काम गनुपर्ने निष्कर्ष निकालेका छन् । बाघ संरक्षणसम्बन्धी मलेसिया घोषणा पत्रमा भनिएको छ– बढ्दो मानव–वन्यजन्तु द्वन्द्वको विषयलाई सम्बोधन गरिनेछ ।

प्रकाशित : माघ १५, २०७८ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?