१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

वरिष्ठताका आधारमा कांग्रेस कार्यसम्पादन समिति

काठमाडौँ — कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले शुक्रबार सभापति शेरबहादुर देउवाद्वारा प्रस्तावित कार्यसम्पादन समितिलाई अनुमोदन गरेको हो ।

वरिष्ठताका आधारमा कांग्रेस कार्यसम्पादन समिति

सभापति देउवाले समितिमा १३ जना पदेन पदाधिकारीबाहेक २४ सदस्य मनोनयन गरेका छन् । कार्यसम्पादन समिति गठनमा वरिष्ठतालाई प्रमुख आधार बनाइएको छ । पूर्वपदाधिकारीहरू रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत र सुनीलबहादुर थापा कार्यसम्पादन समितिमा समेटिएका छन् ।

वरीयताका आधारमा केन्द्रीय सदस्यहरू शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना समिति सदस्य बनेका छन् । साउदभन्दा माथिल्लो वरीयतामा रहेका पद्मनारायण चौधरी र दिलेन्द्रप्रसाद बडू भने कार्यसम्पादन समितिमा छुटेका छन् ।

कांग्रेस विधानको दफा २३ मा ४७ सदस्यीय कार्यसम्पादन समिति गठन हुने प्रावधान छ । समितिमा १४ जना पदाधिकारी, प्रवक्ता र संसदीय दलका नेता पदेन सदस्य हुन्छन् । हाल कोषाध्यक्ष र प्रवक्ता मनोनीत भएका छैनन् भने संसदीय दलको नेता सभापति स्वयं छन् । दफा २३ (२) मा सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्तसमेतलाई ध्यानमा राखी ३१ सदस्य प्रस्ताव गर्ने उल्लेख छ । तर कार्यसम्पादन समितिमा महिला ४ जना मात्र छन् । दलित समुदायका सहमहामन्त्री जीवन परियार मात्र पदेन हैसियतले समितिमा पुगेका छन् । ‘केही सदस्य मनोनयन गर्न बाँकी रहेकाले सभापतिले ख्याल गर्नुहुन्छ भन्ने विश्वास छ,’ परियारले भने ।

केन्द्रीय सदस्य डिला संग्रौलाले पार्टीका हरेक तहका कार्यसमितिमा एकतिहाइ महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि कार्यसम्पादन समितिमा संख्या किटान नगरिएकाले महिला प्रतिनिधित्व कम भएको बताइन् । उनले भनिन्, ‘कार्यसम्पादन समितिलाई समावेशी गर्ने हो भने संख्या तोक्नुपर्छ ।’ समितिमा ७ जना सदस्य मनोनीत हुन बाँकी छन् । एक नेताका अनुसार वरिष्ठतालाई आधार मान्दा आफ्नो समूहका धेरै नेता समेटिने र विवाद पनि कम हुने भएकाले देउवाले वरीयताअनुसार मनोनयन गरेका हुन् ।

कांग्रेस विधानमा महिनाको एक पटक कार्यसम्पादन समितिको बैठक बस्ने प्रावधान छ । प्रत्येक दुई महिनामा बस्ने केन्द्रीय कार्यसमिति बैठक नभएका बेला केन्द्रीय कार्यसमितिले गर्नुपर्ने काम समेत गर्ने भनिएको छ । कार्यसम्पादन समितिले आफ्नो निर्णय केन्द्रीय कार्यसमिति बैठकमा पेस गरी अनुमोदन गर्नुपर्छ ।

३७ सदस्यीय समितिमा सभापति देउवा समूहका २१ जना छन् । शेखर कोइराला समूहका उनीसहित रामशरण महत, अर्जुननरसिंह केसी र बलबहादुर केसी मात्र मनोनीत भएका छन् । उपसभापति गुरुङ, महामन्त्री थापा, सहमहामन्त्रीद्वय परियार र पाण्डे पदेन हैसियतले स्वतः समितिमा परेका छन् । महाधिवेशनमा छुट्टै प्यानल बनाएका प्रकाशमान सिंह र सुजाता कोइराला पनि सदस्य भएका छन् । उक्त समूहका महामन्त्री शर्मा स्वतः समितिमा पुगेका छन् । कृष्णप्रसाद सिटौला समूहका उनीसहित सहमहामन्त्री उमाकान्त चौधरी छन् । त्यसबाहेक रामचन्द्र पौडेल, शशांक कोइराला, विमलेन्द्र निधि पनि सदस्य भएका छन् ।

शुक्रबारको भर्चुअल बैठकमा केन्द्रीय सदस्यहरू उत्साहपूर्ण रूपमा जोडिएका थिए । सभापति देउवा, उपसभापतिद्वय खड्का र गुरुङ तथा महामन्त्रीद्वय थापा र शर्मा भने केन्द्रीय कार्यालय सानेपाबाट बैठकमा सहभागी भएका थिए । बैठक ३ बजे सुरु हुने भनिए पनि करिब २५ मिनेट ढिलो सुरु भएको थियो ।

बैठक सुरु हुनुअघि करिब आधा घण्टा केन्द्रीय पदाधिकारी र सदस्यबीच अनौपचारिक गफगाफ चलेको थियो । सभापति देउवाले बैठक सुरुवात गर्दै ‘महामारी छ, भौतिक रूपमा बैठक बोलाउन सकिएन, त्यसैले पहिलो पटक भर्चुअल माध्यमबाट बैठक राख्नुपरेको’ बताएका थिए । त्यसपछि उनले महामन्त्री थापाले थोरै भूमिकासहित सभापति देउवाद्वारा प्रस्तावित नाम पढेर सुनाए । लगत्तै भर्चुअल बैठकका लागि दिइएको ‘जुम लिंक’ विच्छेद भयो । एक केन्द्रीय सदस्यले भने, ‘सभापतिले राखेको प्रस्तावमा समर्थन छ भन्नसमेत नपाएर बैठक सकियो ।

समितिमा को–को ?

पदेन

शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार

मनोनीत

रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, सुनीलबहादुर थापा, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुंगाना

प्रकाशित : माघ १५, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?