‘बुस्टर डोज’ को पर्खाइमा ज्येष्ठ नागरिक

सरकारले प्राथमिकता दिने भने पनि अधिकांश ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति पट्यारलाग्दो पर्खाइमा
विद्या राई

काठमाडौँ — सरकारले ज्येष्ठ नागरिकलाई कोरानाविरुद्धको बुस्टर डोजमा प्राथमिकता दिने घोषणा गरे पनि धेरैजसोले खोप पाउन सकेका छैनन् । पहुँच र भनसुनका आधारमा एकाधले पाए पनि अधिकांश ज्येष्ठ नागरिक पट्यारलाग्दो पर्खाइमा छन् । २०६८ को जनगणनाअनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिक देशभर करिब ३० लाख छन् ।

‘बुस्टर डोज’ को पर्खाइमा ज्येष्ठ नागरिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुस ३० गते स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा खोपको उपलब्धताका आधारमा ५० वर्षमाथि उमेर समूहका व्यक्तिलाई बुस्टर डोजमा प्राथमिकता दिइने भनेको थियो । जसमा माघ ८ देखि यो काम सुरु हुने उल्लेख थियो ।

तर उनीहरूभन्दा पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, अत्यावश्यक सेवामा काम गर्ने व्यक्ति, सुरक्षाकर्मी, अन्य सरकारी कर्मचारी, पत्रकारलगायत छन् । उनीहरूलाई माघ १ देखि बुस्टर डोज लगाउन थालिएको छ । यसबाट पहिलो प्राथमिकतामा परेकाहरूलाई खोप लगाएपछि मात्रै ५० वर्षमाथिकाले बुस्टर डोज पाउने देखिन्छ ।

बुढानीलकण्ठको गोल्फुटारस्थित रिमा सेवा समाज (वृद्धाश्रम) मा आश्रय लिइरहेका ३० जना ज्येष्ठ नागरिक पनि बुस्टर डोजको पर्खाइमा छन् । ‘सरकारी निकायले प्राथमिकता नदिएकाले लायन्स क्लब जस्ता संस्थामार्फत पहल गरिरहेको छु,’ समाजकी प्रमुख रिमा सापकोटाले भनिन्, ‘ज्येष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले पनि उनीहरूलाई छिटो बुस्टर दिइनुपर्छ ।’

ज्येष्ठ नागरिकको अधिकारबारे पैरवी गर्दै आएका कृष्णमुरारी गौतम भने सरकारको खोप कार्यक्रम व्यावहारिक नभएको बताउँछन् । ‘स्वास्थ्य मन्त्रालयमा कुरा गर्‍यो भने यहाँ (खोप केन्द्र) आए लाइदिन्छु, लाइन लाग्न पर्दैन भन्छन्, तर सबै खोप केन्द्र पुग्द सक्दैनन् । ज्येष्ठ नागरिक भार हुन् भन्ने बुझाइ भयो,’ उनले भने ।

अपांगता भएका व्यक्ति पनि बुस्टर डोजको प्राथमिकतामा परेको देखिँदैन । २०६८ सालको जनगणनाअनुसार देशभर अपांगता भएका व्यक्ति ५ लाख १३ हजार ९ सय ९३ जना छन् । ह्वीलचियर अभियन्ता गजेन्द्र बुढाथोकी भन्छन्, ‘योभन्दा अगाडि पनि कराउँदाकराउँदा बल्ल खोप दिएको थियो, अहिले त छँदै छैन,’ उनले भने । विश्व स्वास्थ्य संगठनले अपांगता भएका व्यक्तिहरूको रोग प्रतिरोधात्मक क्षमता कम हुने, सहयोगी सेवा चाहिने भनेर जोखिमयुक्त वर्गमा राखे पनि सरकारले प्राथमिकतामा नराखेको उनको भनाइ छ ।

राष्ट्रिय अपांग महासंघका महासचिव राजु बस्नेतले बुस्टर डोजका लागि पहल गरिने बताए । ‘सरकारले सबै नागरिकलाई समान ढंगले हेर्नुपर्ने हो, अपांगतालाई झन् बढी महत्त्वमा राख्नुपर्ने हो, तर त्यस्तो देखिएन,’ उनले भने । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अर्को छुट्टै व्यवस्था गरेर बुस्टर डोजकै लागि घरघर अभियान चलाउने स्थिति नरहेको बताए । ‘त्यसका लागि धेरै स्रोतसाधन चाहिन्छ, अहिले खोपकेन्द्र थप्ने भन्नेमा छौं,’ उनले भने, ’आउन नसक्नेका लागि केन्द्रमा ल्याएर खोप लगाउने व्यवस्था गर्छौं ।

केही स्थानीय सरकारले भने अपांगता भएकालाई बुस्टर डोजमा प्राथमिकता दिएका छन् । ललितपुर महानगरपालिकाले खोप केन्द्रमा जान सक्नेलाई लाइनमा नराखेरै खोप लगाइदिने गरेको अपांगताको क्षेत्रमा सक्रिय अभियन्ता भोजराज श्रेष्ठले बताए । केन्द्र आउन नसक्नेलाई वडाहरूले घरैमा गएर लगाउने गरेको र यो अभ्यासलाई सबै स्थानीय सरकारले पछ्याउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : माघ १५, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?