१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

५ देखि ११ वर्षका लागि खोप २ महिनापछि

यो उमेरका बालबालिकाको संख्या ४० लाख भएकाले ८४ लाख मात्रा फाइजरको ‘गुलाबी खोप’ ल्याउने सरकारको तयारी
अतुल मिश्र

काठमाडौँ — सरकारले ५ देखि ११ वर्षका बालबालिकालाई कोभिड–१९ विरुद्घको खोप करिब दुई महिनापछि लगाउने तयारी थालेको छ । करिब ४० लाख जनसंख्या रहेको यो उमेर समूहका लागि विशेष रूपमा निर्माण गरिएको फाइजरको ‘गुलाबी खोप’ मार्चको अन्त्य वा अप्रिल पहिलो सातासम्म पाउने सरकारी अधिकारीले अपेक्षा गरेका छन् । 

५ देखि ११ वर्षका लागि खोप २ महिनापछि

‘५ देखि ११ वर्ष उमेर समूहलाई लगाउन मिल्ने फाइजर खोप अप्रिलको पहिलो सातासम्म आउने सम्भावना छ,’ प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य सल्लाहकार डा. आरपी बिच्छाले कान्तिपुरसँग भने, ‘खोप आउनासाथ दुईदेखि तीन महिनाभित्र हामी यो उमेर समूहका पूर्ण जनसंख्यालाई खोप लगाउन सक्छौं ।’

सरकारले धेरैअघि नै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउन ६० लाख मात्रा खोपका लागि विश्व बैंकमार्फत फाइजर कम्पनीसँग अनुबन्ध गरेको थियो ।

तर, कोभाक्स सुविधाको सहयोगअन्तर्गत मोडर्नाको खोप ३४ लाख मात्रा आयो । थप ४० लाख मात्रा मोडर्नासमेत नेपाल भित्रिइसकेको छ । यसरी भित्रिएको कुल ७४ लाख मात्रा मोडर्ना १२ देखि १७ वर्षका बालबालिकालाई दिन थालिएको छ ।

‘फाइजरको आउने भनिएको ६० लाख खोपलाई भने ५ देखि ११ वर्षका बालबालिकालाई लगाउन मिल्ने गुलाबी खोपमा परिवर्तन गर्न कम्पनीसँग आग्रह गरेका छौं,’ डा. बिच्छाले भने । ५–११ वर्षका बालबालिकाको जनसंख्या ४० लाख छ । खोप खेर जान सक्ने अनुमानसहित पहिले अपेक्षा गरिएको ६० लाखसँगै थप २४ लाख गरी ८४ लाख मात्रा गुलाबी फाइजर दिन कम्पनीलाई आग्रह गरिएको हो । ‘११ वर्षमुनिका बालबालिकालाई खोप वितरण गर्ने लिस्टमा फाइजरले हामीलाई पहिलो प्राथमिकतामा राखेको छ,’ डा. बिच्छा भन्छन्, ‘उक्त खोप करिब दुई महिनापछि प्राप्त हुने हामीले विश्वास गरेका छौं ।’

नेपालमा हाल १२ देखि १७ वर्षसम्मका बालबालिकाले कोभिडविरुद्धको खोप पाउन थालेका छन् । तर छिमेकी मुलुक भारतमा भने १५ देखि १७ वर्षका बालबालिकाले भने यो उमेरका नेपाली बालबालिकाले खोप पाउन थालेको धेरै समयपछि मात्र खोप पाइरहेका छन् । ‘१२ देखि १७ वर्षका लागि कोभिड खोप दिने कार्यक्रममा हामी खोप निर्माता शक्तिशाली छिमेकी मुलुकभन्दा अगाडि भयौं,’ डा. बिच्छाले भने, ‘हाम्रो योजनामा कुनै अप्रत्याशित अवरोध नआए ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप लगाउने प्रक्रियामा समेत हामी छिमेकी राष्ट्रको दाँजोमा अगाडि हुनेछौं ।’

अमेरिकामा गत नोभेम्बर दोस्रो सातादेखि ५–११ वर्षका बालबालिकाका लागि फाइजर खोप लगाउन थालिएको छ । २०२१ अक्टोबर २९ मै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले उक्त खोपलाई ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउन आपत्कालीन उपयोगको अनुमति दिएको थियो ।

हालसम्म स्वास्थ्य मन्त्रालयले मुलुकको कुल जनसंख्याको ४५.२ प्रतिशत अर्थात् १ करोड ३७ लाख ३४ हजार ३ सय ९० जनालाई पूर्ण मात्रा र ५४.२ प्रतिशत अर्थात् १ करोड ६४ लाख ५८ हजार ४ सय ७५ जनालाई एक मात्रा खोप लगाएको छ ।

यस्तै, २ लाख ८२ हजार ७ सय २ सय ५४ जनालाई अतिरिक्त मात्रा खोप लगाइएको छ । खोप अभियान सुरु भएदेखि हालसम्म जम्मा ३ करोड ४ लाख ७५ हजार ५ सय ८९ मात्रा खोप लगाइएको छ । अनुदान सहयोग र खरिदअन्तर्गत ४ करोड २० लाख ४९ हजार ६ सय ४० मात्रा खोप नेपाल भित्रिएको छ ।

प्रकाशित : माघ १४, २०७८ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?