लालझाडीमा हिँड्दैन हात्तीका हूल- समाचार - कान्तिपुर समाचार

लालझाडीमा हिँड्दैन हात्तीका हूल

हात्तीको परम्परागत जैविकमार्ग मासेर बस्ती विस्तार त भएकै छ, संरक्षणमा लाग्नुपर्नेहरु नै फँडानीमा लागेपछि वन क्षेत्र निरन्तर घट्दो छ
डीआर पन्त, भवानी भट्ट

धनगढी, कञ्चनपुर — कभै हात्ती लालझाडीमा 
कभै हात्ती दाङमा 
बादल फाटी घाम लागिजाऊ बैरागीका आङमा...

सुदूरपश्चिमको यो लोकभाकाले लालझाडीको घना वन र यहाँ विचरण गर्ने हात्तीका हुल हुन्थे भन्ने झल्काउँछ । कञ्चनपुरदेखि बाँकेको चारकोसे हुँदै दाङ जोडिएको यो क्षेत्रमा अहिले नाममात्रको जंगल छ । रानाथारू समुदायले परम्परागत रूपमा जोगाउँदै आएको लालझाडीमा वन मासियो, बस्ती बढ्यो ।

सग्ला रूखहरू वनकर्मी, स्थानीय उपभोक्ता र काठ तस्करका लागि कमाउने सहज माध्यम बनेको छ । ‘औसतमा दैनिक ३० वटा सालका रूख काटिन्छन्,’ लालझाडीका स्थानीय वृद्ध सेवया राना भन्छन्, ‘पुर्खाले जोगाएको यो जंगल हामीले सन्तानका लागि जोगाउन सकेनौं । वनरक्षक नै मास्न अघि सरेपछि लालझाडी कसरी जोगिनु !’दाङदेखि लालझाडीसम्म हात्तीको जैविक मार्ग थियो । एक दशकयता यो क्षेत्र कतै पनि हात्तीका हूल बस्न सहज छैन ।

परम्परागत जैविक मार्ग मासिएर विस्तार भएको बस्तीमा हात्तीका हुल आइपुग्दा बर्सेनि धनजनको क्षति हुने घटना बढेको छ । ‘वन पहिले जस्तो घना रहेन, फेरि हात्ती करिडोर पनि ठाउँ ठाउँमा ब्रेक भएको छ,’ लालझाडी संरक्षित क्षेत्रका सामुदायिक वनहरूको सञ्जाल सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले भने, ‘अहिले साउन, भदौ र पुस, माघमा वर्षको दुई पटक मात्रै हात्ती लालझाडीमा देखिन्छन् ।’ तीन दशकअघिसम्म लालझाडी संरक्षित क्षेत्रकै सिरान चुरे फेदीको सिस्नेमा हात्ती हुलमा धेरै देखिन्थे । वन विनाश बढेयता रैथाने मात्रै होइन आगन्तुक हात्तीका हूल पनि निकै कम आउँछन् ।

आज कस्को पालो हो ? कञ्चनपुरको देखतभूली वन पोस्टका कर्मचारीले बिहानै सामुदायिक वनका पदाधिकारीलाई फोन गरेर सोध्छन् । पदाधिकारीले ‘फलानाको पालो हो, जंगलको फलानो क्षेत्रमा जाने हुन्’ भनेपछि वनकर्मीले आफ्नो सबडिभिजनका अधिकारीलाई पनि जानकारी गराउँछन् । साँझ परेपछि दुई/चार गाडा सालका गोलिया लिएर आउँछन् र गाउँमा छ्याप्छयाप्ती खुलेका फर्निचर उद्योगहरूमा पुर्‍याउँछन् । अर्को दिन हिसाबकिताब हुन्छ ।

बस्तीनजिक लालझाडी वनमा लुकाएर राखिएको काठ ।

मोटो रकम आउने रुख कटानमा स्थानीय वन पोस्ट, उपभोक्ता समितिका पदाधिकारी, डिभिजन वन कार्यालयसम्म कर्मचारीको मिलेमत्तो हुन्छ । जहाँ काठ पठाइने हो त्यसै दिन त्यो ठाउँमा पुग्छ । दुई/दुई दिन बिराएर लालझाडी फँडानी भइरहेको दृश्य यहाँ नौलो छैन । लालझाडीको देखतभूली पोस्टको यो उदाहरण मात्र हो । अधिकांश सामुदायिक वनमा फँडानी गर्न मिलेमत्तो छ ।

सामुदायिक वनका पदाधिकारीमध्ये कसैले विरोध गरे अर्को दिन पदबाटै हटाउने प्रक्रिया सुरु हुन्छ । निर्णय प्रक्रियामा त्यस्ता पदाधिकारीलाई सहभागी नै गराइँदैन । ‘यसरी विरोध गर्ने पदाधिकारी हटाइएका थुप्रै उदाहरण लालझाडी क्षेत्रका सामुदायिक जंगलमा पाउन सकिन्छ,’ देखतभूलीका एक स्थानीयले भने, ‘जसले विरोध गर्‍यो त्यसलाई वन मुद्दा लगाउन पछि पर्दैनन् । त्यसैले समूहका पदाधिकारी विरोधमा मुख खोल्दैनन् ।फडानीमा नमिल्ने पदाधिकारीलाई एक्ल्याउने गरिएको उनले बताए ।

‘सरकारी नीति नियम र संरक्षणको त कुरै छैन, भने आफैंलाई लाज लाग्ने अवस्था छ । भनेर पनि के गर्ने कारबाही गर्ने निकायका अधिकारीकै निगरानीमा फँडानी हुन्छ भने भन्नुको पनि कुनै अर्थ छैन,’ लालझाडी क्षेत्रको एक सामुदायिक वन उपभोक्ता समूहकी सचिव धना जोशीले भनिन् । डिभिजन वन प्रमुखदेखि धेरै ठाउँमा यस क्षेत्रमा हुने अनियमितताका विषयमा कुरा राखे पनि कसैले चासो नै नदिएको उनको गुनासो छ ।

लालझाडीको क्षेत्रफल २९ हजार ६ सय ४१ हेक्टर छ । धेरै ठाउँ वन पातलो छ, भित्र रूखका ठुटै ठुटा छन् । बैलकुन्डी र भेटघाट शिविरलगायत चुरे फेदीको कुमगाडामा ३० हेक्टर बढी वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालयले जनाएको छ । सुकम्बासी, आरक्ष पीडित, मुक्त कमैया, मुक्तहलियालाई सरकारले समयसमय पुनःस्थापित गर्दा लालझाडी अतिक्रमणमा बढी परेको हो । स्थानीय अगुवा सिद्धराज जोशी भन्छन्, ‘अधिकांशसँग कमाइ खाने जमिन छैन । रोजगारी पनि नहुँदा धेरैको गुजाराको माध्यम वन छ ।’

कञ्चनपुरको लालझाडी क्षेत्र सुरु हने मुख्यद्वारमा सञ्चालित एक फर्निचर उद्योग । काठ चिर्ने उद्देश्यले यहाँ यस्ता दर्जनौं उद्योग खोलिएको देख्न सकिन्छ । तस्बिर : कान्तिपुर

लालझाडी मोहना संरक्षित क्षेत्र कञ्चनपुरको चुरेफेदीदेखि भारतको दुधुवा नेसनल पार्क हुँदै पूर्वमा मोहना नदी आसपास र पश्चिममा वनहरा नदीसम्म पर्दछ । पर्सा राष्ट्रिय निकुञ्जदेखि भारतको राजाजी जीम कोर्वेटसम्म जोडेर जैविक मार्ग निर्माण गर्ने उद्देश्यअनुरूप एक दशकअघि लालझाडी मोहना संरक्षित क्षेत्र घोषणा गरिएको हो । ६८ वटा सामुदायिक वन रहेको लालझाडी मोहना करिडोरमा वैधानिक रूपमा दर्ता भएका मात्र ४१ वटा फर्निचर उद्योग र स–मिल छन् । योभन्दा ठूलो संख्यामा दर्ता नभएका पनि रहेको स्थानीयको दाबी छ । ‘नाम मात्र उद्योगको हो,’ सचिव जोशीले भनिन् ‘उद्देश्य चाहिँ के हो ? सबैले बुझेका छन् ।’ वनमा काटेका रूखको प्रमाण मेटाउन मुढामा आगो लगाउने र माटोले पुर्ने गरिएको स्थानीय बताउँछन् ।

संघीय सरकारले यसको संरक्षणका लागि लालझाडी मोहना करिडोर बनाएर काम अघि बढाएको लामो समय भएको छ । लालझाडीलाई कैलालीको मोहना वनक्षेत्र र भारतको दुधुवा नेसनल पार्कसँग जोडेर वन्यजन्तुको आवागमन सहज तुल्याउने योजना कार्यान्वयन हुन सकेको छैन । लालझाडी मोहना करिडोर, दुधुवा नेसनल पार्क, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, वसन्ता वन क्षेत्रसहित चुरेलाई जोडेर दुर्लभ वन्यजन्तुको संरक्षणका लागि दातृ निकायको कार्यक्रम छ ।

संघ र प्रदेश सरकारले मात्र लालझाडी संरक्षणका लागि भन्दै बर्सेनि बजेट खर्च गर्दै आएका छन् । त्यसबाहेक सामुदायिक वनले पनि खर्च गर्छ । चालु वर्ष प्रदेश सरकारले १० लाख छुट्याएको छ । लालझाडी वन परिषद्को निर्णयको आधारमा उक्त रकम खर्च हुने गरेको छ । वन परिषद्ले ५ लाख बिरुवा उत्पादन र ५ लाख वन संरक्षणदेखि तालहरू व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको छ । यसअघिको बजेट पनि बिरुवा उत्पादनदेखि तालिम गोष्ठी र वन संरक्षण आदिमा खर्च गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका रेञ्जर शिवराज अवस्थीले बताए ।

वन्यजन्तु संरक्षणमा काम गरिरहेका दातृ निकायले पनि बर्सेनि यो क्षेत्रमा लगानी गरिरहेको छ । एकातिर संरक्षण अर्कोतिर वन विनाश चलिरहेको छ । वनकर्मी भने फँडानी भइरहेको स्वीकार गर्दैनन् । ‘त्यसरी फँडानी भएको विषयमा हामीलाई कुनै जानकारी छैन,’ लालझाडी सबडिभिजन प्रमुख रेञ्जर करुणाकर जोशी भन्छन्, ‘थारू समुदायमा दाउरा धेरै प्रयोग हुने भएकाले दाउरासम्म लैजाने गरिएको छ ।’ जोशीले डेढ वर्षको अवधिमा वन फँडानी र चोरीसिकारका १३ मुद्दा दर्ता भएका भएर कारबाही भइरहेको बताए ।

प्रकाशित : माघ १३, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

मोरिससविरुद्ध प्रयोगको रणनीतिमा अल्मुताइरी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मोरिससविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा प्रयोगको रणनीति लिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोरिससविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बुधबार नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । त्यसमा अल्मुताइरीले दुई फरक खेलका लागि दुई अलग्गै टिम बनाएका छन् ।

मोरिससविरुद्ध दशरथ रंगशालामा हुने पहिलो खेल शनिबार हुनेछ । दोस्रो खेल मंगलबार हुनेछ । मैत्रीपूर्ण खेललाई लिएर प्रशिक्षक अल्मुताइरीले भनेका छन्, ‘म खेलाडीलाई अन्तर्राष्ट्रिय फुटबलको अनुभव दिन चाहन्छु । यसले भविष्यमा थप बलियो टिम बनाउन मदत गर्नेछ । यस्ता मैत्रीपूर्ण खेलबाट बहुमूल्य अनुभव पनि बटुल्न सकिन्छ । यी दुई खेलमा नतिजाभन्दा पनि प्रदर्शन प्रमुख रहनेछ ।’

प्रशिक्षक अल्मुताइरीका अनुसार जुनमा नेपालले एसिया कप छनोटको तेस्रो चरण खेल्दै छ । त्यसअघि उनी सबै खेलाडीको प्रदर्शन हेर्न चाहन्छन् । उनले बन्द प्रशिक्षणमा रहेका ३४ खेलाडीलाई नै मौका दिने योजनाअनुसार यो दुई फरक टिमको घोषणा गरेको हो । दुवै टिममा परेका खेलाडी भने १२ छन् ।

पहिलो खेलका लागि घोषित टिममा किरण लिम्बु, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनीष डाँगी, अञ्जन विष्ट, आशिष लामा, दर्शक गुरुङ, विमल घर्तीमगर, सुनील बल, नितिन थापा, आकाश बुढामगर, कृतिशरत्न छेन्जु र जगजित श्रेष्ठ छन् ।

दोस्रो खेलका लागि घोषित टिममा किरण लिम्बु, विशाल श्रेष्ठ, शत्रुधन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजज्यू ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अञ्जन विष्ट, आशिष लामा, विमल घर्तीमगर, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ छन् ।

प्रकाशित : माघ १३, २०७८ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×