शिक्षामन्त्री पौडेल परीक्षा नियन्त्रण कार्यालयको अनुगमनमा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षामन्त्री पौडेल परीक्षा नियन्त्रण कार्यालयको अनुगमनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तरगतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् ।

विश्वविद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भइरहेको गुनासो आइरहेका बेला मन्त्री पौडेलले बाँकी रहेका सबै परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

मंगलबार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको अनुगमन गर्न पुगेका उनले विद्यार्थीले चाहेको बेलामा नतिजा प्रकाशित गर्ने व्यवस्था अपनाउन पनि त्यहाँका पदाधिकारीलाई सचेत गराए । मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न आफू तयार रहेको तर जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाइ गर्न नहुने स्पष्ट पारे ।

‘फाष्ट ट्रयाक’को विधि अपनाएर भएपनि परीक्षाको नतिजा प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालयले ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावको कारण परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भएको जवाफ मन्त्री पौडेललाई दिएका थिए । उनले जनशक्तिको अभाव र विश्वविद्यालय अन्तरगतको विद्यार्थीहरुको संख्या बढी भएकाले परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाइ हुन गएको कुरा आफूले मन्त्री पौडेललाई जानकारी गराएको बताए ।

त्रिभुवन विश्वविद्यालयको परीक्षाबारे धेरै गुनासो बाहिर आएपछि आफू अनुगमनमा आएको मन्त्री पौडेलले बताए । उनले सो विश्वविद्यालयको समग्र पुनर्संरचना गरेर अघि बढनुपर्ने योजना सुनाउँदै त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छिट्टै परामर्श गरेर अघि बढने पनि बताए ।

प्रकाशित : माघ ११, २०७८ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्

किशोरीलाई फकाएर भारत लैजान खोज्ने युवक पक्राउ

शंकर आचार्य

पर्सा — अर्घाखाँची जाने भनेर १५ वर्षीया किशोरीलाई फकाएर भारत लैजान खोज्ने एक युवक वीरगन्जस्थित नेपाल-भारत सीमाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला स्थाई घर भई भारतको आसाम घर बताउने २८ वर्षीय राजु अधिकारी छन् ।

उनलाई वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेका माइती नेपालका सीमा पहरेदारहरूले सोमबार साँझ ४ बजेर ४५ मिनेटमा शंका लागेर केरकार गरेपछि ती युवक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार बैतडीको लिस्टी नगरपालिका–२ की १५ वर्षीया बालिका राधा (नाम परिवर्तन) लाई अधिकारीले फकाएर वीरगन्जसम्म ल्याएका थिए । माघ ७ गते घरबाट कपी किनेर आउँछु भनेर निस्केकी राधा त्यसपछि घर फर्किएकी थिइनन् ।

माइती नेपाल आवधिक गृह वीरगन्जकी प्रमुख संगीता पुरीका अनुसार लामो समयदेखि मोबाइलबाट राधाको सम्पर्कमा रहेका राजुले आफ्नो घर अर्घाखाँची रहेको तथा नारायणघाटमा कपडाको पसल रहेको बताउँदै फोनबाटै प्रेमजालमा पार्ने प्रयास गरेका थिए ।

त्यसपछि किशोरी राधा राजुको उच्काहटमा परी घरबाट भागेर बैतडीको छतबाज चौराहा बजारसम्म आइपुगेकी थिइन् । सुरुमा आफ्नो घरमा बस्ने र पछि उमेर भएपछि विवाहसमेत गर्ने प्रलोभन राजुले राधालाई दिएका थिए ।

त्यहाँ राजुले राधालाई पहिलोपल्ट भेटेका थिए । राधा आत्तिएर घर फर्किन खोज्दा राजुले उनलाई कब्जामा लिएर त्यहाँबाट ट्याक्सीमा राखेर बैतडी बजारसम्म ल्याएका थिए । बैतडीमा एक रात होटेलमा बास बस्दा राजुले राधालाई जर्बजस्ती करणी प्रयाससमेत गरेको बुझिएको छ ।

प्रहरीका अनुसार बैतडीबाट आफ्नो घर अर्घाखाँची जाने भन्दै राजुले राधालाई वीरगन्जसम्म ल्याएका थिए । वीरगन्ज हुँदै भारत जान खोज्दा बाटोमा कसैले सोधपुछ गरे ‘आफूहरू नातामा साख्खै दाजु बहिनी रहेको र आफ्नो नाम लक्ष्मी अधिकारी भन्नु’ भनेर राजुले राधालाई सिकाएका थिए । अधिकारीउपर मानव बेचबिखन मुद्दा चलाइएको र आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पेश गरिएको डिएसपी खनालले जानकारी दिए ।

प्रकाशित : माघ ११, २०७८ १४:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×