३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पीसीआर शुल्क महँगो हुँदा बढेन परीक्षण

परिवारका सबैमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिँदासमेत परीक्षण गर्न हच्किन्छन् सर्वसाधारण
लिला श्रेष्ठ

काठमाडौँ — अरुणा (नाम परिवर्तन) को परिवारका पाँचै जनामा कोरोना भाइरससँग मिल्ने लक्षण छ । टाउको दुख्ने, घाँटी दुख्ने, बेलाबेला काम ज्वरो आउने, शरीर दुख्ने समस्याका बिरामी घरभरि हुँदा पनि उनीहरूले पीसीआर वा एन्टिजेन परीक्षण गराएका छैनन् ।

पीसीआर शुल्क महँगो हुँदा बढेन परीक्षण

उनका छिमेकी भक्तपुर सूर्यविनायक नगरपालिका–६ कटुञ्जेका अधिकांश घरमा कोरोनासँगै मिल्दोजुल्दो लक्षण देखिएका बिरामी छन् । ‘अस्पताल भर्ना हुनुपरेको छैन, मेडिकलबाट आफैं औषधि ल्याएर खाइरहेका छौं,’ अरुणाले भनिन्, ‘सिटामोल, भिटामिन ल्याएर सबैले सेवन गरिरहेका छन् ।’

पीसीआर परीक्षण किन नगराएको भन्ने प्रश्नमा उनले ‘दुःख नगर्ने’ बताइन् । परीक्षणमा पोजिटिभ देखिएको खण्डमा आइसोलेसन बस्नुपर्ने र त्यसो गर्न सम्भव नभएकाले पनि परीक्षणका लागि चासो नदेखाएको उनको भनाइ छ । ‘स–साना बच्चा पनि छन्,’ उनले भनिन्, ‘डेरामा आइसोलेसन बस्न सम्भव नहुँदो रैछ ।’

अरुणाकै जस्तो चिन्ता काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० मिलनचोककी सारिका खत्रीलार्ई पनि छ । बेलाबेलामा ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिए पनि अस्पताल जानुपर्ने अवस्थामा कोही नपुगेको उनले सुनाइन् । ‘दुई छोरीसहित हामी आमाबुबा दुवै जनाले खोप लगाइसक्यौं, तीन वर्षीय छोरालाई मात्र खोप आएन,’ उनले भनिन्, ‘अब छोराको मात्र डर छ, ज्वरो त सबैलाई आइरहेको छ, पीसीआर परीक्षण गराएका छैनौं ।’ परीक्षणपछि संक्रमण पुष्टि भयो भने आइसोलेसनमा बस्न कठिन हुने भन्दै उनले परीक्षण गराउन नगएको बताइन् । अघिल्ला लहरहरूमा जस्तो स्थानीय तहहरूले यस पटक आइसोलेसन सेन्टरहरूको व्यवस्था नगरेका कारण पनि परीक्षणमा चासो नदेखाएको खत्रीले बताइन् ।

काठमाडौं महानगर–१७ क्षेत्रपाटीका सूर्य शाही त सर्वसाधारण नागरिकले मात्र होइन, स्थानीय तहहरूले पनि नयाँ भेरिएन्ट ओमिक्रोनलाई साधारण तरिकाले लिएको बताउँछन् । ‘यसअघि स्थानीय तहले आइसोलेसनको व्यवस्था गर्ने, टोलटोलमा पुगेर कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूलाई निःशुल्क पीसीआर परीक्षण गराउने, होम आइसोलेसनमा बसेकालाई जुममार्फत परामर्श गर्ने गरेका थिए,’ शाहीले भने, ‘यसपल्ट स्थानीय तह, जनप्रतिनिधि नै बेखबर छन् ।’ परीक्षण शुल्क महँगो भएकाले पनि सर्वसाधारणले परीक्षणमा चासो नदिएको उनको भनाइ छ ।

स्वास्थ्यमा जटिल समस्या नदेखिएकाले सर्वसाधारणमा लक्षण भए पनि अस्पताल नजाने र पीसीआर परीक्षणमा अटेर गरेको हुन सक्ने स्वास्थ्य कार्यालय भक्तपुर प्रमुख जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजार बताउँछन् । ‘कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामी धेरै देखिनु र परीक्षणलाई बेवास्ता गर्नु राम्रो होइन,’ उनले भने, ‘परीक्षणपछि आइसोलेसनमा बस्यो भने मात्र संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ ।’ ओमिक्रोनलाई साधारण रुघाखोकी जस्तो मात्र नसोचेर सचेत भई परिवार र समाजलाई जोगाउनुपर्ने उनी बताउँछन् ।

जनस्वास्थ्य अधिकृत मिजारले ओमिक्रोनले गम्भीर क्षति असर पुर्‍याएन भन्दैमा ढुक्क हुने अवस्था नभएको र अझै केही समय सचेत हुनैपर्ने बताए । ‘अघिल्लोपल्टको भेरिएन्टहरूमा टोलमा कसैलाई कोरोना संक्रमण पुष्टि भयो रे भन्दा मान्छे कानेखुसी गर्थे, अहिले लक्षण देखिँदा पनि परीक्षण गराउन अटेर गरिरहेका छन्,’ उनले भने । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्ले उपत्यकामा डेरा गरी बस्नेहरूलाई आइसोलेसनमा बस्न समस्या पर्ने भएकाले पनि परीक्षण गर्न अटेर गरिरहेको बताउँछन् ।

खोप लगाएका र रोगसँग लड्ने क्षमता भएका व्यक्तिलाई नयाँ भेरिएन्टले स्वास्थ्यमा खासै असर पुर्‍याएको नदेखिए पनि अन्यमा सर्दा प्रतिरक्षात्मक क्षमता कमजोर भएकाको ज्यानै जान सक्ने स्वास्थ्यकर्मी बताउँछन् । ‘कोरोना भाइरस संक्रमण हो/होइन भन्नेबारे ढुक्क हुन पीसीआर वा एन्टिजेन परीक्षण गराउनैपर्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकी निर्देशक डा. मनीषा रावलले भनिन्, ‘लक्षण देखिएकाहरूले परीक्षण नगराउँदा भाइरस संक्रमण फैलिने जोखिम बढ्छ, परिवार र समाजको भलाइका लागि पनि परीक्षण गराउनु जरुरी हुन्छ ।’ लक्षण देखिनेबित्तिकै परीक्षण गराउने, जनस्वास्थ्य मापदण्ड पालना गर्ने, खानपानमा ध्यान दिने गर्नु नै संक्रमण दर घटाउने उपाय भएको उनले बताइन् ।

प्रकाशित : माघ ११, २०७८ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?