कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निःशुल्क भनिएका औषधि छैनन्

रौतहट, सिन्धुली, कञ्चनपुर — अस्पतालले बिरामीलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न सञ्चालन गरेको फार्मेसीमा सरकारले उपलब्ध गराउने निःशुल्क औषधिसमेत पाइँदैन । रौतहट सदरमुकाम गौरमा रहेको एक मात्र सरकारी अस्पतालको फार्मेसीमा निःशुल्क दिने औषधि नहुँदा बिरामी निजीमा किन्न बाध्य छन् । अस्पताललाई प्रदेश सरकारले पठाएको न्यून बजेटले औषधि खरिद गरे पनि अपुग छ । 

निःशुल्क भनिएका औषधि छैनन्

गौर अस्पतालले ५ वर्षअघि सञ्चालनमा ल्याएको फार्मेसीमा सरकारले निःशुल्क उपलब्ध गराएको ७० प्रकारका औषधिमध्ये १५ प्रकारका पनि छैनन् । औषधि अपुगबारे अस्पतालले प्रदेश सरकारलाई पटकपटक जानकारी गराइसकेको छ । अहिले एन्टिबायोटिक, एलर्जी, ग्यासटिक हटाउने औषधि फार्मेसीमा छैनन् । अस्पताल प्रमुख डा. कृष्ण साहले वर्षमा १ करोडको औषधि खपत हुने अस्पतालमा प्रदेश सरकारले जम्मा १० लाख मात्र बजेट दिएको बताए । ‘हात्तीको मुखमा जिराजस्तै भएको छ । ठूलो जनसख्या भएको अस्पतालमा निःशुल्क औषधिको आस गर्ने बिरामी धेरै हुन्छन्,’ उनले भने, ‘बजेट बढाइदिनुस् भनेकै हो । अहिले पनि कतिपय निःशुल्क औषधि छैनन् ।’

५० शय्याको सरकारी अस्पतालमा सीमाक्षेत्र भारतका बिरामीसमेत आउँछन् । अस्पतालका अनुसार ग्रामीण भेगबाट आउने बिरामी बाहिर औषधि किन्न जानै मान्दैनन् । उनीहरू निःशुल्क औषधि चाहियो भन्दै बाहिरबाट किनेर दिनू भनेर दबाब दिने गरेको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् । अस्पतालका स्टोरकिपर रामश्रेय मुखियाले निःशुल्क औषधि सकिएको बारे प्रदेश सरकारलाई जानकारी गराइसकेको बताए । ‘एक/दुई दिनभित्र प्रदेश सरकारले पठाउने भनेको छ,’ उनले भने, ‘केही महत्त्वपूर्ण औषधि नहुँदा बिरामी मर्कामा पर्छन् ।’

खुट्टामा चोट लागेर अस्पताल पुगेका गौरका सरोज कुर्मीले ग्यास्ट्रिकको औषधिसमेत बाहिर किन्नुपरेको सुनाए । ‘निःशुल्क भनिएको औषधि नै छैन,’ उनले भने, ‘सरकारले औषधि नै दिन सक्दैन भने किन सरकारी फार्मेसी भनेर बिरामीलाई मख्ख पार्नु ?’ नेपाल सरकारले निःशुल्क दिने भनिएको औषधि र औषधिजन्य सामग्रीको सूची सबैले देख्नेगरी राख्नुपर्नेमा अस्पतालले त्यसो गरेको छैन ।

बिमाको भुक्तानी नपाउँदा फार्मेसी रित्तो

बिमा रकम समयमै भुक्तानी नहुँदा सिन्धुली अस्पतालको फार्मेसी रित्तिँदै गएको छ । स्वास्थ्य बिमा गरेका बिरामीका लागि निःशुल्क औषधिको रकम साउनदेखिकै बाँकी रहेको अस्पतालको भनाइ छ । बिमाले मंसिर महिनासम्मको एक करोड ७२ लाख रुपैयाँ जिल्ला अस्पताललाई भुक्तानी गर्न बाँकी छ । बिमाबाट आएको रकमले नै औषधि खरिद गरेर बिरामीलाई निःशुल्क वितरण गर्नुपर्नेमा फार्मेसी नै रित्तो बन्दै गएको अस्पतालका अध्यक्ष प्रल्हादकुमार पोखरेलले गुनासो गरे ।

निःशुल्क स्वास्थ्य बिमा गरेबापत बिरामीका लागि एक हजार २५६ थरीको औषधि फार्मेसीमा राख्नुपर्ने हुन्छ । तर त्यसो हुन सकेको छैन । निःशुल्क वितरणका लागि सरकारले उपलब्ध गराउने ७२ थरीको औषधि पनि फार्मेसीमा छैन । प्रदेश स्वास्थ्य मन्त्रालयमा औषधि लिन जाँदा सिटामोलसमेत नपाएको अध्यक्ष पोखरेलको अनुभव छ । ‘प्रदेशसभा सदस्य लेखनाथ दाहालका साथमा निःशुल्क औषधिका लागि प्रदेश स्वास्थ्य मन्त्रालयमा गएका थियौं,’ उनले भने, ‘त्यहाँबाट सिटामोल पनि पाइएन अरू औषधिको त कुरै छोडौं ।’

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको फार्मेसीमा अहिले दम, खोकीलगायतका औषधि अभाव छ । स्वास्थ्य बिमाबाट प्राप्त हुने अधिकांश औषधि प्रायः अभाव हुने गरेको छ । अस्पतालले स्वास्थ्य बिमाबापतको रकम समयमै भुक्तानी गर्न नसक्दा फार्मेसीमा समयमै औषधि उपलब्ध नहुने गरेको हो । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार अस्पतालमा स्वास्थ्य बिमाबापतको रकम समयमै नआउँदा भुक्तानीमा समस्या भएको हो । ‘अहिले पनि ३०/४० लाख रकम भुक्तानी गर्न बाँकी छ,’ उनले भने, ‘फेरि औषधिको ठेक्का गर्नुपर्ने बेला छ, अब केही खुकुलो पार्ने योजना छ ।’ उनका अनुसार बिमाबापत प्राप्त हुने औषधि स्थानीयस्तरमै पनि खरिद गर्न सकिने गरी प्रक्रियामा केही खुकुलो पार्ने योजना बनाइएको छ ।

महाकाली अस्पतालले वर्षमा २ करोडभन्दा बढीको औषधि खरिद गर्छ । जसमध्ये ६० प्रतिशत स्वास्थ्य बिमामै जाने गरेको छ । यसबाहेक ठेकेदारले पनि औषधि उत्पादक कम्पनीबाट कमिसन प्राप्त हुने औषधि सहजै उपलब्ध गराउने र कमिसन नपाइने औषधि दिन आनाकानी गर्ने गरेका कारण अभाव हुने गरेको हो । सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार वार्षिक रूपमा टेन्डर प्रक्रियाबाट औषधि खरिद हुने गरेको छ । ‘जेठ महिनातिर अस्पताललाई आवश्यक पर्ने औषधिको लिस्ट तयार हुन्छ,’ उनले भने, ‘साउनमा टेन्डर आह्वान गरेर वर्ष दिनका लागि औषधि खरिद हुने गरेको छ ।’ श्रेष्ठका अनुसार बजारमा दिनहुँ नयाँ–नयाँ औषधि आउने गरेको र डाक्टरहरूले पनि नयाँ औषधि प्रिस्क्राइब गर्दा, नयाँ औषधि फार्मेसीमा उपलब्ध नहुने दाबी गरे ।

‘आर्थिक नियमको खरिद प्रक्रियाको परिधिभित्र बाँधिएकाले सुरुमा तयार भएको लिस्टभन्दा नयाँ खालको औषधि किन्न नसकिएको मात्र हो,’ उनले भने । सेती प्रादेशिक अस्पतालको फार्मेसीमा गत वर्ष चार करोडको औषधि खरिद भएको उनले बताए । ‘त्यही बजेटको औषधि बिमा, कोभिड र सामाजिक इकाइलगायतलाई बिक्री–वितरण र निःशुल्क दिने गरिएको हो,’ श्रेष्ठले भने ।

प्रकाशित : माघ ११, २०७८ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?