माओवादी नेता पुन स्वास्थ्योपचारपछि स्वदेश फिर्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादी नेता पुन स्वास्थ्योपचारपछि स्वदेश फिर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार उनलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित माओवादीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।


करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी सोमबार नेता पुन स्वदेश फर्किएका हुन् । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्यसमेत रहेका पुन हिमालयन एयरलाइन्सको कार्गो विमानमार्फत् नेपाल फर्किएको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

नेता पुनको साथमा उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी पनि साथमै छन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ वंशाणुगत जण्डिसको समस्या झेलेका पुनले चीनस्थित सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका थिए ।

सेनजेनमा नेता पुनको ३९ दिन उपचार गरिएको थियो । त्यसअघि उनको थाइल्याण्डको बैंककमा ५९ दिन उपचार गरिएको थियो । थाइल्याण्डमा उपचारपछि उनलाई चीन लगिएको थियो । नेपालमा भने पुनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।

चीनबाट उपचारकै क्रममा नेता पुनले माओवादी केन्द्रको ८ औं महाधिवेशनमा पदाधिकारीमा उठ्ने इच्छा राखेको भन्दै अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारी चयनको प्रक्रिया रोक्ने प्रस्ताव गरेका थिए ।

प्रकाशित : माघ १०, २०७८ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्

रुसले युक्रेनमा हमला गरे परिणाम घातक हुन्छ : बोरिस जोन्सन

कान्तिपुर संवाददाता

काठमाडौँ — बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमाथि रुसले आक्रमण गरे त्यसको परिणाम घातक सिद्ध हुने चेतावनी दिएका छन् ।

युक्रेनस्थित बेलायती दूतावासमा रहेका कर्मचारीलाई फिर्ता बोलाएको विषयमा गरिएको सम्बोधनमा प्रधानमन्त्री जोन्सनले यूक्रेनमाथि हमला गरेमा रूसमाथि बेलायतले आर्थिक नाकाबन्दी गर्ने चेतानी दिएको बीबीसीले उल्लेख गरेको छ ।

सम्बोधनकै क्रममा उनले बेलायतले विभिन्न रक्षात्मक हतियारहरू यूक्रेनमा पठाइरहेको भन्दै यूक्रेनी नागरिकको रक्षाका लागि बेलायत उभिएको बताए ।

‘विभिन्न जासुसीका अनुसार युक्रेन-रूस सीमाक्षेत्रमा रूसी सेनाका ६० समूह छन्‚ जसले युक्रेनको राजधानी किभमा आक्रमण गर्ने योजना बनाइरहेका छन्‚’ प्रधानमन्त्री जोन्सनले भने ।

प्रकाशित : माघ १०, २०७८ २०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×