३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

डिभिजन सडक कार्यालयको लापर्बाहीले गैंडा मर्‍यो : निकुञ्ज

रासस

चितवन — वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको हो ।

डिभिजन सडक कार्यालयको लापर्बाहीले गैंडा मर्‍यो : निकुञ्ज

निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीको खाडलमा परेर आइतबार दुर्लभ एकसिङ्गे गैंडा मरेको थियो । गैंडाको पेटमा नाली निर्माण गर्न प्रयोग गरिएको रड छिरेपछि खाडलबाट बाहिर निस्किन नसकेर मरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वरण्डाभार क्षेत्रमा सडक निर्माण गर्नुपर्दा आवश्यक पर्ने प्रक्रिया पूरा नगरी काम गरिएको छ । हालसालै डिभिजन सडक कार्यालय भरतपुरले रुख काट्नका लागि अनुमति लिन पत्र पठाएको छ । सडकले निर्माण पूर्व नै प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने हुन्छ । ती दुवै काम नगरीकनै सडक विस्तार थालिएको पाइएको छ । यस्तो कार्य गर्दा निकुञ्जसँग अनुमति र राय लिनुपर्ने हुन्छ ।

आचार्यका अनुसार सहमति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट लिनुपर्ने हुन्छ । निकुञ्जको रायअनुसार विभागले सहमति दिएपछि निकुञ्जले अनुमति दिने गर्दछ । यहाँ निर्माण गर्दा भने निकुञ्जलाई कामको जानकारी नदिएको आचार्यले बताए । घटनास्थलको प्रतिवेदन आज पेश भएसँगै अनुसन्धान अधिकृत तोकेर घटनाको अध्ययन सुरु गर्ने उनले जानकारी दिए । उनले भने, “सडकले गर्न नहुने काम गर्यो ।”

वातावरणीय प्रभाव हेरेर काम गरेको भए घटना हुनबाट जोगिने निकुञ्जका अधिकारीको भनाइ छ । डिभिजन वन कार्यालय भरतपुरका प्रमुख बाबुराम सापकोटाले निकुञ्जसँग अनुमति लिने र प्रक्रिया पूरा गरे जस्तो आफूलाई नलागेको बताए । उनले भने, “नालाको क्यूरिन (पानीले भिजाउने काम) बाँकी रहेकाले खाल्डो नपुरिएको हो । त्यति नै बेला गैंडा खसेर घटना भयो ।” छिटो पुर्दा संरचना कमजोर हुने भएकाले खाल्डो नै छोडिएको उनको भनाइ छ ।

प्रकाशित : माघ १०, २०७८ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?