शुक्रराज अस्पतालमा ६० स्वास्थ्यकर्मी संक्रमित, रोकियो खोप कार्यक्रम- समाचार - कान्तिपुर समाचार

शुक्रराज अस्पतालमा ६० स्वास्थ्यकर्मी संक्रमित, रोकियो खोप कार्यक्रम

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा जारी खोप कार्यक्रम स्थगित गरिएको छ । अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।

कोरोनाको पहिलो र दोस्रो लहरमा अस्पतालमा यत्तिका धेरै स्वास्थ्यकर्मी संक्रमित भएका थिएनन् ।

स्वास्थ्यकर्मी संक्रमित भएसँगै अस्पतालको सेवा प्रभावित भए पनि कुनै पनि सेवा नरोकिएको गौतमको भनाइ छ । 'थप स्वास्थ्यकर्मी संक्रमित नहोउन् र सेवा नै स्थगित गर्नुपर्ने अवस्था नआओस् भनेर खोप कार्यक्रम तत्कालका लागि रोकेका हौँ,' उनले भने ।

अस्पतालमा ३०० कर्मचारी कार्यरत छन् । हाल १८ जना कोभिडका बिरामी उपचार गराइरहेकामा ११ जना आइसियूमा रहेका छन् ।

प्रकाशित : माघ १०, २०७८ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय तहको चुनावबारे सरकारको निर्णय कुर्दै आयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले दिएको अन्तिम समयसीमामा पनि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरेपछि अब के हुन्छ ? भन्ने अन्यौल थपिएको छ ।

आयोगले सरकारलाई पुस ३० मा मिति तोक्न एक साताको समय दिएको थियो । माघ पहिलो साता निर्वाचनको मिति तोक्न नसके जेठ ५ अघि स्थानीय तहमा जनप्रतिनिधि पठाउन नसक्ने आयोगले जनाएको छ । आयोगले निर्वाचनको तयारी कम्तीमा १२० दिन चाहिने उल्लेख गर्दै मिति घोषणा गर्न सरकारलाई बारम्बार आग्रह गर्दै आएको छ । माघ पहिलो साता घोषणा भएको भए वैशाख अन्तिममा निर्वाचन गरेर जेठ ६ देखि कार्यभार सुरु गर्न सकिने आयोगको योजना थियो ।

‘योजना अनुसार सरकारले मिति घोषणा नगरेपछि हामी अलमलमा छौ । आयोगलाई निर्वाचन परामर्शको लागि कतैबाट केही प्रस्ताव आएको छैन,’आयोगका प्रवक्ता शालिग्राम शर्माले भने,‘ मौजुदा कानुन अनुसार हामीले काम गर्ने हो । कानुन अनुसार निर्वाचन गर्न हामीले मिति प्रस्ताव गरेका थियौ । त्यो मिति पनि घर्किसक्यो ।’

स्थानीय तह निर्वाचन ऐनको दफा ४ मा सरकारले निर्वाचनको मिति घोषणा गर्नु अघि आयोगसंग परामर्श गर्नु पर्ने व्यवस्था छ । ‘आयोगलाई बोलाएपछि निर्वाचनको मितिका बारेमा छलफल होला । आयोगको तत्काल नयाँ धारणा विकास भएको छैन । आयोग त वेट एन्ड सीमै छ,’शर्माले भने ।

प्रकाशित : माघ १०, २०७८ ११:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×