सरकारले जेठ ५ अगावै निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्छ : सहप्रवक्ता धमला- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले जेठ ५ अगावै निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्छ : सहप्रवक्ता धमला

कान्तिपुर संवाददाता

काठमाडौँ — चुनाव गराएर स्थानीय तहलाई पूर्ण गराउनु पर्ने जिम्मेवारी सरकारको भएको निर्वाचन आयोगले बताएको छ ।  न्यूज एजेन्सी नेपालसँग आइतबार कुराकानी गर्दै सहसचिव एवं सहप्रवक्ता कोमलप्रसाद धमलाले आगामी जेठ ५ गतेअगावै निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने जिम्मा सरकारको रहेको निर्वाचन आयोगले बताएका हुन् ।

स्थानीय तहको निर्वाचनसम्बन्धी ऐनले दफा ३ र दफा ५५ ले तोकेअनुसार जस्तो यो ऐन प्रारम्भ भएपछि सम्पन्न हुने पहिलो निर्वाचनको हकमा निर्वाचन मिति तोकिएको सातौं दिन निर्वाचित भएको सदस्य निर्वाचित भएको मानिने बताए ।

२०७४ जेठ ३० गते निर्वाचन भएको आधारबाट हेर्दा, जेठको ५ गते राति १२ बजेबाट अहिलेको पदावधि सकिने उनले उल्लेख गरे । सहप्रवक्ता धमलाले निर्वाचन भनेको राजनीतिक र कानुनी विषय भएकोले निर्वाचन तयारीका लागि १२० दिन समय रहेकोले सरकारले चाँडै मिति तोकिदिएमा सबै किसिमबाट तयारीमा जुट्न सजिलो हुने बताए ।

स्थानीय तहको पदावधिको समय सकिँदै गएको र त्यसलाई लम्ब्याउने र छोट्याउने प्रावधान कानुनले नदिएकोले संविधानले तोकेको समयावधिमा नै निर्वाचन गराउनुपर्ने उनले बताए ।

प्रकाशित : माघ ९, २०७८ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्

नेकपा(एस) का जिल्ला अध्यक्ष भन्छन्- विषाक्त मह बेच्‍नेसँग पार्टीलाई नजोड

कान्तिपुर संवाददाता

काठमाडौँ — मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने विषाक्त पदार्थ हालेर मह बिक्री गर्ने व्यापारी पक्राउ परेको घटनालाई सत्तारुढ नेकपा एसका सिन्धुपाल्चोक अध्यक्षले राजनीतिक रंग नदिन आग्रह गरेका छन् ।

काठमाडौंको ज्याठा बस्ने नरेश भन्ने नरबहादुर श्रेष्ठले मिसावट गरी गुणस्तरहीन मह बिक्री गरिरहेको अवस्थामा प्रहरीले उनको उद्योगमा छापा हानेर मह बनाउन प्रयोग हुने रसायन तथा गुणस्तरहीन अवस्थाको ७६०० किलो तयारी तथा कच्चा मह बरामद गरेको थियो ।

नेकपा(एस) सिन्धुपाल्चोकका अध्यक्ष नवराज पौडेलले उक्त घटनालाई जोडेर 'दलाल पुँजीवादी समाजमा एकाधिकार पुँजीवादी वर्गले प्रतिस्पर्धात्मक प्रणालीलाई कमजोर पार्न साना व्यवसायीका मनोबल गिराउने हिसाबले गरिने षड्यन्त्र' भनेका छन् ।

पौडेलले आइतबार विज्ञप्ति निकाल्दै श्रेष्ठको फोटोमा आफ्ना पार्टीका नेताहरूको समेत फोटो जोडेर सामाजिक सञ्जालहरुमा हालिएको भन्दै आपत्ति समेत जनाएका छन् ।

अध्यक्ष पौडेलले कुनै पनि व्यवसायमा आबद्ध व्यक्तिको पार्टी रोज्न पाउने नैसर्गिक अधिकार रहेको र व्यक्तिगत व्यवसायिक क्रियाकलापलाई जोडेर कसैले पनि पार्टीको बद्नाम गराउन खोज्नु गलत भएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पौडेलले जारी गरेको विज्ञप्तिमा आफ्नो पार्टी जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने कुनै पनि व्यवहार, प्रचलित कानुन र व्यवसायिक मर्यादा विपरीतका हरेक कार्यप्रति निर्ममतापूर्वक लड्दै आएको र समाजमा सुशासन कायम गराउन दृढ रहेको उल्लेख गरेका छन् । प्रहरीले श्रेष्ठलाई पक्राउ गर्नुअघि खाद्य तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा उनले उत्पादन गर्ने मह परीक्षण गराएको थियो । परीक्षणका क्रममा अखाद्य वस्तु रहेको पुष्टि भएपछि प्रहरीले छापा हानेको थियो ।

मिसावट गरी मह बिक्री गरिरहेका श्रेष्ठले खाद्य तथा गुण नियन्त्रण विभागबाट मह उत्पादन गरेर बिक्रीका लागि अनुमति समेत नलिएको खुलेको छ । प्रहरीले उनको उद्योगबाट बरामद गरेको मह परीक्षण गराउँदा विभागले तोकेको मापदण्ड अनुसारको मह थिएन । त्यहाँ क्यान्सरजन्य रोग लगाउने सक्ने रसायनको मात्रा बढी भेटिएको थियो ।

विभागले चिनीबाट मह बनाउनु गैरकानुनी भनेको छ । शुद्ध मह मौरीले मात्रै बनाउने र चिनीको घोललाई टुक्राएर बनाउने मह मिसावट भएको विभागले जनाएको छ ।

प्रकाशित : माघ ९, २०७८ १५:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×