१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

महाकालीमा फेरि तटबन्ध बनाउँदै भारत

अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर महाकालीको बहाव नेपालतर्फ फर्कने गरी पक्की तटबन्ध बनाउन सुरू
मनोज बडू

दार्चुला — सदरमुकाम खलंगा बजारको पारिपट्टि महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी भारतले पक्की तटबन्ध निर्माण थालेको छ । भारतीय पक्षले खलंगाको पुलघाटदेखि तल्लो क्षेत्रमा करिब दुईदेखि पाँच मिटर नदीतिरको भागमा तटबन्ध निर्माण सुरु गरेको हो । नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध बनाउन थाले पनि भारतले नेपाली प्रशासनसँग समन्वय गरेको छैन ।

महाकालीमा फेरि तटबन्ध बनाउँदै भारत

भारतीय केन्द्रीय जल विभागले माघ ४ बाट आफ्नो भूभागतर्फ पुलघाटदेखि जहरलालसिंह नवियाल स्टेडियमसम्मको एक किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण सुरु गरेको हो । अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाउँदैनन् । नेपाल–भारतबीच यसअघि आफूखुसी तटबन्ध नबनाउने सहमति भइसकेको छ । अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर भारतले महाकालीको बहाव नेपालतर्फ फर्कने गरी तटबन्ध बनाइरहेको हो । तटबन्ध निर्माण गर्दा भारतीय पक्षले समन्वय नगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भारतले तटबन्ध निर्माण सुरु गरेपछि मात्रै संरचनाबारे सोधपुछ गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार मौखिक रूपमा जानकारी माग्दा भारतीय पक्षले पुरानो तटबन्ध भत्काएर नेपालतर्फको जस्तै तटबन्ध बनाउन लागेको जनाएको थियो । ‘नदीको पुरानो बहाव परिवर्तन नहुने गरी तटबन्ध बनाउन हामीले भारतलाई रोक्न सक्दैनौं,’ प्रजिअ उपाध्यायले भने, ‘बहाव परिवर्तन हुने गरी संरचना बनाए त्यसको प्रतिवाद गर्न सकिन्छ ।’

महाकाली किनारमा भारतले पक्की तटबन्ध बनाउन थालेको बारे शुक्रबार गृह मन्त्रालयलाई पत्राचार गरिएको प्रशासनले जनाएको छ । उक्त क्षेत्रमा २०७० सालमा महाकालीमा आएको भीषण बाढीअघि नै भारतले नदीको धार परिवर्तन हुने गरी तटबन्ध बनाएको थियो । यसपालि बहाव धकेलिने गरी नदीको भूभाग मिचेर पक्की तटबन्ध बनाउन थालेको स्थानीयले बताएका छन् । अहिले भारतीय पक्षले पुलघाटदेखि स्टेडियमसम्मको भूभागमा तटबन्ध निर्माणका लागि ढुंगामाटो पन्छाइसकेको छ । पुलघाटनजिकको क्षेत्रमा करिब ४०/५० मिटरमा जग खन्न पनि सुरु गरेको छ ।

गत पुस १३, १४ तिर नदी किनारमा नापजाँच गरेको भारतले माघको सुरुवातबाटै तटबन्धको काम थालेको पुलघाटका स्थानीय राजेन्द्र बडालले बताए । हिउँदमा जलस्तर घटेका बेला नेपालतिर धार फर्काएर तटबन्ध निर्माण भइरहेको छ । ‘यसअघि नै यो क्षेत्रमा नदीको बहाव नेपाल फर्काउने संरचना बनेकै छ,’ बडालले भने, ‘वर्षात्मा नदीमा पानी भएको बेलामा हाम्रोतिरको तटबन्धलाई हिट गर्छ, त्यसमाथि नदी किनारमा दुई/तीन दिनयता संरचना बनाइरहेको छ ।’

उनका अनुसार नदीलाई बग्न ठूलो ठाउँ चाहिन्छ, तटबन्ध बनाउनु छ भने कुनातिर बनाउनुपर्ने हो । अहिले यही ठाउँमा बनायो भने वर्षात्मा नेपालतिर कटानको जोखिम बढ्छ । यसले वर्षात्को समयमा नेपालको तटबन्धमाथि पानी बग्ने खतरा बढेको उनको भनाइ छ । ‘पुलघाटनजिक भारतले पहिले नै तटबन्ध बनाएको हुँदा २०७० को बाढीले हाम्रोतिर बढी क्षति गरेको थियो, आफ्नो संरचना जोगाउन तटबन्ध बनाउनु स्वाभाविक हो तर नदी पारिपट्टिको संरचनालाई असर पर्ने गरी भइरहेको काम रोक्नुपर्छ,’ महाकाली नगरपालिका–५ का स्थानीय एवं महाकाली नदी नियन्त्रण आयोजनाका पूर्वप्रमुख इन्जिनियर महेन्द्रप्रसाद बडूले भने । उनका अनुसार बाढीलगत्तै भारतले नाकाको झोलुंगे पुलमुनि बनाएको संरचनाले वर्षात्मा नदीको बहावलाई नेपालतर्फ फर्काएको छ ।

अब उक्त क्षेत्रमा त्यस्तै संरचना बने पुलदेखि टिंकर हुँदै डुमपानीसम्मको नेपालतर्फको तटबन्धमा जोखिम बढ्ने उनको भनाइ छ । झोलुंगे पुलमुनिको चौखट (स्टर्ड) भारतले चनाखो ढंगले बनाएको उनले बताए । ‘सुरुमा तरकारी बिक्रीका लागि संरचना बनाउने भन्यो, स्परजस्तै बनाएपछि सबै भागमा जोडेरमाथि कंक्रिट गरेर स्टर्ड बनाएको हो,’ उनले भने, ‘पानीको बहावबाट नदी किनारमा बनेका संरचना बचाउन स्परले काम गर्छ । नदीछेउको बहावलाई उता फर्काउन स्टर्ड बनाइने गर्छ ।’

महाकाली किनारमा तटबन्ध निर्माण सुरु हुँदाको अवस्थामा इन्जिनियर बडू दार्चुलामा कार्यरत थिए । ‘विगतदेखि नै सीमा नदीमा यस्ता संरचना निर्माण गर्दै आएको छ,’ उनले भने, ‘फाउन्डेसनमा लम्बाइ/चौडाइ खनेको हेर्दा पुलमुनिकै जस्तै स्टर्ड बनाउने योजनाअनुसार संरचना निर्माणमा जुटेको देखिन्छ । भारतले त्यहाँदेखि स्टेडियमसम्म स्टर्ड बनाए हाम्रोतिरको पक्की तटबन्धमा प्रत्यक्ष रूपमा नोक्सानी हुन्छ ।’

नेपालतिर तटबन्ध जोगाउन साना स्पर बनाएकाले आफ्नोतिरको संरचना जोगाउन स्पर बनाउनु उचित भए पनि ठूला खाले स्टर्ड बनाउन खोजे काम रोक्नुपर्ने बडूले बताए । नेपालतर्फ महाकाली किनारको धेरै भाग छोडेर संरचना निर्माण भएका छन् । भारतले पनि सोहीअनुसार संरचना निर्माण गर्नुपर्ने उनले बताए । त्यतिबेला दुई देशको सर्भे टोलीले निर्धारण गरेको बिन्दुलाई आधार मानेर दुवै क्षेत्रका अधिकारीको समन्वयमा सीमामा संरचना निर्माण गर्ने सहमति भएको थियो । महाकालीको तलदेखि माथिसम्म नेपाल–भारतको सीमा बिन्दु कायम गरिएका छन् । अहिले नदीले धार परिवर्तन गरेको भए पनि सीमा सर्भे टोलीले बिन्दु किटान गरिसकेकाले त्यही आधारमा संरचना बनाउनुपर्ने इन्जिनियर बडूको भनाइ छ ।

२०७७ पुसमा पनि भारतले एकतर्फी रूपमा सदरमुकाम खलंगास्थित जिल्ला अस्पतालको पारिपट्टि बाढीले धार परिवर्तन गरेको नदी क्षेत्र मिचेर करिब १२० मिटर बाँध बनाएको थियो । त्यतिबेला काम रोकेर दुवै देशबीच यसअघि भएको सहमतिअनुसार तटबन्ध निर्माण गर्न अनुरोध गर्दा भारतले अटेर गरेको थियो । बाढीले नदीको धार परिवर्तन गर्दा नेपालतर्फको भूभाग नदीपारि परेको थियो, त्यसैमा भारतीय पक्षले आफूखुसी तटबन्ध बनाएको थियो । त्यतिबेला बाढीपछि नेपालले नदी किनारमा तटबन्ध निर्माण गर्दा भारतीय प्रशासनले अवरोध गरेको थियो, भारतीय पक्षले पत्राचार गरेपछि दुवै देशले नदी किनारको केही भाग छोडेर मात्रै तटबन्ध निर्माण गर्न सहमति गरेका थिए । भारतले भने नदीको बहावमै असर पर्ने गरी अनधिकृत रूपमा तटबन्ध बनाउन लागेको स्थानीय बताउँछन् ।

गत वर्ष भौराबगर पारिपट्टि भारतले बाँध निर्माण गरेको भूभाग बाढीपूर्व महाकालीवारिको बगर क्षेत्र रहेको स्थानीय बताउँछन् । अहिले तटबन्ध निर्माण भइरहेको स्थल पनि नेपालको सार्वजनिक जमिन थियो । केही पर साविकको जिल्ला वन र भूसंरक्षण कार्यालयको भूभाग रहेको स्थानीयको भनाइ छ ।

प्रकाशित : माघ ९, २०७८ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?