सोमबारसम्म मौसम बदली हुने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोमबारसम्म मौसम बदली हुने

रासस

काठमाडौँ — आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ ।

फाइल तस्बिर

उक्त प्रणालीको प्रभावले देशको सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्विनी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । विभागले चेतावनी तथा परामर्श जारी गदै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश नं एकका एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेको जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।


प्रकाशित : माघ ८, २०७८ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल आर्मीले उचाल्यो महिला हक्कीको उपाधि

शंकर आचार्य

पर्सा — सुदूरपश्चिमलाई पराजित गर्दै नेपाल आर्मीको टिमले वीरगन्जमा सञ्चालित चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि उचालेको छ ।

शनिबार वीरगन्जस्थित आदर्शनगर रंगशालामा सम्पन्न फाइनल खेल पूर्व अनुमान बिपरीत अत्यन्त प्रतिस्पर्धात्मक हुन पुग्यो । बलियो मानिएको नेपाल आर्मी टिमलाई मध्यान्तर अघिसम्म सुदूरपश्चिमले कडा टक्कर दियो ।

मध्यान्तर पछि सुदूरपश्चिमका खेलाडी केही थकित देखिए भने नेपाल आर्मीका खेलाडी आक्रामक बन्दै गए । खेलको ५२ औं मिनेटमा आर्मीकी जर्सी नम्बर ३० की खेलाडी सरस्वती तामाङले गोल गरिन् ।

सोही गोल नै आर्मीलाई उपाधि जिताउन उपयोगी साबित भयो । सुदूरपश्चिमले पनि केही राम्रा प्रहार गरे पनि त्यो सफल भने हुन सकेन । ‘उमन अफ द म्याच’ नेपाल आर्मीकी सीतामाया बल भइन् ।

शनिबार बिहान प्रतियोगिताको तेश्रो स्थानका लागि खेलिएको खेलमा गण्डकी प्रदेशले मधेस प्रदेश टिमलाई २–१ ले पराजित गरेको हो । खेल अवधिभर दुवै टिमले १–१ गोल गरेर खेल बराबरी भएपछि निर्णायकले पेनाल्टी सुटआउटबाट नतिजा निकालेका थिए । जसमा गण्डकीले २ र मधेसले १ गोल गरेको थियो ।

विजेता, उपविजेता तथा तेश्रो टिमलाई क्रमशः ५० हजार, ३५ हजार र १५ हजार नगदसहित शिल्ड बितरण गरिएको थियो । प्रमुख अतिथि संविधानसभा सदस्य अनिल रुङटा, पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, नेपाल हक्की संघका उपाध्यक्षद्वय अनिल शर्मा र मनिष झा लगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी नेपाल आर्मीकी अन्जना चन्द ठकुरी घोषित भइन् । इमर्जिङ खेलाडी सुदूरपश्चिमकी सबिना पुन राना, गण्डकी प्रदेशकी समीक्षा पुन उत्कृष्ट गोलकिपर र नेपाल आर्मीकी कमल चन्द सर्वाधिक गोलकर्ता भइन् । बेष्ट डिफेन्डर सुदूरपश्चिमकी सन्जु चौधरी भइन् ।

प्रकाशित : माघ ८, २०७८ १९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×