क्यान्सरजन्य तत्व मिसिएको मह बजारमा छ्याप्छ्याप्ती- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यान्सरजन्य तत्व मिसिएको मह बजारमा छ्याप्छ्याप्ती

कसरी थाहा पाउने शुद्ध मह ?
गोविन्द पोखरेल

काठमाडौँ — गत बिहीबार महानगरीय अपराध महाशाखाले काठमाडौंको ज्याठा बस्ने नरेश भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गर्‍यो । मिसावट गरी गुणस्तरहीन मह बनाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले मह बनाउन प्रयोग गरिने मेसिन, केमिकलहरु र गुणस्तरहिन अवस्थाको ७६०० किलो तयारी तथा कच्चा मह समेत बरामद गर्‍यो ।

बिहीबार काठमाडौं-२७ ज्याठामा अखाद्य मह उत्पादन गर्ने उद्योगमा छापा हान्दा बरामद गरिएको मह बनाउन प्रयोग गरिएको तरल पदार्थ र मेसिन ।

श्रेष्ठले आफ्नी श्रीमति रस्मिलाको नामको प्याकेजिङ कम्पनी दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसेर मह बिक्री वितरण गर्दै आएका थिए । महहरु उनले उपत्यकाबाहेक पोखरका होटेल तथा रेस्टुरेन्टहरुमा थोक तथा खुद्रा बिक्री वितरण गर्दै आएका थिए ।

उद्योगमा छापा हान्नु अघि प्रहरीले त्यहाँबाट उत्पादित मह परीक्षण गराएको थियो । परीक्षणका क्रममा अखाद्य भएको पुष्टि भएको थियो ।

अपराध महाशाखा प्रवक्ता एवं एसपी कृष्णप्रसाद कोइरालाले पक्राउ परेका श्रेष्ठलाई कालोबजारी ऐन अन्तर्गत मुद्दा दर्ता गराउ महानगरीय प्रहरी परिसर टेकुलाई सिफारिस गरिएको जानकारी दिए । उनले भने,‘ नक्कली मह बन्दै छ भन्ने हामीलाई १५ दिन अघि सूचना आएको थियो । सूचना पछ्याउदै जाँदा उक्त ठाउ भेट्यौं । अनि परीक्षणका लागि गुणस्तर विभागमा पठायौं । सरकारको मापदण्ड अनुसार छैन भन्ने पुष्टि भएपछि निर्माण गर्ने ठाउँमा पुगेर नियन्त्रणमा लियौं ।’

पक्राउ परेका श्रेष्ठले काठमाडौंमा यस्तो नक्कली मह उत्पादन गरे झन्डै दुईदर्जन कारखाना रहेका प्रहरी समक्ष बताएका छन् । आफू पक्राउ परेपछि उनले ५/६ सय रुपैंयामा शुद्ध मह बेच्न नसकिने प्रहरीकै अघि भनेका थिए ।

के हो मह, शुद्ध महमा के हुनुपर्छ ?

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महलाई ‘मौरीद्वारा फूल वा रुखको बिरुवाको कुनै भागमा भएको रस जम्मा पारी मौरीद्वारा नै घारमा विशेष प्रकारले तयार पारेको गुलियो र बाक्लो तरल खाद्य पदार्थ’ भनेको छ । कुनै बाह् खाद्य र अखाद्य पदार्थ रहित शुद्ध र स्वच्छ हुनुपर्छ भनेको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जन भन्छन्, ‘महलाई उद्योगमा उत्पादन गर्नै सकिँदैन तर प्रशोधन गर्न सकिन्छ । मौरीले मात्रै मह बनाउने भएकाले निजी उद्योगहरुमा निर्माण मात्रै बनाउँछ । ’ उनका अनुसार चिनी मिसाएर उद्योगमा मह उत्पादन गर्नु गैरकानुनी हो ।

सरकारले तोकेको शुद्ध महमा हुनुपर्ने गुणस्तरकाे परिधि ।

विभागले शुद्ध महको गुणस्तरका लागि विभिन्न मापदण्ड तोकेको छ । जस अनुसार शुद्ध महमा जलांश २३ प्रतिशतभन्दा नबढेको,भष्म ०.५ प्रतिशतभन्दा नबढेको, सुक्रोसको मात्रा शुद्ध फूरसको महमा ५ प्रतिशतभन्दा नबढेको,अन्यमा १० प्रतिशतभन्दा नबढेको हुनुपर्नेछ । यस्तै,शुट फूरसको महमा रेड्युसिंग सुगरको मात्रा ६५ प्रतिशतमा नघटेको र अन्य महमा ६० प्रतिशतमा नघटेको हुनुपर्छ । विभागले तोकेको मापदण्डमा फ्रुक्टोज र ग्लुकोजको अनुपात(एफ/जी रेसियो) ०.९५ नघटेको हुनुपर्ने र अम्लता ०.२ प्रतिशत नबढेको हुनुपर्ने उल्लेख छ । शुद्ध महमा पानीमा नघुल्ने ठोस पदार्थ ०.५ प्रतिशतमा नबढेको हुनुपर्ने छ भने हाइड्रोक्सीमिथाइल फफुरल(एच-एम-एफ) प्रति किलोग्राम महमा ४० मिलिग्रामभन्दा बढी नबढेको हुनुपर्ने उल्लेख छ ।

प्रहरीले श्रेष्ठको उद्योगबाट बरामद गरेको महमा एचएमएफ र एफ/जी रेसियोको मान सरकारले तोकेको भन्दा फरक पाइएको थियो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायनशास्त्र विभागका सह–प्राध्यापक डा अच्युत अधिकारीका अनुसार एचएमएफ अम्ल मिसिएको चिनी तताउँदा निस्कने पदार्थ हो । उनका अनुसार यो पदार्थ क्यान्सरजन्य पदार्थ हो । स्वास्थ्यका लागि हानी हुने र क्यान्सरजन्य रोगहरु यसले लगाउन सक्ने विज्ञहरु बताउँछन् ।

कसरी बनिन्छ अशुद्ध मह ?

मह मौरीले मात्रै बनाउन सक्छ । तर बजारमा छ्यापछ्याप्ती अखाद्य मह खुलेआम बिक्री वितरण भइरहेका छन् । ती महहरु स्वास्थ्यका लागि हानीकारक छन् । प्रयोग गर्दा गुणस्तर हेरेर मात्रै प्रयोग गर्न विभागका प्रवक्ता महर्जनले आग्रह गरे ।

केन्द्रीय खाद्य प्रविधि क्याम्पस धरानका पूर्व क्याम्पस प्रमुख प्राडा धनबहादुर कार्कीका अनुसार कालोबजारी गर्नेहरुले चिनीबाट मह बनाउने गर्छन् । हेर्दा मह जस्तै देखिएपनि त्यस्ता पदार्थहरु शुद्ध मह नभएको उनी बताउँछन् । चिनीको एक भाग ग्लुकोज र अर्को भाग फ्रुक्टोज मिलेर बनिएको हुन्छ । शुद्धमा महमा फ्रुक्टोजको मात्रा धेरै हुन्छ भने अशुद्ध महमा सुक्रोजको मात्रा धेरै हुने प्राडा कार्की बताउँछन् । ‘फ्रुक्टोज फलमा पाइन्छ । शुद्ध महमा त्यही भएर फ्रुक्टोजको मात्रा बढी हुन्छ ।’

अखाद्य मह बनाउने उद्योगमा प्रहरीले बरामद गरेको तरल पदार्थ ।

बजारमा पाइने चिनीलाई व्यवासयीले घोल बनाउँछन् । चिनीको घोलमा साइट्रिक एसिड बनाएर हालेपछि उक्त घोल मह जस्तै बाक्लो भएर आउने प्राडा कार्की बताउँछन् । उक्त घोलमा विशुद्ध शुक्रोज मात्रै हुने उनले सुनाए । अन्य अम्ल हालेपछि उक्त पदार्थ विच्छेदन भएपछि मह जस्तै च्यापच्याप हुने कार्कीले बताए । ‘चिनीको घोलमा एसिड हालेपछि सुक्रोज टुक्रिएर फ्रुक्टोज र ग्लुगोज हुन्छ । उक्त पदार्थ महजस्तै च्यापच्याप हुन्छ । खाँदा पनि मह जस्तै लाग्छ तर उपभोक्ताहरु सेवा गर्दा ठगिएको थाहा पाउदैनन् । ’

शुद्ध र अशुद्ध मह भनेर कसरी चिन्ने ?

हामीले सेवन गर्ने खाद्य पादर्थको गुणस्तरबारे सबैभन्दा पहिला थाहा पाउनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएको हो कि हैन भनेर थाहा पाउनुपर्छ । विभागबाट उत्पादन अनुमति लिएका उद्योगहरुले अनुमति पत्र पाएका छन् । विभागबाट अनुमति लिएका उद्योगहरुले आफ्नो उत्पादनमा ‘डीएफटीओसी नम्बर’ अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था रहेको प्रवक्ता महर्जनले बताए ।

अनुमति लिएका उद्योगहरुले उत्पादन गर्ने खाद्य वस्तुको विभागले समय समयमा अनुगमन गरिरहन्छ । अनुमति नलिई उत्पादन भएका पदार्थबारे विभागलाई जानकारी गराएपछि तुरुन्तै अनुगमन गरेर कारबाही गर्ने प्रवक्ता महर्जनले जानकारी दिए । ‘लाइसेन्स नलिईकन कसैले खाद्य सामग्री बेच्छ भने त्यो गैरकानुनी हो । लेबलमा लाइसेन्स नम्बर छैन र शंका लागेको छ भने हामी सम्पर्क गरे तत्कालै निरीक्षण/अनुगमन गर्छौं,’ महर्जनले भने । विभागका देशभरमा रहेका ४३ वटा डिभिजन र जिल्ला कार्यालयहरु छन् । यी कार्यालयहरुबाट खाद्य वस्तुको अनुगमन दैनिक हुने गरेको उनले बताए ।

शुद्ध/अशुद्ध मह छुट्टयाउने विधि दुई किसिमका छन् । एउटा प्रयोगशालामा परीक्षण र अर्को उपभोक्ता आफैंले । यसको पहिलो परीक्षण पानीबाट गर्न सकिने प्राडा कार्की बताउँछन् । एउटा सिसाको ग्लासमा तीन चौथाई पानी राखेर एक चम्चा मह हाल्ने र त्यो कसरी झर्छ भनेर हेर्ने । प्राडा कार्की भन्छन्,‘ शुद्ध मह छ भने पानीमा नघोलिकन पोको परेर तल झर्छ । चिनी हालेको मह छ भने मह पानी भएर जान्छ । अशुद्ध मह पिँधमा पुग्दा पुग्दै घोलिएर आधा हुन्छ ।’ उनका अनुसार एउटा बिर्को भएको सिसाको बट्टामा मह हालेर उल्टो पारिदिने र मह कसरी झर्छ त्यसलाई हेर्ने । शुद्ध मह बट्टाको वरिपरि सबै तिरबाटै विस्तारै धागो जस्तो भएर झर्ने उनी बताउँछन् । ‘शुद्ध छ भने तेलको धारा जसरी त्यान्द्रो भएर झर्छ । अशुद्ध मह उल्टो पार्ने बित्तिकै एकैपटक खर्लप्पै पिँधमा झर्छ । मिसावट छ भने उल्टो पारेको केही क्षणमा तल बस्छ । ’


यस्तै,अर्को विधिबाट पनि महको शुद्धता हेर्न सकिने उनी बताउँछन् । पानीमा मह मिसाएर त्यसलाई मज्जाले हल्लाउने र त्यसको फिँज हेर्ने । शुद्ध महमा मसिना फिँज देखिन्छन् भने अशुद्ध महमा ठूला पानीका फिँज देखिने उनी बताउँछन् ।

गुलियोपना हेरेर पनि महको गुणस्तर थाहा पाउन सकिने विज्ञहरु बताउँछन् । शुद्ध महको गुलियोपना खाने बित्तिकै केही समयमा नै हराउँछ भने मिसावट भएको मह केहीबेरसम्म मुखमा गोलियोपना थाहा हुन्छ ।

अर्को विधि भनेको फ्लेम टेस्ट । अर्थात् रुवाबाट बनेको धागोमा परीक्षण गर्न खोजिएको मह दल्ने । शुद्ध महमा धागो राम्रोसँग बल्छ भने मिसावट महमा एकैछिन बलेर निभिहाल्ने विज्ञहरु बताउँछन् । सबैभन्दा उत्तम विकल्प भने ल्याब परीक्षण नै भएको कार्कीले बताए ।

प्रकाशित : माघ ८, २०७८ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्

फिल्म क्षेत्रमा फेरि महामारीको धक्का : निर्माता संघ भन्छ, 'सरकारले डेढ अर्ब लगानी बचाइदिनु पर्‍यो'

रीना मोक्तान

काठमाडौँ — झन्डै २ वर्षपछि फिल्म क्षेत्र विस्तारै पुरानै अवस्थामा चलायमान बन्दै थियो । हलमा दर्शकको भीड जम्मा हुन थालेको थियो । नयाँ फिल्मको घोषणासँगै धमाधम छायांकन सुरु भयो । महामारीले प्रदर्शन स्थगन गरेर बसेका अधिकांश फिल्महरूले प्रदर्शनको जोखिम मोल्न सुरु गरेका थिए ।

धेरैले प्रदर्शनको नयाँ मितिसमेत तोके । हलमा बलिउड र हलिउडमात्रै नभएर नेपाली फिल्म 'कठपुतली : द पपेट'ले समेत हाउसफुल दर्शक पाइरहेको थियो । तर चलमलाउन थालेको यो क्षेत्रलाई महामारीले फेरि धक्का लगाएको छ ।

हलमा लागेको तेस्रो दिनमै 'चपलीहाइट ३'का निर्माण टिमले फिल्मको प्रदर्शन नै स्थगन गर्नुपर्‍यो । सरकारले ओमिक्रोनको संख्या बढ्दै गएपछि रात्रिकालीन व्यवसायसँगै हल बन्द गर्ने निर्णय गरेपछि 'चपलीहाइट ३'का निर्माताले फिल्म स्थगन गर्न बाध्य भए । फिल्मका निर्माता अर्जुन कुमार प्रदर्शन हुँदा हुँदै फिल्म स्थगन गर्नुपर्दा तनावमा छन् ।

'वर्डअफ माउथ पनि राम्रो भइरहेको थियो । दर्शक विस्तारै हलमा आउला भन्ने थियो । माउथ पब्लिसिटीले फिल्म चलेका धेरै घट्ना छन् । तर नेपाल सरकारले अचानक हल बन्द गर्ने निर्णय गरिदियो । अगाडि नै सजग गराएको भए हामीले हलमा फिल्म चलाउँथेनौं । तीन दिन चलिसकेको फिल्मको घाटा सरकारले व्यहोर्न सक्दैन होला तर म क्षतिपूर्तिको माग गर्छु,'कुमार सुनाउँछन् ।

महामारीकै कारण २ वर्ष अघिदेखि फिल्मको प्रदर्शन स्थगन गरेर बसेको 'चपलीहाइट ३'ले महामारीबीच नै प्रदर्शन आँट्ने जोखिम मोलेको थियो । राम्रो मिति पाउने आसमा धेरैपटक फिल्मको प्रदर्शन सारियो । निर्माण टिमले पुस ३० लाई फिल्म प्रदर्शनको अन्तिम मिति तोके । तर हलमा फिल्म प्रदर्शन गर्न नपाउँदै हटाउनुपर्दा यो फिल्म प्रतक्ष मारमा पर्‍यो ।

'निर्माताको हकमा मैले धेरै घाटा व्यहोरेको छु । बैंकको ब्याजको हिसाब गर्दा ७२ लाख घाटा भइसक्यो । म त रुनु र हास्नुको अवस्थामा छु, 'निर्माता कुमारले आफ्नो दु:ख पोखे,'अब फेरि हल कहिले खुल्ने हो । हल खुलिसकेपछि फिल्मलाई चलाउन फेरि ७/८ लाख त प्रचारमै खर्च लाग्छ ।'

आफ्नो फिल्मलाई दर्शकमा देखाउन नपाउनुको पीडामा छन् निर्देशक निकेश खड्का पनि । 'हलमा लागिसकेको हाम्रो फिल्मलाई प्रदर्शन हुन दिनुपर्थ्यो । हल बन्द नै नगरेको भए हुन्थ्यो भन्ने लाग्छ । खोप कार्ड देखाएर हल चलाउन सकिन्थ्यो,'खड्काले भने,' हामीले यो फिल्मलाई धेरै मितिमा सारिरह्यौं । फिल्मले राम्रो मिति पाओस्, सो पनि धेरै पाओस् भन्ने सोचेरै फिल्म सार्‍यौं । राम्रो मिति छान्ने सोच्दा-सोच्दै गलतै मिति पर्‍यो ।' उनी हल खुलिसकेपछि पनि राम्रो सो पाउला/नपाउला भन्ने पीरमा छन् ।

हल बन्द हुँदा 'चपलीहाइट ३'भन्दा अगाडि प्रदर्शनमा आएको 'कठपुतली'लाई पनि प्रभाव पर्‍यो । प्रदर्शनरत फिल्म 'कठपुतली'ले चौथो हप्तामा पनि ७० प्रतिशत दर्शक पाइरहेको थियो ।

तर हल बन्द हुँदा फिल्मको प्रदर्शन समय छोटियो । यसले निर्मातालाई असर पारेको फिल्मकी पटकथाकार सम्पदा मल्ल बताउँछिन् । 'तेस्रो हप्तासम्म पनि ७० प्रतिशत अकुपेन्सी थियो । नेपाली फिल्म चल्छ र भन्ने प्रश्न उठिरहँदा हाम्रो फिल्म चलिदियो । दर्शक नआएको भए फिल्म चल्दैनथ्यो । हिन्दी फिल्म नआउँदा हामीले धेरै सो पायौं । हल बन्द नभएको भए चौथो हप्तामा पनि फिल्म लाग्थ्यो । तर त्यसको सिधासिधा असर निर्मातालाई पर्‍यो,'उनले भनिन् ।

दुई वर्षअघि कोभिडले यसरी नै हलमा दीपेन्द्र के खनाल निर्देशित फिल्म 'आमा'को प्रदर्शनलाई पनि असर पारेको थियो । हलमा फिल्म चौथो हप्तामा चलिरहेको थियो । विदेश प्रदर्शनका लागि फिल्मको डिमाण्ड पनि बढ्दै थियो । अझै केही हप्ता फिल्म चल्ने देखिन्थ्यो । तर कोरोना महामारीका कारण हल बन्द भएपछि फिल्म लामो समय हलमा प्रदर्शन हुन पाएन । डायस्पोराबाट आम्दानीको आकलन गरेको एक करोड रकम निर्माताको हातबाट फुत्कियो ।'फिल्मले राम्रै फाइदा उठाउने देखिएको थियो । तर लगानी उठाएर फिल्मले मात्र ३०/३५ लाखको फाइदा उठायो । विदेशबाट राम्रै पैसा आउने देखिएको थियो । विदेश रिलिजबाट एक करोड उठ्ने पक्कापक्की थियो । अमेरिका र अस्ट्रेलियामा प्रदर्शन भइसकेपछि अन्य देशहरूमा फिल्म चल्न पाएन । आइसकेको पैसा हातबाट फुत्कियो,'निर्देशक खनाल दुखेसो पोख्छन् ।

त्यतिखेर महामारीको प्रत्यक्ष मारमा परेको अर्को फिल्म थियो - 'म यस्तो गीत गाउँछु २' । प्रचारप्रसारको काम सबै सकिएपछि पनि यो फिल्म प्रदर्शनमा आउन पाएन । फिल्म प्रदर्शनको तीन दिन बाँकी हुँदा महामारीले हल बन्द गरायो । त्यसयता महामारीको प्रत्यक्ष असरमा परेको यो फिल्म अझै प्रदर्शन हुन सकेको छैन । 'फिल्मको प्रदर्शन रोकिँदा पौने तीन करोड रुपैयाँ फ्रिज अवस्थामा छ । कोरोनाले सुरुमै असर पार्‍यो मेरो फिल्मलाई,' निर्देशक सुदर्शन सुनाउँछन् ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी छायांकनमा अड्किएका, पोस्ट प्रोडक्सन र प्रदर्शन पर्खिरहेका लगभग ८२ फिल्मको १ अर्ब ५५ करोड लगानी अहिले धरापमा परेको बताउँछन् । 'हामीले आंकडा निकालेको ८२ फिल्मको लगभग १ अर्ब ५५ करोडको लगानीको फिल्ममध्येमा डेढ करोड(चपलीहाइट ३) त घाटामै गइसक्यो । निर्माताले पोस्टरको पैसासमेत उठाउन पाएनन् । राज्यले पूर्वसूचना नदिँदा यो घटना घटेको हो,'अध्यक्ष अधिकारीले भने,'राज्यले यो ठूलो रकमलाई बचाउन सकेन भने राज्यलाई नै घाटा पर्ने देखिन्छ । कला, सँस्कृति भेषभुषा बचाउने यो क्षेत्रलाई अब राज्यले प्राथमिकता दिएर हेर्नुपर्छ । बन्दै गरेको फिल्म, प्रदर्शनमा रहेको फिल्मका लागि राहतको प्याकेज दिनुपर्‍यो । यो महामारीबाट निर्मातालाई बचायो भने यो क्षेत्र पछि आफैं उठ्न सक्छ ।'

प्रदर्शन तोकेका फिल्म अन्योलमा

महामारीपछि बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'सूर्यवंशी', 'स्पाइडरम्यान : नो वे होम', 'पुष्पा'मा दर्शक ओरिएपछि अधिकांश नेपाली फिल्महरूले फिल्मको नयाँ प्रदर्शन मिति तोके । 'म यस्तो गीत गाउँछु २(माघ १९), 'सम्हालिन्छ कहिले मन'(फागुन २७), 'ए मेरो हजुर ४'(वैशाख १), 'मन्त्र' ‍(माघ २८), 'लप्पन छप्पन'(फागुन १३), 'आकाशे खेती' (फागुन १३), 'चिसो एस्ट्रे' (चैत ४), 'हेल्लो जिन्दगी'(चैत ११), 'पासो' (चैत १८), 'लक्का जवान'(वैशाख), 'कब्बडी ४'(असोज १५), 'चिसो मान्छे'(वैशाख ३०)लगायतका फिल्मले प्रचारप्रसारका लागि ट्रेलर, टिजरदेखि गीतसमेत सार्वजनिक गरिसकेका थिए। तर फेरि हल बन्द भएपछि फिल्मकर्मीहरू प्रदर्शनलाई लिएर अन्योलमा परेका छन् ।

'चपलीहाइट ३'को भोगाइले उनीहरूलाई फेरि सोच्न बाध्य बनाएको छ । 'यस्तो कुनै महामारी आयो भने हाम्रो मनोरञ्जन क्षेत्रलाई नै सबभन्दा पहिला असर गर्छ । अब फेरि ओमिक्रोनको असर छ । आसा गरौं, यसले लामो समय असर नपारोस् । यो भेरिएन्ट लामो समय जान्दैन भन्ने सुनेको छु,' कलाकार एवं पटकथाकार दिपकराज गिरी भन्छन्,'फिल्म हल राम्ररी चल्न थालेको थियो । पुरानै ट्र्याकमा चल्न थालेको थियो । फेरि सोच्न बाध्य गराएको छ । अब तुरुन्तै उठिहाल्दैन, विस्तारै समय लाग्ला । फिल्मको छायांकन गर्ने तयारीमा रहेका, प्रदर्शन तोकिसकेका फिल्महरूलाई गाह्रो बनायो ।'

निर्देशक सुदर्शन थापाले यही माघ १९ गते प्रदर्शनमा आउने तयारी रहेको 'म यस्तो गीत गाउँछु २'को प्रदर्शन स्थगन गरेका छन् । 'कोरोना भाइरसबाट बच्नका लागि नेपाल सरकारले आवश्यक काम गर्न बाहेक भीडभाडमा नजान र धेरै मानिस भेला हुने कार्यक्रम नगर्नको लागि सूचना जारी गरेकोमा हामीले पनि आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राख्दै कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्ने हेतुले नेपाल सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदासम्म फिल्म प्रदर्शन नगर्ने निर्णय गरेका छौं,' केहीदिनअघि मात्रै निर्देशक सुदर्शनले विज्ञप्ति सार्वजनिक गरेका थिए ।

महामारीकै कारण यसअघि फागुन १३ मा प्रदर्शन गर्ने भनिएको फिल्म 'प्रेमगीत ३'को पनि प्रदर्शन स्थगन भयो । 'हामीले नेपाललगायत मुम्बईका दिग्गज टिमबाट 'प्रेमगीत ३'को पोस्ट प्रोडक्सनको काम सम्पन्न गरेका छौं। फिल्मको प्रदर्शन मिति फागुन १३ लाई लक्षित गरेर विभिन्न प्रचार सामग्री तयार भएसँगै दर्शकमाझ पस्कने तयारीमा थियौं । यसै क्रममा भारत बजारका वितरक समूहले दिएको सल्लाह सुझावलाई मनन गर्दै फिल्म घरहरू बन्द हुने क्रम बढेको छ,’ सन्तोषले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘त्यसैले नेपाल, भारत र विश्वभर अलग-अलग मितिमा प्रदर्शन नगरी एकैसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएको हुनाले नआत्तिकन यो अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै त्यो गहकिलो प्रस्तावलाई स्वीकार गरेर अनिश्चितकालका लागि प्रदर्शन मिति स्थगित गरेका छौं ।’

आर्थिक वर्ष २०७७/०७८ मा ७९ फिल्मले चलचित्र विकास बोर्डमा निर्माण इजाजत लिएका छन् । यद्यपि यी ७९ फिल्मको निर्माणमा कोभिडले असर पारेन भन्न सकिँदैन । डायस्पोराको व्यापार बन्द हुँदासमेत फिल्मकर्मीले फिल्म प्रदर्शनको जोखिम मोले । तर हल नै बन्द हुँदा सबै अन्योलमा परेका छन् । 'अब अहिले विदेशबाट कमाउने स्रोत सबै ठप्प छ । अहिले त एकदम जोखिम मोलेर फिल्म प्रदर्शन गर्नुपर्छ । मैले चिसो मान्छे वैशाख ३० लाई राखेको छु । हेरौं त्यतिञ्जेल ओमिक्रोनको प्रभाव घट्ला कि !' निर्देशक दीपेन्द्र के खनालले सुनाए ।

निर्देशक दिनेश राउतले दोस्रो लकडाउनअघि छायांकन सकाएको फिल्म 'प्रकाश' आगामी वर्षमा रिलिज गर्ने सोचेका थिए । तर महामारीकै कारण उनी नयाँ मिति तोक्न सकिरहेका छैनन् । 'हामी त फिल्मको सबै काम सकेर प्रदर्शनको मिति तोक्ने सोचिरहेका थियौं । तर यस्तो अवस्थाले तोक्न सकिरहेका थिएनौं । यो वर्षमा हलमा लगाउने भन्ने थियो । फेरि यसरी महामारी फेरि उचाइमा पुग्ला भनेर सोचेका थिएनौं,'राउतले भने,'समग्रमा यो मनोरञ्जन क्षेत्रलाई महामारीले निकै असर पारेको छ । पहिला बन्द हुने र ढिला खोलिएको क्षेत्र नै यही भयो । त्यही हिसाबले यो क्षेत्रमा आफ्नो करिअर बनाएकाहरूको करिअर ब्याक भयो नि । अब फिल्मको प्रदर्शनबारे सोच्नुपर्ने भएको छ ।'

आशावादी फिल्मकर्मी

बौरिँदै गरेको फिल्म क्षेत्रमा बारम्बार कोरोनाले पारेको प्रभावले फिल्मकर्मी निरास बनेका छन् । 'दु:ख लाग्दो छ । अब त झन् साउथको फिल्म पनि त्यतिकै आउला जस्तो छ । पहिला बलिउड र हलिउडको मिति हेरे पुग्थ्यो नेपाली फिल्मको प्रदर्शन तोक्न । अब साउथको पनि हेर्नुपर्ने भएको छ । अब साउथको एकदम धेरै फिल्म आउला जस्तो छ,'दीपेन्द्र के खनाल सुनाउँछन्,'कति निर्माताको कमाउने अन्य स्रोत छन् । तर मलगायत अन्य फिल्मकर्मी जसको मूल स्रोत नै यो हो । उनीहरूले अहिले आएर अर्को पेशा सुरु गर्न गाह्रो छ । तर यही क्षेत्र यसरी धरासयी बनेको देख्दा डिप्रेसन नै होला जस्तो लाग्छ । यही क्षेत्रलाई बाँच्ने आधार बनाएका फिल्मकर्मीमा एक तहको डिप्रेसन नै छ । अहिले आसा राख्नुभन्दा केही उपाय नै छैन हामीसँग । अब अहिलेको ओमिक्रोन धेरै लामो समयसम्म नरहला भन्ने लाग्छ ।'

दीपकराज गिरीको भनाइ पनि उस्तै छ । भन्छन्, 'जो व्यक्ति फिल्म नै भनेर बसिरहेको छ । जसको फिल्मबाहेक केही छैन त्यस्ता फिल्मकर्मीका लागि पछिल्ला वर्षहरू गाह्रै भयो । उनीहरूको अवस्था राम्रो छैन ।'

त्यसो त महामारीबीच मौलाउनुपर्ने डिजिटल प्लेटफर्म पनि अपेक्षाकृत रुपमा मौलाउन सकेन । यसबीच कति डिजिटल प्लेटफर्म मौलाउनुको सट्टा बन्द नै भए । डिजिटल प्लेटफर्मले निर्मातालाई विश्वास दिलाउन नसक्दा र निर्माताले डिजिटल प्लेटफर्ममा विश्वास गर्न नसक्दा नेपालमा यो प्लेटफर्म मौलाउन सकेन । त्यसकारण पनि फिल्मकर्मी हल खुल्ने समयलाई नै पर्खनु परेको निर्देशक खनाल सुनाउँछन् ।

'भारतमा हल नहुँदा पनि ओटीटी मौलाए तर हामीकहाँ त्यो पनि भएन । हामीले त हल नै कुर्नुपर्‍यो । कन्टेन्ट पनि हल नै लक्षित नै बनाउनु पर्‍यो । अहिले हामी फिल्मकर्मीलाई त एकदम गाह्रै छ । फिल्मको पैसा कसरी उठाउने होला ? आत्यस लागिसक्यो,' खनालले भने । खनाल कोभिडपछि सम्भावना बोकेको फिल्म गर्नुपर्छ कि भन्ने सोचेर 'पशुपति प्रसाद २' बनाउने तयारीमा लागेका छन् ।

निर्देशक दिनेश राउत भने ओमिक्रोनको पारेको असरमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको दाबी गर्छन् । 'ओमिक्रोनले अझै डेढ महिना प्रभाव पार्ला जस्तो छ । त्यसपछि शान्त होला कि! त्यसपछि हलहरू फिल्म आउन थालेपछि दर्शक आइहाल्छन् नि । यसअघि पनि खतम नै भयो भन्ने लागेको थियो । तर नेपाली फिल्ममा पनि दर्शक आउन थाल्नु भएको थियो । त्यसैले केही समय अप्ठ्यारो होला । त्यसपछि सामान्य अवस्थामा हामी फर्कन्छौं भन्ने लाग्छ । त्यसैले आत्तिहाल्नु पर्ने अवस्था छैन ।'

अर्का निर्देशक दीपेन्द्र लामाको धारणा पनि त्यस्तै छ । 'ओमिक्रोनको प्रभाव त छोटो भन्ने समाचार बढिरहेको छु । भारततिर लगातार फिल्मको प्रदर्शन तोकिएको छ । मेरो बिचारमा यसले फिल्म क्षेत्रमा खासै असर नपार्ला । यसपछि नयाँ भेरियन्ट आयो भने चाहिँ अलिकति गाह्रो हुन्छ । यसको डरलाग्दो प्रभाव पार्ला भन्ने देखिन्न । एक महिनाको व्यापारमा असर गर्ला,'उनले भने ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारी महामारीको प्रत्यक्ष मारमा परेका निर्माता सरकारको प्राथमिकतामा हुनुपर्ने बताउँछन् । 'सबैभन्दा मारमा परेको त निर्माता नै हो । निर्माता त एकपटक डुब्यो भने डुब्यो । अहिलेको समयमा निर्माता बचाएन भने हाम्रो घरेलु उद्योग नै धरासायी बन्छ । प्राविधिक, कलाकार, निर्देशकले कसरी बाँच्ने ? यी सबै व्यक्ति पलायन हुने अवस्था आउँछ । निर्माताले समेत देश छोड्ने स्थिति आउन सक्छ,' उनले भने, 'सरकारले महामारीबाट प्रभावित क्षेत्रका लागि कर मिनाहको कुरा ल्याएको छ । तर यी कुरा त फिल्म प्रदर्शन गर्न पाएपछि आउने न हुन् । त्यसैले अहिले यी निर्माताहरूलाई एउटा राहत प्याकेज दिएर कसरी तत्काल बनाउनुपर्छ राज्यले हेर्नुपर्छ ।'

प्रकाशित : माघ ८, २०७८ १८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×