कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चिकित्सा शिक्षा आयोगले नक्कली परिक्षार्थी र प्रश्नपत्र बाहिरिएकोबारे अनुसन्धान गर्ने

परीक्षा रोकिँदैन : आयोग
सुदीप कैनी

काठमाडौँ — परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको र नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुन लागेको चर्चापछि चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ । 

चिकित्सा शिक्षा आयोगले नक्कली परिक्षार्थी र प्रश्नपत्र बाहिरिएकोबारे अनुसन्धान गर्ने

शनिबारदेखि चिकित्सा शिक्षाका स्नातकोत्तर तहको प्रवेश परीक्षा सञ्चालन हुँदैछ । चिकित्सा शिक्षा वृत्तमा प्रश्नपत्र बाहिरिएको र नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुने तयारीमा रहेको चर्चा छ । उक्त चर्चापछि आयोगले परीक्षा स्थगित नहुने बरु सँगसँगै अनुसन्धान र छानबिन पनि अघि बढाइने जनाएको छ ।

आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले प्रश्नपत्र बाहिरिन असम्भव रहेको प्रतिक्रिया दिए । ‘केहि नक्कली विद्यार्थी परीक्षामा सहभागी हुन खोजेको भन्ने सुनें,’ उनले भने, ‘त्यस विषयमा भने अनुसन्धान सुरु गरिसकेका छौं, अन्य निकायको पनि सहयोगमा छानबिन अघि बढ्छ ।’

परीक्षार्थीहरूबीच भने प्रश्नपत्र लिक भएसँगै भारतीय र नेपाली विद्यार्थीबीच किनबेच भइरहेको हल्ला चलेको छ । प्रश्नपत्र बाहिरिएको विषय भने आधिकारिक रुपमा पुष्टि भइसकेको छैन । परीक्षा सञ्चालन भइसकेपछि मात्रै यसको पुष्टि हुने एक परीक्षार्थीले बताए ।

यस्तै, आवेदन फाराम भर्दा नै फोटो परिवर्तन गरेर केही नक्कली विद्यार्थीले परीक्षा दिने तयारी गरिरहेको पनि ‘हल्ला’ चलेको छ । आयोगले परीक्षार्थीको बायोमेट्री (औंठा छाप) नलिने निर्णय गरेपछि त्यसको फाइदा उठाउँदै नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुन लागेको सामाजिक संञ्जालहरुमा चर्चा भइरहेको छ ।

नक्कली परीक्षार्थीले परीक्षा दिने सम्भवाना रहेको संकेत पाएसँगै आयोगले परीक्षार्थीको बायोमेट्री लिने निर्णय गरेको उपाध्यक्ष गिरीले जानकारी दिए । ‘परीक्षामा विद्यार्थीको औंठा छाप लिन्छौं, पछि भर्नाको बेलामा पढ्न अर्कै विद्यार्थी आए पहिचान गर्न सजिलो हुन्छ ।’

आयोगका एक कर्मचारीले दुई फरक व्यक्तिको फोटोसप गरेर दरखास्त फाराम र प्रवेशपत्रमा उल्लेख हुने फोटो मिल्दोजुल्दो बनाई नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुन लागेको खबरहरु प्राप्त भएको जनाए । उक्त खबरसँगै त्यसमा अनुसन्धान थालिएको उनले दाबी गरे ।

देशभरका ३९ परीक्षा केन्द्रमा ८ देखि १० गतेसम्म परीक्षा सञ्चालन हुँदैछ । परीक्षाको विषयमा प्रश्न उठेपछि आयोगले विज्ञप्ति जारी गरेर परीक्षा नरोकिने तर अनुसन्धान पनि जारी राखिने जनाएको छ । परीक्षामा ८ हजार नेपाली विद्यार्थी र ५ सय भारतीय विद्यार्थी सहभागी हुँदैछ । यसअघि नै प्रश्नपत्र आउट गर्न र नक्कली परीक्षार्थीलाई परीक्षामा सहभागी गराउन सक्रिय भारतीय र नेपाली व्यक्तिहरूले चलखेल गरिरहेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

प्रकाशित : माघ ७, २०७८ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?