विकासे योजनाहरुमा अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङमा सञ्चालित अधिकांश योजनाहरूमा अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी परेको छ । 

विकासे योजनाहरुमा अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी

दिक्तेल रुपाकोट मझुवागढ नगरपालिका-८ बुवालुङको खावाडाडाँस्थित एकीकृत बस्ती‚ सडक, विद्यालय, सामुदायिक वनलगायत विकासका काममा अनियमितता भएको भन्दै छानबिन र कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई स्थानीयले शुक्रबार उजुरी दिएका हुन् ।

उक्त ठाउँमा सुरक्षित नागरिक आवासअन्तर्गत बीस घर लाभग्राहीका लागि घर बनाउन सुरु गरिएको थियो । पहिलो किस्ताको ५० हजार र दोश्रो किस्ताको एक लाख ५० हजार गरी प्रतिघर दुई लाख रकम बुझे पनि घर निर्माण भने अपूरै छ । यसबाहेक पूर्वाधार विकासका लागि प्रतिघर तीन लाख रुपैयाँको दरले लिए पनि काम अझै पूरा हुन सकेको छैन ।

उक्त एकीकृत बस्तीमा भूकम्प पीडित मात्र हुनुपर्नेमा मापदण्ड मिचेर पहुँच भएकाहरूलाई घर उपलब्ध गराइएको वडा सदस्य हरिबहादुर राईले सुनाए ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङको खावाडाडाँस्थित अलपत्र एकीकृत बस्ती । बजेट निकासा भए पनि बस्ती अलपत्र परेपछि स्थानीयले गुनासो गरेका छन् । तस्बिर : डम्बरसिं राई/कान्तिपुर

उक्त एकीकृत बस्तीमा मापदण्ड मिचेर वास्तविक लाभग्राहीको नभई पहुँचवाला व्यक्तिहरूले कब्जा जमाएको वडा सदस्य राईले बताए । हर्कबहादुर चौहान, मानबहादुर राउल, भक्तबहादुर चौहान, गोविन्दनारायण श्रेष्ठ, गोविन्दकुमार श्रेष्ठ लगायतको अर्को ठाउँमा घर हुँदाहुँदै एकीकृत बस्तीमा राखिएको राईको भनाइ छ । उक्त ठाउँमा घडेरी खार्ने, खानेपानी, टेवापर्खाल लगायतका लागि तीन लाखको दरले ६० लाख निकासा भएर पनि फर्स्यौट भइसकेको वडाध्यक्ष चौहानले बताएका छन् । यद्यपि टेवा पर्खालको काम भने अपूरै रहेको स्थानीय कृष्ण बुढाथोकीले बताए ।

त्यस्तै उक्त वडाकै ऊवाबारीमा पनि एकीकृत बस्तीको नाममा सुरक्षित नागरिक आवासको घर पनि निर्माणको सुरुवाती चरणमै अलपत्र परेको छ । यद्यपि पहिलो चरणको ५० हजार र दोस्रो चरणको एक लाख ५० हजार गरी दुई लाख रुपैयाँका दरले निकासा लिइसकेको वडा सदस्य राईले बताए । उक्त ठाउँमा वडाध्यक्ष लिला चौहानलगायत २५ घर लाभग्राहीको घर निर्माणाधीन अवस्थामै अलपत्र परेको हो ।

कतिपयको सुरक्षित नागरिक आवासको घर सिस्ने हर्कटे सामुदायिक वनको जग्गामा निर्माण गरिएको राईले बताए । उक्त ठाउँ अनकन्टार भएकाले बस्ती बस्न समस्या देखिएको स्थानीय शिक्षक प्रेम थापाले बताए ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङको ऊवाबारीस्थित अलपत्र सुरक्षित नागरिक आवासको घर । अनकन्टार र सामुदायिक वनको जग्गामा बनाइएको भन्दै स्थानीयले छानबिनको माग गरेका छन् । तस्बिर : डम्बरसिं राई/कान्तिपुर

मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालयसम्मको सडक निर्माण गुणस्तरहीन भएको भन्दै माघ २ गते जिल्ला प्रशासन कार्यालयमै उजुरी दिइएको स्थानीय जयप्रकाश राईले बताए । उनका अनुसार संघीय सरकारको ६८ लाख र वडाको दश लाख गरी ७८ लाख रुपैयाँको लागतमा निर्माणाधीन सडकमा सोलिङ र डन्डीबिनै ढलान गरिएको राईले बताए । ‘सडक ढलान गर्दा सोलिङ र रड अनिवार्य रुपमा हुनुपर्ने हो तर माटोमाथि ढलान गरिएको छ‚’ राईले भने ।

स्थानीय हरिकुमार खत्रीको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले २०७८ असोज १८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग सम्झौता गरे पनि मध्यपहाडी लोकमार्ग निर्माणमा संलग्न रमण गोल्डेन जुड जेबी कम्पनी सम्वद्ध साङ्गे शेर्पाले काम गरेका हुन् । उक्त सडक उकालो र घुम्ती भएकाले ६ इन्चको ढलानले मात्र भार बहन गर्न नसक्ने स्थानीय चन्द्रबहादुर चौहानले बताए । वडाध्यक्ष लीला चौहानले भने उक्त सडकको बजेट नै कम भएकाले रड र सोलिङबिनाको स्टिमेटकै आधारमा काम भइरहेको बताउँदै आएका छन् । वडाध्यक्ष चौहानले भने‚‘बजेट अभावका कारण रड र सोलिङ हटाइएको हो ।’


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित निर्माणाधीन सडक । उक्त सडकको ढलान माटोमाथि गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् । तस्बिर : डम्बरसिं राई/कान्तिपुर

त्यसैगरी उक्त वडाकै अन्नपूर्ण माविको सिँढी तथा पर्खाल निर्माणमा अनियमितता भएको भन्दै यसबारे पनि प्रशासनमा उजुरी परेको छ । स्थानीय विष्णुमाया थापालाई उपभोक्ता समितिका अध्यक्ष बनाएर गरिएको काम चित्तबुझ्दो नभएको भन्दै उक्त वडाका वडा सदस्यसमेत रहेका हरिबहादुर राईले माघ ५ गते प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालसमक्ष उजुरी दिएका हुन् ।

उक्त सिँढी तथा पर्खाल रमण गोल्डेन जुड जेबी कम्पनी सम्बद्ध साङ्गे शेर्पाले निर्माण सामग्री उपलब्ध गराएको स्थानीय तथा उक्त विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जेपी राईले बताए । ‘सिँढी र वाल निर्माणको सामग्री साङ्गे शेर्पाले दिनुभएको हो‚’ राईले भने‚‘यसै कामका लागि नगरपालिकाबाट पनि बजेट निकासा गरिएको रहेछ ।’

उक्त विद्यालयको सिँढी र पर्खालका लागि २० लाख १६ हजार रुपैयाँ भुक्तानी भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए । यति रकम निकासा भए पनि कामदारलाई भने तीन लाख ५० हजार रुपैयाँमात्र उपलब्ध गराएको स्थानीय तथा शिक्षक प्रेम थापाले बताए ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङको सिस्ने हर्कटे सामुदायिक वनको लप्से खोलामा सञ्चालन गरिएको अवैध ढुङ्गा खानी । तस्बिर : डम्बरसिं राई/कान्तिपुर

उक्त वडाकै सिस्ने हर्कटे सामुदायिक वनमा पर्ने लप्सेखोलामा अवैध ढुङ्गा खानी सञ्चालन गरिएको भन्दै त्यसविरुद्ध पनि डिभिजन वन कार्यालय, अख्तियार आयोग र प्रशासनमा उजुरी दिइएको स्थानीय कृष्ण बुढाथोकीले बताए । मध्यपहाडी लोकमार्ग निर्माणका लागि उक्त सामुदायिक वनमा अवैध ढुङ्गा खानी सञ्चालन गरिएको र त्यसले सामुदायिक वन क्षेत्रमा पहिरो जानुका साथै अन्य क्षति पुर्‍याएको भन्दै त्यसमा संलग्न साङ्गे शेर्पालाई छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित अन्नपूर्ण माविमा बनाइएको सिँढी र पर्खाल । उक्त काममा अनियमितता भएको भन्दै स्थानीयले छानबिनको माग गरेका छन् । तस्बिर : डम्बरसिं राई/कान्तिपुर

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले विभिन्न विकासे योजनाहरूको अनियमितताको विषयमा परेको उजुरीको विषयमा छानबिन गरी सार्वजनिक गर्ने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित : माघ ७, २०७८ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?