२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८
कोरोनाको अंक कथा

वास्तविक संक्रमितको २–३ प्रतिशतमात्रै पहिचान

प्रतिहजार सक्रिय संक्रमितमध्ये अस्पताल भर्ना हुने दर सरदर २२ मात्रै
नेपालमा कोरोनाको ‘रिप्रोडक्सन नम्बर’ करिब ६ को हाराहारी
विद्यालय जाने उमेरका बालबालिका एकदिनमा सबैभन्दा धेरै व्यक्तिको सम्पर्कमा आउँछन् : अध्ययन
स्वरूप आचार्य

काठमाडौँ — नेपालको म्याथम्याटिकल बायोलोजी रिसर्च समूहले गरेको अध्ययनअनुसार माघको तेस्रो साता कोभिड–१९ संक्रमितको संख्या करिब २६ हजारसम्म पुग्न सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि माघको तेस्रो साता कोरोना संक्रमण उत्कर्षमा पुग्ने बताएको थियो ।

वास्तविक संक्रमितको २–३ प्रतिशतमात्रै पहिचान

त्रिभुवन विश्वविद्यालयको गणित केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. केदारनाथ उप्रेती तथा अमेरिकाको सानडियागो स्टेट युनिभर्सिटीका सहप्राध्यापक नविन वैद्यले नेतृत्व गरेको रमेश गौतम, अन्जना पोखरेल र खगेन्द्र अधिकारी सम्मिलित ‘नेपाल म्याथम्याटिकल बायोलोजी रिसर्च ग्रुप’ले कोरोनाको पहिलो लहरदेखि नै नेपालमा कोरोनासम्बन्धी गणितीय अध्ययन तथा प्रक्षेपण गर्दै आइरहेको छ । समूहका सदस्य तथा ‘कोरोना संक्रमणको गणितीय नमुनामा’ विद्यावारिधी गर्दै गरेका खगेन्द्र अधिकारीका अनुसार समूहको प्रक्षेपणअनुसार माघ तेस्रो साता नेपालमा सबैभन्दा धेरै संक्रमित फेला पर्न सक्छन् ।

‘हामीले अहिले नेपाल सरकारले नै उपलब्ध गराएको तथ्यांक, समाजमा जनस्वास्थ्य मापदण्ड पालनाको अवस्था, दैनिक परीक्षण संख्या आदिलाई समेटेर प्रक्षेपण गर्छौं । माथि भनिएका सूचकहरुमा परिवर्तन आयो भने प्रक्षेपणको संख्या, समयमा पनि परिवर्तन आउँछ । तर, यो पूर्णरुपमा गलत भने हुँदैन,’ उनले भने ।

गणितमा विद्यावारिधी गर्दै गरेका अधिकारीका अनुसार समूहले गरेको प्रक्षेपणमा दैनिक संक्रमित करिब २६ हजारसम्म हुनसक्ने देखिए पनि सोही अनुसारले परीक्षण नबढेमा भने त्यत्ति नै संख्या नपुग्न सक्छ । ‘हाम्रो प्रक्षेपणमा २६ हजार संक्रमित पुग्ने देखिए पनि त्यो देखिनका लागि गर्नुपर्ने संख्यामा परीक्षण भएन भने त्यत्ति संख्या नपुग्ला,’ उनले भने, ‘तर, त्यो साता संक्रमितको संख्या उच्च विन्दुमा पुग्ने देखिन्छ ।’

मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्यांकलाई सो समूहले गरेको विश्लेषणअनुसार अहिले नेपालको कोरोनाको रिप्रोडक्सन नम्बर (एउटा संक्रमितले अरुलाई संक्रमण गराउनसक्ने दर) २ देखि ३ देखिएको छ । तर, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने उक्त देर २ भन्दा तल रहेको देखिन्छ । यद्यपि समूहको आफ्नो प्रक्षेपणअनुसार नेपालमा कोरोनाको रिप्रोडक्सन नम्बर भने आजको दिनमा ६ को हाराहारी छ । जुन माघको अन्तिम सातादेखि १ भन्दा तल झर्दै जाने देखिन्छ ।

‘अहिलेको अवस्था हेर्दा वास्तविकभन्दा निकै कममात्रै संक्रमितले परीक्षण गराइरहेको जस्तो देखिन्छ । हाम्रो विश्लेषणमा अहिले पुष्टि भइरहेको संक्रमितहरुको संख्या वास्तविक संक्रमितको २ देखि ३ प्रतिशतमात्रै हो,’ अधिकारीले भने, ‘धेरै मानिसहरूले परीक्षण नै गराएका छैनन् भन्ने हाम्रो बुझाइ छ । जुन वास्तविक पनि हो ।’ उनको भनाइलाई आधार मानेर अहिलेको दैनिक देखिने संक्रमितको संख्यालाई वास्तविक संख्याको ३ प्रतिशतमात्रै मान्ने हो भने पनि दैनिक ४ लाखभन्दा बढी व्यक्तिमा अहिले संक्रमण विस्तार भइरहेको मान्न सकिन्छ ।



यस्तै म्याथम्याटिकल बायोलोजी रिसर्च समूहले गरेको तथ्यांक विश्लेषणले नेपालको अहिलेको अवस्थामा सकारात्मक चित्र पनि अगाडि सारेको छ । अधिकारीका अनुसार पुस १८ गते देशभरका सक्रिय संक्रमितमध्ये २२४ अस्पताल (संस्थागत आइसोलेसनसमेत) भर्ना भएका थिए । त्यसको अर्थ प्रतिहजार सक्रिय संक्रमितमध्ये ६१ जना अस्पतालमा थिए भन्ने देखिन्थ्यो । तर, बिहीबारसम्मका सक्रिय संक्रमितमध्ये अस्पताल भर्ना हुनेको संख्या १ हजार ४९२ मात्रै छ । अहिले प्रतिहजार सक्रिय संक्रमितमध्ये केवल २२ जनामात्रै अस्पताल भर्ना भइरहेको देखिन्छ ।

‘पुस १८ गते वाग्मती प्रदेशमा प्रतिहजार सक्रिय संक्रमितमध्ये ६४ जना अस्पताल भर्ना हुने गरेको देखिएको थियो । त्यो दर अहिले घटेर १७ मा झरेको छ,’ उनले भने, ‘यस्तै लुम्बिनी प्रदेशमा पनि पुस १८ मा प्रतिहजार सक्रिय संक्रमित १३ जना अस्पताल भर्ना भएका थिए । त्यो पनि अहिले घटेर लगभग ५ भएको छ ।’ अधिकारीका अनुसार यस अर्थमा मन्त्रालयले गरेको प्रक्षेपणअनुसार संक्रमण उच्च विन्दुमा पुगेको अवस्थामा पनि अस्पताल भर्ना हुनेको संख्यामा भने अत्याधिक वृद्धि नहुन सक्छ ।

विद्यालय जाने उमेरका बालबालिका एकदिनमा सबैभन्दा धेरै व्यक्तिको सम्पर्कमा आउँछन् : अध्ययन

एक अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित तथ्यांक विश्लेषणअनुसार नेपालमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले दैनिकरुपमा सबैभन्दा बढी व्यक्तिहरूसँग सम्पर्क गर्ने देखिएको छ ।

पब्लिक लाइब्रेरी अफ साइन्सले इन्टरनेसनल सोसाइटी अफ कम्प्यूटेसनल बायोलोजीसँगको सहकार्यमा प्रकाशित हुने जर्नलमा केइसा प्रेम, एलेक्स आर कुक, मार्क जिटलगायत अन्य विभिन्न देशका सोधकर्ताहरूले गरेको विश्लेषणमा एक व्यक्तिले दिनभरमा कतिजनासँग भेट गर्न सक्छ भन्ने अध्ययन गरिएको थियो । यो अध्ययनका लागि सोधकर्ताहरुले विभिन्न १५२ देशको तथ्यांक हासिल गर्न डेमोग्राफिक हाउसहोल्ड सर्भे, विश्व बैंक र यूनको तथ्यांक विभागलगायतसँग सहकार्य गरेका थिए ।

उक्त अध्ययनअनुसार नेपालमा विद्यालय जाने उमेरका बालबालिकाहरू नै सबैभन्दा धेरै अन्य व्यक्तिको सम्पर्कमा आउने देखिएको हो । त्यसपछि १५ देखि २५ वर्ष उमेर समूहकाहरु सबैभन्दा बढी प्रतिदिन २८ जना व्यक्तिको सम्पर्कमा आउने गरेको देखिन्छ ।

सबैभन्दा कम व्यक्तिको सम्पर्कमा आउने उमेर समूह भने ६० वर्ष माथिकाहरूको रहेको छ । उक्त उमेर समूहका मानिसहरू दैनिक रुपमा केवल ६ जना व्यक्तिको सम्पर्कमा आउने गर्छन् । यस्तै, २५ देखि ६० वर्ष उमेर समूहका मानिसहरू भने सरदर १५ जना व्यक्तिको सम्पर्कमा आउँछन् ।

गणितका विद्यार्थी खगेन्द्र अधिकारीका अनुसार यस अध्ययनले समाजमा संक्रमण फैलिएको अवस्थामा कुन उमेर समूहका व्यक्तिले सबैभन्दा बढी संक्रमण विस्तार गर्न सक्छ भन्ने तस्बिर प्रस्तुत गर्छ । ‘यो अध्ययनले विद्यालय र कलेज जाने ५ देखि २५ वर्ष उमेर समूहकाहरूले सबैभन्दा बढी व्यक्तिसँग घुलमिल हुने गरेको देखाउँछ,’ उनले भने, ‘तसर्थ विश्वका अन्य मुलुक र नेपालमा पनि संक्रमण विस्तार हुने बित्तिकै शैक्षिक संस्थाहरू लगायत भिडभाड हुने स्थान र क्षेत्रहरू बन्द गर्नु उचित हुन्छ ।’

‘यो पटक सरकारले संक्रमण विस्तार हुने देखेसँगै शैक्षिक संस्थाहरू लगायत भिडभाड हुने स्थान र क्षेत्रहरू बन्द गर्ने निर्णय गर्‍यो । यसले संक्रमणको अवस्थामा पनि केही फरक अवस्य नै पर्छ,’ उनले भने ।

प्रकाशित : माघ ७, २०७८ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?