१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डाक्टरको प्रवेश परीक्षाबारे चिकित्सा शिक्षा आयोगको अनुसन्धान

परीक्षा रोकिदैँन– आयोग
सुदीप कैनी

काठमाडौँ — प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको र नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुन लागेको चर्चापछि चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) को प्रवेश परीक्षाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।

डाक्टरको प्रवेश परीक्षाबारे चिकित्सा शिक्षा आयोगको अनुसन्धान

शनिबारदेखि चिकित्सा शिक्षाका स्नातकोत्तर तहको प्रवेश परीक्षा सञ्चालन हुँदैछ । चिकित्सा शिक्षा वृत्तमा प्रश्‍नपत्र बाहिरिएको र नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुने तयारीमा रहेको चर्चा छ । उक्त चर्चापछि आयोगले परीक्षा स्थगित नहुने बरु सँगसँगै अनुसन्धान र छानबिन पनि अघि बढाइने जनाएको छ । आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले प्रश्नपत्र बाहिरिन असम्भव रहेको प्रतिक्रिया दिए । ‘केहि नक्कली विद्यार्थी परीक्षामा सहभागी हुन खोजेको भन्ने सुनें,’ उनले भने, ‘त्यस बिषयमा भने अनुसन्धान सुरु गरिसकेको छौं, अन्य निकायको सहयोगमा पनि छानविन अघि बढ्छ ।’

परीक्षार्थीहरुबीच भने प्रश्नपत्र लिक भएसँगै भारतिय र नेपाली विद्यार्थीबीच किनबेच भइरहेको हल्ला चलेको छ । प्रश्न पत्र बाहिरिएको बिषयमा आधिकारिक पुष्टि भने भईसकेको छैन । परीक्षा संचालन भईसकेपछि मात्रै यसको पुष्टि हुने एक परीक्षार्थीले बताए । त्यस्तै आवेदन फाराम भर्दा नै फोटो परिवर्तन गरेर केहि नक्कली विद्यार्थीले परीक्षा दिने तयारी गरिरहेको बताईएको छ । आयोगको यसअघिको परीक्षार्थीको बायोमेट्री (औंठा छाप) नलिने निर्णयको फाइदा उठाउँदै नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुन लागेको सामाजिक सञ्जालहरूबाट खुलासा भएको थियो ।

नक्कली परीक्षार्थीले परीक्षा दिने सम्भवाना रहेको संकेत पाएसँगै आयोगले परीक्षार्थीको बायोमेट्री लिने निर्णय गरेको उपाध्यक्ष गिरीले जानकारी दिए । ‘परीक्षामा विद्यार्थीको औंठा छाप लिन्छौं, पछि भर्नाको बेलामा पढ्न अर्कै विद्यार्थी आए पहिचान गर्न सजिलो हुन्छ ।’

आयोगका एक कर्मचारीले दुई फरक व्यक्तिको फोटोसप गरेर दरखास्त फाराम र प्रवेशपत्रमा उल्लेख हुने फोटो मिल्दोजुल्दो बनाइ नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुन लागेको खबरहरु प्राप्त भएको जनाए । उक्त खबरसँगै अनुसन्धान अघि बढाइएको हो ।

देशभरका ३९ परीक्षा केन्द्रमा ८ देखि १० गतेसम्म परीक्षा सञ्चालन हुँदैछ । परीक्षाको विषयमा प्रश्न उठेपछि आयोगले विज्ञप्ति जारी गरेर परीक्षा नरोकिने र अनुसन्धान गरिने जनाएको छ । परीक्षामा ८ हजार नेपाली विद्यार्थी र ५ सय भारतीय विद्यार्थी सहभागी हुँदैछन् । यसअघि नै प्रश्नपत्र आउट गर्न र नक्कली परीक्षार्थीलाई परीक्षामा सहभागी गराउन सक्रिय भारतीय र नेपाली व्यक्तिहरुले चलखेल गरिरहेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

प्रकाशित : माघ ७, २०७८ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?