२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बाघ पाइने देशका मन्त्रीहरूको भर्चुअल बैठक : संरक्षणका चुनौती र उपलब्धिबारे छलफल

यसै वर्ष रुसको भ्लादिभोस्तोकमा दोस्रो बाघ सम्मेलन हुने 

काठमाडौँ — नेपालमा बाघ गणना भइरहेकै बेला बाघ पाइने एसियाली मन्त्रीहरुको चौथो बैठक भर्चुअल रुपमा बुधबारदेखि सुरु भएको छ । बाघ पाइने देशमध्येको मलेसिया सरकार र ग्लोबल टाइगर फोरम (जीटीएफ) को संयुक्त आयोजनामा भएको यो बैठकमा बाघ संरक्षणका चुनौती र अहिलेसम्मका उपलब्धिबारे अनुभव आदान–प्रदान हुनेछ ।

बाघ पाइने देशका मन्त्रीहरूको भर्चुअल बैठक : संरक्षणका चुनौती र उपलब्धिबारे छलफल

बुधबार सुरु भएको बैठकमा पहिलो चरणमा बाघ पाइने सबै देशका सरकारी अधिकारी, सहयोगी संस्थाका प्रतिनिधि र विशेषज्ञहरुले अहिलेसम्म बाघ संरक्षण, बाघका चुनौती र दोब्बर बनाउने घोषणामा भएका उपलब्धिबारे अनुभव साटेका छन् ।

नेपालका तर्फबाट बुधबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कँडेलले बाघ संरक्षणमा नेपालको अवस्थाबारे जानकारी गराएका छन् । ‘बाघ संरक्षणमा भएका उपलब्धि र चुनौतीबारे विश्व समुदायलाई जानकारी गराएँ,’ उनले भने, ‘अरु मुलुकहरुले पनि आ आफ्नो अनुभव साटेका छन् ।’

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले भने वैठकलाई शुक्रबार सम्वोधन गर्दैछन् । उनको सम्बोधनमा नेपालले बाघ संरक्षणमा प्राप्त गरेको उपलब्धि र चुनौतीबारे विस्तृत रुपमा उल्लेख गरिएको छ ।

बाघ पाइने एसियाली देशका मन्त्रीहरुको तेस्रो बैठक सन् २०१६ मा भारतको नयाँदिल्लीमा भएको थियो । चौथो बैठक सन् २०२० मा मलेसियामा गर्ने तय भएकामा कोभिड संक्रमणका कारण स्थगित भएको थियो ।

बाघ पाइने १३ देशका राष्ट्रप्रमुखहरुको सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको पहिलो सम्मेलनले यही वर्ष (सन् २०२२) प्राकृतिक वासस्थानमा बाघको संख्या सन् २०१० मा भन्दा दोब्बर बनाउने संकल्प गरेको थियो । घोषणा भएको बेला नेपालमा बाघको संख्या १२१ थियो भने विश्वभर ३ हजार २०० थियो । सन् २०१८ को गणनाअनुसार नेपालमा बाघको संख्या २३५ छ । मंसिर १९ देखि देशभर बाघ गणना जारी छ ।

महानिर्देशक कँडेल यो पटकको गणनाबाट बाघको संख्या दोब्बर गर्ने घोषणा पूरा हुने बताउँछन् । ‘बाघको संख्या बढाउनका लागि हामीले वासस्थान विस्तार, वासस्थान सुधार र आहार संरक्षणमा जोड दिएका छौं,’ उनले भने, ‘आशा छ, हामीले सन् २०१० मा घोषणा गरेको प्रतिवद्धता यो गणनाबाट पूरा हुनेछ ।’

आगामी जुलाई २९ मा बाघ गणनाको परिणाम सार्वजनिक गरिनेछ ।

भ्लादिभोस्तोकमा बाघ सम्मेलन यसै वर्ष

यसै वर्ष रुसको भ्लादिभोस्तोकमा बाघ पाइने देशका सरकारहरुको दोस्रो सम्मेलन हुँदैछ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसै वर्षभित्र दोस्रो बाघ सम्मेलन आयोजना गर्न लागेका हुन् । मिति भने तय भइसकेको छैन । पहिलो सम्मेलन पनि सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको थियो । उक्त सम्मेलनमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालसहित वनमन्त्री दीपक बोहरालगायत् सहभागी भएका थिए ।

प्रकाशित : माघ ७, २०७८ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?