१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नोबेल मेडिकल कलेजपीडित विद्यार्थी काठमाडौंमा

सुदीप कैनी

काठमाडौँ — विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीले काठमाडौं आएर अतिरिक्त शुल्क असुलीविरुद्ध प्रदर्शन गरेका छन् । कलेजमा आन्दोलन गर्दा पनि माग सुनुवाइ नभएपछि नोबेलका विद्यार्थीले काठमाडौं मेडिकल कलेज (केएमसी) का पीडित विद्यार्थीसँगै बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । 

नोबेल मेडिकल कलेजपीडित विद्यार्थी काठमाडौंमा

नोबेलबाट १० विद्यार्थी गाडी रिजर्भ गरेर काठमाडौं आइपुगेका हुन् । उनीहरू काठमाडौं आएर आफन्त, साथीभाइको डेरा र विद्यार्थी होस्टलमा बसेका छन् । विराटनगरमा प्रमुख जिल्ला अधिकारी, प्रदेशमन्त्री, मुख्यमन्त्रीसम्मलाई ठगीको फेहरिस्त सुनाए पनि अतिरिक्त शुल्क असुली नरोकिएपछि कोरोना महामारीका बीच काठमाडौं आउन बाध्य भएको विद्यार्थीले बताएका छन् । ‘पहिलो दिन माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्‍यौं,’ एक छात्राले भने, ‘सरकार र राज्य छ भने न्याय पाइएला ।’

नोबेल कलेजले होस्टल अनिवार्य गर्दै थरीथरी शीर्षकमा १५ देखि २० लाखसम्म अतिरिक्त रकम माग गरेको विद्यार्थीले बताए । ‘मागेजति रकम दिने विद्यार्थीलाई कक्षामा प्रवेश गर्न दिइएको छ, हामी कक्षामा छिर्न पनि पाएका छैनौं, सरकारले चाँडै पढ्न पाउने वातारण मिलाइदिनुपर्थ्यो,’ अर्का छात्रले भने । काठमाडौं मेडिकल कलेजले पनि नोबेलकै शैलीमा करारनामा बनाएर विद्यार्थीसँग अतिरिक्त शुल्कको बार्गेनिङ गरिरहेको छ । दुवै कलेजका सञ्चालक सुनिल शर्मा हुन् । शर्माले केही विद्यार्थी र अभिभावकलाई प्रभावित गरेर शुल्क विवादमा सहमति भइसक्यो भनेर झूटा प्रचार गरेको विद्यार्थीले गुनासो गरे ।

सञ्चालक शर्माले गत शुक्रबार शिक्षा मन्त्रालयले गरेको छलफलपछिको निर्णयमा पनि फरक मत राखेका थिए । उनले आयोगले तोकेको एकमुष्ट शुल्कबाहेक विश्वविद्यालय, मेडिकल काउन्सिललाई बुझाउनुपर्ने परीक्षा, रजिस्ट्रेसन, सम्बन्धनलगायत शुल्क विद्यार्थीबाट लिन पाउनुपर्ने जिद्दी गरेका छन् । आयोगले भने यी शीर्षकको शुल्क पनि एकमुष्ट शुल्कभित्रै समावेश गरिएकाले थप लिन नपाइने प्रस्ट्याएको छ ।

त्यस्तै मेडिकल कलेजमा होस्टल अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि विद्यार्थीलाई अनिवार्य गर्न नपाइने आयोग र मेडिकल काउन्सिलले जनाएका छन् । यी दुई कलेजले भने छात्रवृत्तिबाहेकका विद्यार्थीलाई होस्टल अनिवार्य गरेका छन् । होस्टल बस्न एउटै कोठाको काठमाडौं र विराटनगरमा समान २४ हजार मासिक भाडा तोकिएको छ । विद्यार्थीले परीक्षा, रजिस्ट्रेसन, इन्टर्नसिप, सम्बन्धन शुल्क नतिर्ने बताएका छन् भने होस्टल ऐच्छिक बनाउनुपर्ने र शुल्क पनि बजारमा प्रचलित मूल्यअनुसार तोकिनुपर्ने माग गरेका छन् ।

सरकारले चिकित्सा शिक्षाको शुल्क तोक्दा पनि कलेज प्रशासनले जबर्जस्ती गरेर डेढ महिनादेखि पढ्न वञ्चित बनाएको विद्यार्थीले गुनासो गरे । ‘अहिलेसम्म सरकारका निकाय एकले अर्कालाई देखाएर पन्छिने गरेका छन्,’ एक छात्रले कान्तिपुरसित भने ।

चिकित्सा शिक्षा संघर्ष अभियानका संयोजक मनीष भट्टराईले चिकित्सा शिक्षा आयोग परिसरमा विद्यार्थीले रिले अनशन थाल्ने जानकारी दिए । सरकारले तोकेको मापदण्डअनुसार बढीमा २५ जना मात्रै भेला भएर हरेक दिन आन्दोलन गर्ने एक विद्यार्थीले बताए । उनीहरूको आन्दोलनमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनले ऐक्यबद्धता जनाएका छन् ।

शिक्षा मन्त्रालयले गरेको छलफल र निर्णयलाई यी दुई कलेजले अटेरी गरेपछि शिक्षामन्त्री देवेन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँणले समस्या समाधानका लागि छलफल गरेका छन् । शिक्षामन्त्री पौडेलले अटेरी गर्ने मेडिकल कलेजमाथि गृह मन्त्रालयमार्फत कारबाही गर्नुपर्ने धारणा राखेका थिए । जवाफमा गृहमन्त्री खाँणले जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही अघि बढाउने बताएको स्रोतले जनाएको छ ।

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेजी गर्ने र जिल्ला प्रशासन कार्यालयमार्फत ठगीको आरोपमा कारबाही गर्ने कानुनी व्यवस्था छ । यस्तै आरोपमा २०७५ सालमा गण्डकी मेडिकल कलेजका सञ्चालक र कर्मचारीविरुद्ध कास्की प्रशासनले पक्राउ पुर्जी जारी गरेर कारबाही गरेको थियो ।

प्रकाशित : माघ ७, २०७८ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?