१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विद्यार्थीलाई गृहमन्त्री खाँणले सोधे- जारी परीक्षा निरन्तर राख्ने कि स्थगन गर्ने ?

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले पूर्वाञ्चल विश्वविद्यालयले लिइरहेको बीएएलएलबी चौथो वर्षको परीक्षालाई निरन्तरता दिने कि कोभिड-१९ संक्रमणदर उच्च भएकाले केही समय रोक्ने भनेर विद्यार्थीसँग फोन संवाद गरेका छन् ।

विद्यार्थीलाई गृहमन्त्री खाँणले सोधे- जारी परीक्षा निरन्तर राख्ने कि स्थगन गर्ने ?

बीएएलएलबीको पहिलो‚ दोस्रो र तेस्रो वर्षमा उत्कृष्ट अंक ल्याएकामध्ये प्राञ्जली कँडेल र अञ्जली तिवारीलाई बिहीबार टेलिफोन गरेर गृहमन्त्री खाँणले जारी परीक्षा सञ्चालन गरिरहने कि केही समय स्थगन गर्ने भनेर सोधेका हुन् ।

विश्वविद्यालयले पुस २९ गतेदेखि सुरु गरेको बीएएलएलबी चौथो वर्षको परीक्षामध्ये बुधबार भएको परीक्षामा कोभिड-१९ संक्रमित र संक्रमणमा नभएकालाई एउटै कोठामा राखिएको भन्दै परीक्षार्थीहरूले शान्तिपूर्ण धर्ना दिएका थिए । त्यो धर्नामा प्रहरीले धरपकड गरेको भन्दै विद्यार्थीहरूको टोली बिहीबार गृहमन्त्री खाँणलाई भेट्न मन्त्रालय आएको थियो ।

काठमाडौँ स्कुल अफ ल भक्तपुर दधिकोटमा अध्ययनरत साइरस शर्मा, जीवन शर्मा, रश्मी रेग्मी, अर्नव चौधरी, अमृत मिश्रलगायतका विद्यार्थीहरू मन्त्री खाँणलाई भेट्न मन्त्रालयमा आएका थिए ।

उनीहरूलाई मन्त्री खाँणले पढ्नमा ‘ट्यालेन्टेड’ विद्यार्थीले परीक्षा होस् भन्ने चाहना राखेको तर परीक्षाको तयारी नगरेका विद्यार्थीले परीक्षा स्थगन भएमा केही तयारी गर्न पाइन्थ्यो भनेर स्थगनको माग राखेको भन्ने कुरा आएकाले यसको यथार्थबारे जिज्ञासा राखेका थिए ।

त्यसपछि विद्यार्थीहरूले बीएएलएलबी पहिलो, दोस्रो र तेस्रो वर्षमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीले पनि परीक्षा नदिएको बताएका थिए ।

उनीहरूको त्यो जवाफपछि मन्त्री खाँणले पहिलो हुने विद्यार्थी कँडेल र तिवारीको मोबाइल नम्बर मागेर टेलिफोन गरेका थिए । मन्त्री खाँणसँग टेलिफोनमा कँडेलले परिवारसहित आफू कोभिड-१९ संक्रमणमा रहेको र संक्रमणमा रहेका विद्यार्थीले छुट्टै बसेर परीक्षा दिने व्यवस्था विश्वविद्यालय र परीक्षा सेन्टर भएको क्याम्पसले नगरेको भन्दै केही समय स्थगन गर्दा उपयुक्त हुने सुझाएकी थिइन् ।

अर्की विद्यार्थी तिवारीले पनि परीक्षा केही समय स्थगित गरेर संक्रमणदर घट्दै गएपछि परीक्षा गर्दा उपयुक्त हुने सुझाव दिएकी थिइन् । गृहमन्त्री खाँणलाई विद्यार्थीहरूले भेटेर स्वास्थ्यका मापदण्ड नअपनाई विश्वविद्यालयले परीक्षा सञ्चालन गरिएको भन्दै स्थगन गर्न माग गरेका छन् ।

गृहमन्त्री खाँणले आफूले सबै विद्यार्थीले स्वास्थ्यका मापदण्ड पालना गरेर परीक्षा दिने वातावरण निर्माण गर्न पहल गर्ने बताएका थिए । ‘कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफलमै छौँ । निर्णय भएपछि तपाईंहरूलाई जानकारी आउँछ,’ गृहमन्त्री खाँणले भने ।

प्रकाशित : माघ ६, २०७८ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?