‘शुक्रबारसम्म सिटामोल अभाव हट्छ’

औषधि लिमिटेडले ३० लाख र नेसनल हेल्थ फर्माले १० लाख ट्याब्लेट बजारमा पठाउने
औषधिको आपूर्ति सहज बनाउन र उत्पादन क्षमता बढाउन प्रधानमन्त्रीको निर्देशन
राजु चौधरी

काठमाडौँ — बजारमा सिटामोलको अभाव भएपछि नेपाल औषधि लिमिटेड र नेसनल हेल्थ फर्माले एक महिनाभित्र ४० लाख ट्याब्लेट सिटामोल बजारमा पठाउने जनाएका छन् । औषधि लिमिटेडले ३० लाख र नेसनलले १० लाख ट्याब्लेट उत्पादन गर्ने प्रतिबद्धता जनाएका हुन् । 

‘शुक्रबारसम्म सिटामोल अभाव हट्छ’

सिटामोलमा घाटा रहेको भन्दै लिमिटेडले १५ दिनदेखि उत्पादन बन्द गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन बुधबार मात्रै गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिएका थिए ।

मूल्यवृद्धिका लागि अभाव सिर्जना गरिए पनि सरकार संवेदनशील हुन नसकेको आरोप लागिरहेको छ । ‘प्रधानमन्त्रीज्यूले औषधिको उत्पादन क्षमता बढाउन पनि निर्देशन दिनुभएको छ,’ गृहमन्त्री खाँणले भने, ‘हामीले नेपाल औषधि लिमिटेड र निजी उत्पादक कम्पनीलाई औषधि उत्पादन बढाउन भनिसकेका छौं ।’ प्रधानमन्त्रीको निर्देशनपछि मुख्यसचिव बैरागीले स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन र आपूर्ति तीव्र पार्न निर्देशन दिएका थिए ।

लगत्तै औषधि व्यवस्था विभाग, औषधि लिमिटेड, औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, पैठारीकर्तासहित भएको छलफलमा दुई कम्पनीले बिहीबारबाटै बजारमा औषधि पठाउने प्रतिबद्धता जनाएका हुन् । यी दुईबाहेक अन्यले पनि आवश्यकता र क्षमताअनुसार उत्पादन गरेर बजारमा पठाउने प्रतिबद्धता जनाएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।

‘कच्चा पदार्थको उपलब्धताअनुसार सबै क्षेत्रले उत्पादन बढाउने, पैठारीकर्ताले ल्याएर बिक्री गर्ने, आ–आफ्नो क्षेत्रमा सबैले पहल गरी समग्र आपूर्ति व्यवस्थालाई सहज बनाउने सहमति भएको छ,’ महानिर्देशक ढकालले भने, ‘उत्पादक संघले सबैलाई उत्पादन बढाउन आह्वान गरेको छ । व्यावसायिक संघले वितरण व्यवस्थापन मिलाउने प्रतिबद्धता जनाएका छन् । सम्भवतः शुक्रबारसम्म सिटामोलको आपूर्तिमा देखिएको समस्या समाधान हुन्छ ।’

ढकालका अनुसार नेपाल औषधि लिमिटेडले सिटामोल बिहीबारदेखि बजारमा पठाउनेछ । लिमिटेडले शुक्रबारसम्म ६ लाख ट्याब्लेट पठाउने उनले बताए । कोभिड–१९ संक्रमण तीव्र भएका बेला बजारमा सिटामोलको चरम अभाव छ । सिटामोल अभावकै कारण कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरमा धेरै बिरामीले सास्ती भोग्नुपरेको थियो । मूल्यवृद्धिका लागि विगतदेखि नै लगातार अभाव सिर्जना गरिए पनि सरकार संवेदनशील नहुँदा समस्या झन् चर्किएको छ ।

कान्तिपुरमा बुधबार ‘सर्वसाधारणले किन्ने सिटामोल बजारमै छैन’ शीर्षकमा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री देउवाले चासो दिएका थिए । स्वकीय सचिवालयमा कार्यरत एक कर्मचारीका अनुसार प्रधानमन्त्रीले मुख्यसचिव बैरागीलाई ‘सिटामोलसमेत नपाउने अवस्था कसरी आयो ?’ भन्दै सोधेका थिए । ‘उहाँले कुनै पनि बहानाबाजी नगरी तत्काल औषधि उत्पादन र आपूर्ति सहज गर्न निर्देशन दिनुभयो,’ ती कर्मचारीले भने, ‘कोभिड संक्रमण तीव्र भएको बेला सिटामोलसमेत अभाव हुने अवस्था आउनु विडम्बना भएको प्रधानमन्त्रीले बताउनुभयो ।’

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सिटामोल लगायत औषधि अभाव हटाउन प्रक्रिया सुरु गरिसकिएको बताए । उनका अनुसार सिटामोल अभाव हुनुमा मूल्य समायोजन, कालोबजारी र औषधि व्यवस्था विभागमा राजनीतिक हस्तक्षेपका कारण सिटामोल अभाव भएको हो ।

औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद साइफुल्लाले भने करिब ४/५ दिनयता सिटामोलको माग ह्वात्तै बढेर अभाव भएको बताए । ‘कोभिड बिरामी बढ्न थाले, सर्वसाधारणले सञ्चित पनि गरिरहेका छन्,’ उनले भने, ‘केहीले कालोबजारी पनि गरेका छन् । जसले गर्दा बजारमा समस्या देखिएको छ ।’ लिमिटेडको सिटामोल बिहीबारदेखि बजारमा उपलब्ध हुने हुँदा अब विस्तारै सहज हुने बताए । महाप्रबन्धक मोहम्मदका अनुसार लिमिटेड घाटामा गएपछि करिब १५ दिनदेखि सिटामोल उत्पादन बन्द थियो । लिमिटेडको घाटा पूर्ति गर्न बोर्डले अर्थ मन्त्रालयसँग १ करोड ६ लाख माग गरेको थियो ।

अर्थबाट स्रोत सुनिश्चित नभएपछि औषधि लिमिटेड पर्ख र हेरको अवस्थामा थियो । अहिले बजारमा चरम अभाव देखिएपछि पुनः उत्पादन सुरु गर्न लागेको लिमिटेडले जनाएको छ ।

‘लिमिटेड घाटामा गएपछि उत्पादन गर्न सकेनौं, घाटा पूर्ति गरिदिन भन्दै ३ महिनाअघि अर्थसँग बजेट मागे पनि निकासा भएन, त्यही भएर सिटामोल उत्पादन भएन,’ उनले भने, ‘बजारमा अभाव देखिएपछि पुनः रिस्क लिएर उत्पादन सुरु गरेका छौं ।’ सिटामोल बजारमा प्रतिट्याब्लेट १ रुपैयाँ पर्छ ।

लिमिटेडले सरकारलाई ७४ पैसामा दिन्छ । सरकारले सर्वसाधारणलाई ‘फ्रि’ मा दिन्छ । ‘उत्पादन लागतभन्दा धेरै सस्तोमा सरकारलाई दिएका छौं । ६ महिनामा ६८ लाख ट्याब्लेट उपलब्ध गराएका थियौं, उक्त ट्याब्लेटमा करिब १ करोड १० लाख घाटा छ,’ उनले भने, ‘घाटा चुलिएपछि १५ दिनदेखि उत्पादन गर्न सकेनौं । अस्पतालहरूलाई दिन सकेनौं ।’

महाप्रबन्धक साइफुल्लाका अनुसार औषधि लिमिटेडसँग करिब १० ब्याचका लागि कच्चा पदार्थ मौज्दात छ । एक ब्याचमा ३ लाख २० हजार ट्याब्लेट उत्पादन हुन्छ । जसअनुसार १०/१२ दिनमा ३० लाख ट्याब्लेट सिटामोल उत्पादन गर्न सकिने उनले बताए । ‘घाटा भए पनि बजारको माग र सर्वसाधारणका लागि उत्पादन सुरु भइसक्यो । ड्राइङ गर्न करिब ६ देखि ८ घण्टा लाग्छ, प्याकेजिङ, लेबलिङ गरेर बिहीबारदेखि बजारमा पठाउन सुरु गर्छौं,’ उनले भने, ‘अब आत्तिनुपर्दैन, बजारमा सिटामोल पाइन्छ ।’

उनका अनुसार बुधबार भएको छलफलमा नेसनल हेल्थ फर्माले एक महिनामा १० लाख ट्याब्लेट दिने बताएको थियो । सिटामोल अभाव भएपछि विभागले बुधबार विज्ञप्ति जारी गरेर औषधि उत्पादकहरूलाई मौज्दातमा रहेको कच्चा पदार्थ र थप परिमाण व्यवस्था गरी उत्पादन तथा यथोचित बिक्री वितरण गर्न आग्रह गरेको छ । पैठारीकर्ताहरूले पैठारी सिफारिसपत्रअनुसार नियमित रूपमा आयात गरी आपूर्ति, वितरण तथा सहज उपलब्धता सुनिश्चित गर्न आग्रह गरेको छ ।

सिटामोल लुकाउने औषधि पसललाई १० हजार जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सिटामोल लुकाउने गोसाइँकुण्ड स्वास्थ्य सेवालाई १० हजार जरिवाना गरेको छ । विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलका अनुसार सातदोबाटोमा रहेको उक्त स्वास्थ्य सेवाले सर्वसाधारणलाई सिटामोल नभएको बताएका थिए ।

विभागको अनुगमन टोलीलाई पनि सिटामोल नभएको बताएका सञ्चालकले अनुगमन गर्दा लुकाएको अवस्थामा फेला परेको थियो । ‘बाहिर सबैलाई छैन भन्ने गरेको देखियो तर भित्र लुकाएर राखेको फेला पर्‍यो,’ उनले भने, ‘सानो पसल भएकाले १० हजार मात्रै जरिवाना गर्‍यौं ।’ यस्तै, सातदोबाटोमै रहेको दीपज्योति औषधि पसललाई पनि ५ हजार रुपैयाँ जरिवाना गरेको उनले बताए । दीपज्योतिलाई अनुगमनमा असहयोग गरेको कसुरमा जरिवाना गरिएको उनले जानकारी दिए ।

प्रकाशित : माघ ६, २०७८ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?