स्वास्थ्य मापदण्डको खिल्ली- समाचार - कान्तिपुर समाचार

स्वास्थ्य मापदण्डको खिल्ली

सन्जु पौडेल

लुुम्बिनी — रूपन्देहीको मायादेवी–६ स्थित एक सहकारीको साधारणसभामा मंगलबार लुम्बिनी प्रदेश सरकारका दुई मन्त्री अतिथि थिए । प्रमुख अतिथिका रूपमा भौतिक योजना तथा पूर्वाधारमन्त्री सहसराम यादव र विशिष्ट अतिथि अर्थ तथा सहकारी राज्यमन्त्री सुष्मा यादव सहभागी भए ।

सयौं सेयर सदस्य उपस्थित कार्यक्रममा राज्यमन्त्री यादवले मास्क लगाएकी थिइनन् । मञ्चमा बसेका केहीले चिउँडोमुनि मास्क पुर्‍याएका थिए ।

लामो समय कार्यक्रममा बसेकी मन्त्री यादवले श्वासप्रश्वासमा समस्या हुने भएकाले लगातार मास्क लगाउन नसकेको बताइन् । ‘एक पटक संक्रमण भइसकेको हो,’ उनले भनिन्, ‘कोरोना भएपछि मास्क लगाउँदा गुम्सिएको महसुस हुन्छ, गाह्रो हुने भएकाले लगाइरहन सक्दिनँ ।’

तिलोत्तमा–६ का सागर बस्यालले कोरोनाविरुद्धको खोप लगाउने लाइनमा धेरैबेर पर्खिनुपर्‍यो । त्यहाँ उभिउन्जेल मानिसको ठेलमठेलमा उनी पनि परे । ‘जुन रोगको डर हो, त्यसकै खोप लगाउन जाँदा पनि सामाजिक दूरी थिएन,’ उनले भने, ‘रोगबाट बच्न होइन, रोग फैलाउन खोप लगाएझैं भयो ।’ मानिस धेरै हतारिँदा स्वास्थ्य मापदण्ड अपनाउनै भुलेको उनले बताए ।

जिल्ला प्रशासनमै राष्ट्रिय परिचयपत्र बनाउन दिनहुँ भीड हुन्थ्यो । केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रशासनले बुधबारबाट अत्यावश्यकबाहेक सेवा बन्द गरेको छ । निर्वाचन कार्यालयमा मतदाता नामावलीमा दर्ता हुनेको उस्तै भीड देखिन्छ । अहिले स्वास्थ्य चौकी, सरकारी कार्यालय, स्थानीय तह, रेस्टुराँ, बजार, बसपार्क जहाँतहीं भीडभाड उत्तिकै छ । कोरोना संक्रमण दर बढेसँगै सरकारले गरेको स्वास्थ्यसम्बन्धी निर्देशनलाई स्थानीय प्रशासन, कोभिड व्यवस्थापन समिति र पालिका कसैले पनि गम्भीरताका साथ लिएको देखिँदैन । लुम्बिनी सांस्कृतिक नगरपालिकामा कोरोनाका बिरामी देखा पर्न थालेका छन् ।

पालिकामा संक्रमित संख्या पहिलेको तुलनामा थोरै भएकाले गाउँगाउँ परीक्षण सुरु नगरिएको नगर प्रमुख मनमोहन चौधरीले बताए । मायादेवी गाउँपालिका अध्यक्षसहित केही कर्मचारीमा संक्रमण देखिएकाले उनीहरू कार्यालयमा उपस्थित हुन सकेका छैनन् । बाँकेस्थित जानकी गाउँपालिकामा कोरोना संक्रमित फाट्टफुट्ट देखिन थाले पनि स्थानीय तहले कुनै खालका जाँच गर्न नपाएको कार्यवाहक अध्यक्ष भूमिसरा धितालको भनाइ छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा पनि नाका हुँदै आएका केही संक्रमित छन् । तर, पालिकाले परीक्षण गर्नुपर्ने अभियान थालनी नै नगरेको अध्यक्ष गोपालबहादुर थापा मगरले बताए । ‘कोरोना सेलाइसक्यो भन्ने पनि छैन,’ उनले भने, ‘त्यतातर्फ ध्यान दिई के–के गर्नुपर्ने हो, त्यसमा काम गर्नेछौं ।’

प्रकाशित : माघ ६, २०७८ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्

मासिँदै पानीचराको खेल्ने बस्ने ठाउँ

तथ्यांकमा प्रजाति बढेको देखिए पनि बाँध र फुट ट्य्राक बनाउने नाममा कंक्रिटले सीमसार क्षेत्र मासिँदा चराको संख्या घट्दो 
दीपक परियार

पोखरा — पोहोरसम्म मैदी तालमा बस्ने गरुण यसपालिको हिउँदमा देखिएन । प्राकृतिक तालमा यस वर्ष कंक्रिट बाँध बनाएपछि पानीको सतह बढ्यो । घाँससहितको दलदल पानीले छोपियो । सिमसार मासिएपछि पानीमा आश्रीत जलपन्छी अन्तै सरे । पानी चरा ताल, खोला किनारको ढापमा, ढापकै घाँसमा लुक्ने गर्छ ।

तर यहाँका तालमा कतै वरिपरि फुट ट्र्याक बनाउँदा त कतै बाँधले पानीको सतह बढाएर सीमसार मासिँदा रामसार सूचीमा सूचीकृत पोखराका ९ तालमा बर्सेनि आगन्तुक तथा रैथाने पानी चराको संख्या घट्दै गएको छ । पाँच वर्षको तथ्यांक हेर्दा पानी चराको संख्या घटेको देखिएको हो ।

प्रजातिमा धेरै हेरफेर नभए पनि संख्या भने घट्दै गएको छ । सन् २०१८ मा ३ हजार ७ सय ५२ पानी चरा भेटिएका थिए । सन् २०१९ मा २ हजार ९ सय १९, सन् २०२० मा २ हजार ८ सय ६१, सन् २०२१ मा ३ हजार ८५ पानी चरा गणना भएकोमा यस वर्ष भएको गणनामा ४४ प्रजातिका ३ हजार ८ को संख्यामा पानी चरा भेटिए । एसीयाली जलपन्छी गणनाअन्तर्गत सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । पोखरामा विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दीपाङ, मैदी, बेगनास, रुपा र फेवा तालमा हिउँदे आगन्तुक तथा रैथाने पानी चराको गणना गरिन्छ । हालसम्म गरिएको गणनामा सन् २०२१ को हिउँदमा पोखरा उपत्यकामा सबैभन्दा धेरै ४६ प्रजातिका पानी चराको अभिलेख गरिएको छ । प्रजाति बढे पनि संख्या भने घट्दो छ । वर्षैभरि गरिने अध्ययनमा १ सय २ प्रजातिका पानी चरा देखिएका छन् ।

साइबेरिया, मंगोलिया, तिब्बतलगायत स्थानमा बाक्लो हिमपात भए पछि खानाको अभावमा फिरन्ते चरा दक्षिणतर्फ आउने क्रममा कालीगण्डकी नदी हुँदै पोखरा भित्रिन्छन् । पोखराका सिमसारमा झन्डै ३ महिना यी चराले डेरा जमाउँछन् । पोखरामा चरा गणना सुरु गरेको टाइगर माउन्टेन लजका प्रकृतिविद् झलक चौधरीले विगत वर्षदेखि यहाँका सीमसारमा धावा बोल्दा संख्या घट्दै गएको उनको ठम्याइ छ । उनका अनुसार पछिल्लो ४ वर्षयता सिलसिले हाँसले सिमसारमा अण्डा पारेर बच्चा कोरलेको भेटिएको छैन ।

पहिला १ हजार २ सयसम्मको संख्यामा देखिने यो रैथाने पानी चरा अहिले २ सय ५० मा घटेको छ । बर्खामा गर्मी छल्न भारतीय उपमहाद्वीपको तल्लो भूभागबाट पोखरा आउने जलकुखुरा नभेटिएको ६ वर्ष भयो । सन् २०१२ सम्म हिउँदे आगन्तुक चराको रूपमा आएर त्यसपछि यतैका रैथाने भएको कुर्मा पनि ५ सयबाट घटेर एक सयको हाराहारीमा पुगेका छन् । फेवा सीमसारमा बच्चा कोरल्ने आगन्तुक मरुल बगाले सिमकुखुरा आजकाल निकै कम छन् । रैथाने सिमकुखुराको संख्या पनि घटेको छ । हिउँदमा आउने स्वर्णनयन हाँस ६ वर्षपछि गत वर्ष देखिएको थियो । ६–७ सयको संख्यामा आउने हिउँदे आगन्तुक कालीजुरे हाँस अहिले एक सयको संख्यामा पनि देखिँदैनन् । दुर्लभ कइलो टाउँके हाँस पहिला २०–२५ वटा देखिनेमा अहिले १–२ वटा भेटिन्छन् ।

दीपाङ ताल छेउका खेतमा स्थानीयले बाहिरबाट माटो ल्याएर २ फिटसम्म पुरेका छन् । प्लटिङ गरेर घडेरी बनाएका छन् । पोखराका ९ तालका सीमसार पनि दिपाङमा जस्तै खुम्चिँदै छन् । पोखराका फेवा, बेगनास, रुपा, दिपाङ, खास्टे, न्युरेनी, गुँदे, मैदी र कमलपोखरी ०७२ को माघमा विश्व सीमसार दिवस (फेब्रुअरी २) मा रामसार सूचीमा सूचीकृत भएका हुन् । यिनै तालमा रामसार सन्धिको मर्मविपरीत कार्य भइरहेका छन् । सीमसार तथा पन्छीको संरक्षित प्राकृतिक सम्पदा क्षेत्र प्राकृतिक तथा मानवीय कारणले संकटमा छन् ।

फेवा सिमसारमा देखिने कर्‍याङकुरुङ, डुबुल्की चरा, लामाऔंलेलगायत पानीचरा निकै कम मात्रामा छन् । फेवाको मुहान हर्पन खोला, अँधेरी खोला, बेतिनी खोलाले बगाएर ल्याउने गेग्रानले ताल र सीमसार दुवैलाई असर पुर्‍याएको छ । यी खोलामा सिल्टेसन चेक ड्याम बने पनि ठूला बाढी आउँदा ढुंगा माटो बगेर आउने समस्या हटेको छैन । पोखरा–२६ मा रहेको खास्टे तालमा २०७२ सम्म पानीको सतह न्यून थियो । जलीय वनस्पति, जलचरलगायत जैविक विविधताले भरिपूर्ण थियो । ताल कमलको फूल र सिमलकाँडेले ढाकिने गरेको स्थानीय चूडामणि लामिछानेलाई सम्झना छ । राष्ट्रिय ताल विकास बोर्ड गठनपछि ताल संरक्षणका नाममा सिमसार मास्ने काम सुरु भयो ।

०७१ मा खास्टे न्युरेनी ताल संरक्षण विकास समिति गठन भयो । त्यति बेलादेखि आँठो बाध्न थालियो । सीमसार खनेर निकालिएको र अन्तैबाट ल्याएको माटोले वरिपरि ढिस्को उठाएर पानी थुनियो । सीमसार पानीले भरियो । ०७३ माघमा खाष्टे न्युरेनी ताल मत्स्य तथा कृषि उत्पादन सहकारी संस्था गठन भयो । सहकारीले तालमा व्यावसायिक माछापालन थाल्यो । मिचाहा माछाको रूपमा चिनिने टिलापियासँगै ब्रिगेट, ग्रास कार्प, कमन कार्प, रहु, नैनीलगायत माछा सहकारीले पाल्यो । यी माछा पानीमा पाइने घाँस, कीराफट्यांग्रा, लेउ, हिलो खाएर हुर्किन्छन् । माछापालनपछि जलीय वनस्पति मासिए । ताल संग्लिँदै गयो, सिमसार घट्दै गयो । त्यति मात्रै होइन, तालकै छेउमा संरक्षण समितिले वनभोज स्थल बनाएको छ । गहिराइ निकै कम भएको तालमा समेत पर्यटकका लागि डुंगा चलाउन थालिएको छ ।

३ सय ८० रोपनीमा फैलिएको खास्टेको छेवैमा छ, न्युरेनी ताल । संरक्षण समितिले जैविक विविधता संरक्षणका लागि न्युरेनी ताल छोडेको बताउँदै आएको छ । पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे ताल भन्नेबित्तिकै माछा पाल्नैपर्ने, डुंगा चलाउनैपर्ने, बाटो खनेर घेर्नैपर्ने मानसिकताका कारण सिमसार संकटमा परेको बताउँछन् । ‘सौन्दर्यीकरण गर्ने नाममा तालमा हुने वनस्पति अनावश्यक रूपमा झिकिन्छन्,’ उनले भने, ‘पहिले चरा देखिने ठाउँमा अहिले देखिँदैनन् ।’ तालका सिमसार संकुचित हुँदै गएकोले जोगाउन स्थानीय नै पहिले सचेत हुनुपर्ने उनी थप्छन् ।

दिपाङ र खास्टेमा अण्डाबाट बच्चा कोरल्ने पानी चराको संख्या शून्य छ । खाष्टेमा पाइने रैथाने हरि हाँस घट्दो छ । रूपाताल परियोजनाअन्तर्गत ताल थुन्न बाँध बनाइरहेको छ । बाँध पूर्ण रूपमा बनिसक्दा पानीको सतह बढेर सीमसार पुरिने प्रकृतिविद् झलक चौधरी बताउँछन् । सौन्दर्यीकरणका नाममा सीमसार मास्दा जलीय पारिस्थितिकीय प्रणालीमै असर परेको उनले बताए । ‘तालमा डुंगा चलाएरै, माछा पालेरै पैसा कमाउनुपर्छ भन्ने मानसिकता छ,’ उनी भन्छन्, ‘सीमसारमा हुने चरा अवलोकनलगायत अन्य पर्यापर्यटनबाट पनि स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउन सकिन्छ ।’

सीमसारमा प्लटिङ गर्न, वरिपरि सडक खन्न रोक लगाउने, उपल्लो तटीय क्षेत्रको खेतबारीमा रासायनिक मल र किटनाशक औषधि प्रयोगमा निषेध गर्नेलगायत कार्य स्थानीय तहले गर्नुपर्ने उनको सुझाव छ । ‘बर्सेनि नेपाल आउने पर्यटकमध्ये १० प्रतिशत चरा अवलोकनका लागि आउने गरेको तथ्यांक छ,’ उनले भने, ‘विकास र संरक्षणलाई सँगसँगै लैजानुपर्छ । त्यसका लागि चराको बासस्थान नमासिने गरी सीमसार ब्लक बनाउन सकिन्छ ।’

प्रकाशित : माघ ६, २०७८ १२:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×