३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बालबालिकामा पनि बढ्दै संक्रमण

संक्रमित बालबालिकाको संख्या उच्च रहे पनि उनीहरूको स्वास्थ्यमा धेरै जटिलता भने छैन ।
अतुल मिश्र

काठमाडौँ — कोभिडको तेस्रो लहर सुरु भएसँगै बालबालिकामा अत्यधिक मात्रामा संक्रमण देखिन थालेको छ । खोपको दायराभन्दा बााहिर रहेका १२ वर्षमुनिका बालबालिकामा संक्रमणको जोखिम बढी देखिएको छ ।

बालबालिकामा पनि बढ्दै संक्रमण

संक्रमित बालबालिकाको संख्या उच्च रहे पनि उनीहरूको स्वास्थ्यमा धेरै जटिलता भने छैन । तर, दोस्रो लहरका बेला जस्तै कोभिडबाट निको भइसकेका धेरै बालबालिकामा एक–डेढ महिनापछि ‘पोस्ट कोभिड सिन्ड्रोम’ लक्षण देखिन सक्ने विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार विशेष गरी १२ वर्षमुनिका बालबालिकामा त्यस्तो जोखिम बढी देखिन्छ । किनकि यो उमेर समूहले खोपसमेत लगाएको छैन ।

सरकारले करिब दुई महिनाअघि मात्र १२ देखि १७ वर्ष उमेर समूहलाई फाइजर खोप दिइएको छ । चिकित्सकहरूका १२ वर्षमुनिका धेरैजसोमा अत्यधिक जीउ दुखाइ, ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस गर्ने, कसै–कसैमा टाउको दुखाइ, हल्का बान्ता हुने र पखालालगायतका लक्षण देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बाल रोग विभाग प्रमुख डा. प्रकाश पौडेलले बालबालिकामा संक्रमण अत्यधिक देखिएको र ज्यानै जोखिममा नपरे पनि उनीहरूलाई शारीरिक पीडा भएको बताए । पौडेलका अनुसार प्रतिष्ठानको बहिरंग विभागमा आउने लक्षण भएका ११ वर्षमुनिका बालबालिकाको परीक्षण गर्दा करिब ८० प्रतिशतभन्दा बढीमा कोभिड देखिएको छ । परीक्षणको दायरा बढाउने हो भने संक्रमण पाँच गुणा बढी देखिने उनी बताउँछन् ।

परिवारमा वयस्क सदस्य संक्रमित भएको अवस्थामा बालबालिकालाई बेग्लै राख्न सम्भव नहुने हुँदा वास्तविक संक्रमित निकै धेरै हुन सक्ने डा. पौडेलको भनाइ छ । बालबालिकाले आफ्नो समस्या प्रस्टसँग भन्न नसक्ने हुँदा स्वास्थ्यमा जटिलता देखिने जोखिम अत्यधिक रहन्छ । अघिल्ला लहरमा जस्तो यस पटक गम्भीर समस्या विरलै देखिएकाले पनि परीक्षण कम भइरहेको हुन सक्ने डा. पौडेलको आकलन छ । ‘हामीले भने पनि परीक्षण धेरैजसोले गराउँदैनन्, यसपालि निमोनिया जस्तो धेरै गम्भीर अवस्था नदेखिएकाले परीक्षण नगराएका हुन् कि ?’ उनले भने ।

मुलुकको एक मात्र केन्द्रीयस्तरको कान्ति बाल अस्पतालमा समेत डेढ सातादेखि कोभिड जस्तो लक्षण लिएर आउने बालबालिकाको संख्यामा वृद्घि भएको छ । हाल कोभिड संक्रमित १२ बालबालिकाको उपचार भइरहेको कान्तिका निर्देशक डा. अजित रायमाझीले बताए । ‘तेस्रो लहरमा हालसम्म एक जना पनि भेन्टिलेटरमा छैनन् तर पछिल्लो दिनमा कोभिड संक्रमित बालबालिकाको संख्यामा वृद्धि भएको छ,’ उनले भने ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका मेडिसिन विभाग प्रमुख डा. शेरबहादुर कमर दोस्रो लहरको दाँजोमा अहिले बालबालिकामा पनि संक्रमण बढेको बताउँछन् । ‘लक्षण देखिएका बालबालिकाको परीक्षण गर्दा धेरैमा संक्रमण देखिएको छ,’ उनले भने । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनका अनुसार कोभिडले १२ वर्षमुनिका बालबालिकामा हनहन्ती ज्वरो आउने, जीउ र घाँटी दुख्ने, पखालालगायतका लक्षण देखिएको छ । ‘१२ वर्षमुनिका बालबालिकाले खोप नपाएकाले अलि बढी पीडादायक संक्रमण देखिएको हो,’ उनले भने ।

कोभिडको लक्षण लिएर पुग्ने बिरामीको संख्या बढे पनि गम्भीर अवस्थाका नरहेको कान्ति बाल अस्पतालका डा. रामहरि चापागाईंले बताए । ‘भर्ना हुनेहरूमा दोस्रो लहर जस्तो श्वासप्रश्वासमा समस्या हुने, निमोनिया देखिने, अक्सिजन दिनुपर्ने, भेन्टिलेटरमा राख्नुपर्ने अवस्था धेरैमा छैन,’ उनले भने । तर, उनी संक्रमितको संख्याभन्दा पनि दोस्रो लहरमा जस्तै पोस्ट कोभिड सिन्ड्रोम देखिने हो कि भनेर बढी सचेत रहनुपर्ने बताउँछन् ।

प्रकाशित : माघ ६, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?