मुसामा कोरोना अध्ययन : कहाँ पुग्यो नेपाली वैज्ञानिकहरूको अनुसन्धान ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुसामा कोरोना अध्ययन : कहाँ पुग्यो नेपाली वैज्ञानिकहरूको अनुसन्धान ?

गोविन्द पोखरेल

काठमाडौँ — कोरोना संक्रमितको उपचारमा जडिबुटीको प्रभावकारिताबारे नेपाली अनुसन्धानकर्ताहरूले सुरु गरेको अनुसन्धानको पहिलो चरण सकिन लागेको छ ।त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायनशास्त्र विभागका प्रमुख प्रा.डा. रामचन्द्र बस्न्यातको नेतृत्वमा भइरहेको उक्त अनुसन्धानको कम्प्युटेसनल केमेस्ट्री (मोलिक्युलर डकिङ र सिमुलेसन)को काम अन्तिम चरणमा पुगेको छ । 

कोरोना संक्रिमितले प्रयोग गर्ने जडिबुटीहरुमा भेटिएका १३६ वटा यौगिक(मोलिक्युल्स)हरूको मात्रै कम्प्युटर केमेस्ट्रीको आधारमा अनुसन्धान गर्ने भनिएपछि अनुसन्धानकर्ताहरुले यौगिकको संख्या ५ सय पुर्‍याएका थिए ।

विभागका प्राध्यापक एवं अनुसन्धानकर्ता डा. निरञ्जन पराजुलीले,‘हामीले १३६ वटा मोलिक्युल्सहरुमा मात्रै परीक्षण गर्ने भनेका थियौं । तर अनुसन्धान गर्दै जाँदा संख्या ५ सय पुग्यो ।’

१३६ वटा प्रयोगबाट वनस्पतिहरुबाट पहिचान भए पनि अन्य यौगिकहरु रिर्पोटका आधारमा छानिएको थियो । ‘हामीले यी ५ सय यौगिकलाई सम्भावित औषधि हुन सक्ने भनेर अनुमान गर्‍यौं’, प्रा.डा. पराजुलीले भने,‘त्यहाँबाट २६ वटा मोलिक्युल्सहरु पहिचान भएका छन् ।’

यी पहिचान भएका यौगिकहरु केही बजारमा किन्न पाउने र नपाउने प्रकारका छन् । यी मोलिक्युल्सहरुबाट एन्टिबडी बनिने प्रा.डा. बस्न्यातले बताए । प्रविधिको सहयोगमा भाइरसको स्पाइक प्रोटिनले बाइन्ड गर्ने/नगर्ने बारेमा परीक्षण समेत हुनेछ । ‘स्पाइक प्रोटिनमा आएको म्युटेसनका कारण धेरै प्रकारका भेरिएन्टहरू बनेपछि हामीले स्पाइक प्रोटिन किनेका छौं,’ प्रा.डा. पराजुलीले भने, ‘त्यही भएर हामीले स्पाइक प्रोटिन किनेका छौं । स्पाइक प्रोटिनमा भएको मोलिक्युल्स बाइन्ड गर्छ कि गर्दैन भनेर वेट ल्याबमा परीक्षण हुन्छ ।’

पहिचान भएका २६ वटा रसायनहरूलाई ‘इलाजा’ परीक्षण गरिनेछ । त्यसपछि कोरोनाको स्पाइक प्रोटिनमा गएर बाइन्ड(टाँसिने प्रक्रिया) गर्छन् कि गर्दैनन् भनेर वेट ल्याबमा परीक्षण हुनेछ । त्यसपछि पुष्टि भएकाहरुबाट एन्टिबडी बनाउनका लागि मुसामा परीक्षण गरिन्छ ।

मुसा ल्याउन समस्या

परीक्षण गर्न लागिएको मुसा बाल्बबी/सी प्रकारको हो । नेपालमा पाइने स्विस एल्बिनोमा एन्डिबडी बनाउन नसकिने प्रा.डा. पराजुलीले बताए । बाल्बबी/सी मुसालाई सिंगापुर र भारतबाट ल्याउनुपर्ने उनले बताए । यसका लागि यी मुसाहरुलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्थाका कारण ढिलाइ भएको उनले बताए । आफूहरूले यस विषयमा सम्बन्धित निकाय र सप्लायर्सलाई जानकारी गराइसकेको पराजुलीले जानकारी दिए ।

पहिला कोभिड नबनाएको मुसाबाट एन्टिबडी बनाउछौं । त्यो एन्टिबडीचाहिँ कोभिड गराएको मुसामा काम गर्छ कि गर्दैन भनेर परीक्षण हुनेछ । अनुसन्धानका क्रममा ६० देखि सयवटा मुसा प्रयोग हुने उनले बताए ।

वेट ल्याब तयार

कोभिड परीक्षणका लागि विश्वविद्यालय अनुदान आयोगको सहयोगमा रसायनशास्त्र विभागले अनुसन्धान गरेको हो । यो अनुसन्धान सम्पन्न गर्नका लागि चाहिने ३२ कोर कम्प्युटर, सफ्टवेयरहरु खरिद भएको छ ।

वेट ल्याब । तस्बिरः कविन अधिकारी/कान्तिपुर

वेट ल्याबमा बायो सेफ्टी क्याबिनेट निर्माण भएको छ । यस्तै, माइनस ८६ डिग्रीको डिपफ्रिज पनि राखिएको छ । डबल डोर भएको यो ल्याबमा अनुसन्धानका अन्य उपकरणहरु जस्तै, इन्भर्टेट माइक्रोस्कोपलगायत छन् । बीएसल-२ लेभलको यो ल्याबमा बायो सेफ्टी क्याबिनेट बनाइएको छ । सेल कल्चरका लागि चाहिने सीओटू इन्क्युबेटर पनि जडान गरिएको छ । एउटा ल्याबमा एन्टिबडी बनाउन आवश्यक पर्ने सबै उपकरणहरु राखिएको उनले बताए । ल्याब मात्रै बनाउन ५० लाख खर्च भएको रसायनशास्त्र विभागले जनाएको छ ।

वेट ल्याब विशिष्टिकृत किसिमको प्रयोगशाला हो जहाँ महत्त्वपूर्ण प्रकारका अनुसन्धानात्मक कार्यहरू हुन्छन् । यो ल्याब त्रिविका अन्य विभागहरुमा बिरलै रहेको प्रा.डा. पराजुलीको दाबी छ ।

पहाडी गुर्जोको प्रभावकारिताबारे अनुसन्धान जारी

हाल भइरहेको अनुसन्धानले पहाडमा पाइने गुज्रोको प्रजाति केही प्रभावकारी, तराईका कम र तनहुँमा पाइनेहरु अलिकति विषाक्त भएको भेटिएको छ । पहाडमा पाइने टाइनोस्पोरा कोर्डिफोलिया प्रजातिमा कोर्डिफोलोसाइड–ए र टाइनोसेनोसाइड–ए रसायन भेटिएको छ । यी रसायन कोरोनाको स्पाइक प्रोटिनमा बाइन्ड(टाँसिएको) भएको देखिएको थियो ।

कोरोना भाइरसको स्पाइक प्रोटिनमा गुर्जोमा पाइने कोर्डियोफोलियोसाइड-ए नामक मोलिक्युल्सको डकिङ । तस्बिरः कविन अधिकारी

यस्तै, तराईमा पाइने टिनोस्फेरा साइनेन्सिस प्रजातिको गुर्जो भने प्रभावकारी नदेखिएको प्रा.डा. पराजुलीले बताए । कम्प्युटर सिमुलेसन गर्दा यसमा पाइने रसायनहरु सार्स–कोभ–२को स्पाइक प्रोटिनमा नदेखिएको उनले बताए ।

तनहुँमा भेटिएको गुज्रोको क्रिस्पा प्रजातिमा रुमफियोसाइड रसायन भेटिएको छ । यो रसायन लेभल-२ क्याटेगोरीको विषाक्त रसायनभित्र पर्छ । अहिले अनुसन्धानको प्रारम्भिक नतिजाका आधारमा अध्ययन अगाडि बढाइएको र यो समीक्षाकै क्रममा रहेको प्रा.डा. पराजुलीले जानकारी दिए । कम्प्युटेसनल केमिस्ट्रीलाई आधार मानेर गरिएको अनुसन्धान भएकाले यसैलाई आधार मानेर मेडिकल ट्रायल नगर्न पनि उनीहरुले आग्रह गरेका छन् । विश्वमा ३२ र नेपालमा ३ प्रकारका गुर्जो पाइन्छन् । यस्तै,बेरी,चुत्रो,अंगुरमा पनि राम्रो अवस्था यी रसायनहरु भेटिएको छ ।

प्रकाशित : माघ ५, २०७८ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाका लक्षण देखिए ५ दिन क्वारेन्टाइन बसेरमात्र परीक्षण गराउनुहोस् : डा. पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोनाको लक्षण देखिनासाथ परीक्षणभन्दा पनि क्वारेन्टाइनमा बस्न सुझाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको कोरोना प्रेस ब्रिफिङमा बोल्दै ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कोरोनाका लक्षण देखिनासाथ ५ दिन क्वारेन्टाइन बसाईपश्चात् मात्र कोभिड परीक्षण गर्नुपर्ने बताए ।

उनले भने–‘ओमिक्रोन भेरिएन्ट अलि बढी संक्रामक छ । खोप लगाएका व्यक्तिमा पनि संक्रमण गराउन सक्छ । ५ दिन क्वारेन्टाइन नभए ७ दिनसम्म आइसोलेसनमा बस्नुपर्छ ।’

उनका अनुसार ज्वरो आउनु, नाक बन्द हुनु, रुघाखोकी लाग्नु, घाँटी दुख्नु कोभिडका लक्षण हुन सक्छन् । ‘अहिलेको संक्रमण हेर्दा अस्पताल भर्ना हुने डर कम देखिएको छ । जनस्वास्थ्यका मापदण्डको पालना तथा खुल्ला ठाउँमा बस्ने, हावा खेल्ने ठाउँमा बस्ने गर्नाले संक्रमण सर्ने जोखिम कम हुन्छ । केही जटिलता रहेमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुहोला,’ उनले भने ।

प्रकाशित : माघ ५, २०७८ १७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×