२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९
कोरोनाको अंक कथा

पहिलो र दोस्रो लहरभन्दा हाल संक्रमित हुने दर ६ गुणा बढी

स्वरूप आचार्य

काठमाडौँ — नेपालमा ओमिक्रोन भेरिएन्टका कारण कोरोना महामारीको तेस्रो लहर सुरु भइसकेको छ । पहिलो लहरको कारक चीनको वुहानमा भेटिएकै कोरोना भाइरस थियो भने दोस्रो लहरको कारक डेल्टा भेरिएन्ट थियो । हाल दक्षिण अफ्रिकाले पत्ता लगाएको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण विश्व नै फेरि एकपटक महामारीको चपेटामा परेको छ ।

पहिलो र दोस्रो लहरभन्दा हाल संक्रमित हुने दर ६ गुणा बढी

नेपालमा पनि ओमिक्रोन भेरिएन्ट निकै तीव्र गतिमा फैलिरहेको छ । जसका कारण दैनिक हजारौंको संख्यामा संक्रमितहरु थपिइरहेका छन् । प्रयोगशालमा गएर परीक्षण गराएकै कारण संक्रमण पुष्टि हुनेहरुको संख्या दिनानुदिन बढे पनि घरमै एन्टिजेन परीक्षण गरेर पोजिटिभ देखिएपछि आइसोलेसनमा बस्नेको संख्या पनि उल्लेख्य छ । जुन संख्या सरकारको तथ्यांकभन्दा बाहिर नै छ ।

कोरोना सुरु भएदेखि नै सरकारले सार्वजनिक गर्ने तथ्यांक चुस्तदुरुस्त नभएको भनेर व्यापक आलोचना भइरहेको छ । अहिलेको स्थिति पनि पहिलाको भन्दा धेरै फरक छैन । तर, यही तथ्यांकले पनि कोरोना संक्रमणको कुन स्थितिमा हामी छौं भन्ने धुमिल नै भए पनि तस्बिर भने दिन्छ ।

नेपालमा पहिलो लहर २०७७, साउन १२ गतेदेखि, दोस्रो लहर चैत ४ गतेदेखि र तेस्रो लहर २०७८ पुस १० गतेदेखि भएको मान्ने हो भने अहिले हामी तेस्रो लहरको २५ औं दिनमा छौं । पीसीआर परीक्षणमा संक्रमित भेटिएको संख्याको सात दिनको औसत जुन दिनदेखि कम नभएर बढेको दिनलाई लहरको पहिलो दिन मानेर तथ्यांक विश्लेषण गरिएको हो ।

पहिलो र दोस्रो लहर सुरु भएको २५ औं दिनमा कोरोना भाइरसको संक्रमण दोब्बर हुने दर करिब १० दिन थियो भने अहिले भने संक्रमण दोब्बर हुने दरमात्र ३–४ दिन रहेको छ । यो दर विगत ६ दिनदेखि यथावत छ । यसको अर्थ नेपालमा हरेक ३ दिनमा संक्रमित हुनेको संख्या दोब्बर भइरहेको छ ।

यस्तै पीसीआर परीक्षणका आधारमा संक्रमित हुनेहरुको ७ दिनको औसत पनि पहिलो र दोस्रो लहरको तुलनामा अहिले ५–६ गुणा बढी रहेको छ । पहिलो लहरको यसै समयमा संक्रमित देखिनेहरुको सात दिनको औसत केवल ५.६ प्रतिशत थियो भने दोस्रो लहरमा उक्त दर ६.१ प्रतिशत थियो । हाल उक्त दर बढेर ३५.४ प्रतिशत छ ।

पहिलो लहरमा १० लाख मानिस जनसंख्यामा कम्तीमा २३ जनामा संक्रमित देखिन्थ्यो भने दोस्रो लहरमा सोही संख्यामा १२ जनामा मात्रै संक्रमित देखिन्थ्यो । तर, हाल प्रति १० लाख जनसंख्यामा ३३८ जनामा संक्रमित भएको तथ्यांकले जनाउँछ । जुन पहिलो लहरको तुलनामा १५ र दोस्रो लहरको तुलनामा २८ गुणा धेरै हो ।

यस्तै पहिलो लहरमा १७ जनाको परीक्षण गर्दा एकजना संक्रमित फेला पर्ने गरेका थिए । उक्त संख्या दोस्रो लहरमा झरेर ११ पुग्यो । तर, अहिलेको तेस्रो लहरमा भने हरेक दुई परीक्षणमा एकजना संक्रमित फेला पर्न थालेको तथ्यांकमा देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैंले माघको तेस्रो साता संक्रमण उच्च विन्दुमा पुग्ने बताएको छ । जसमा करिब १९ हजार संक्रमित दैनिक भेटिने प्रक्षेपण गरिएको छ । तर, उक्त संख्यमा संक्रमित फेला पार्नका लागि परीक्षणको संख्यामा पनि बढोत्तरी हुन जरुरी हुन्छ । यो लहरमा सबैभन्दा बढी परीक्षण कुन दिन हुन्छ र कति संक्रमित भेटिन्छ भनेर हेर्न भने बाँकी नै छ ।

ओमिक्रोन भेरिएन्टबाट संक्रमित भएका १० जनाले अहिले करिब ३० जनालाई संक्रमित बनाइरहेको तथ्यांकबाट देखिन्छ । यो दर दोस्रो लहरको कारक डेल्टा फैलिँदा केवल २५ को हाराहारी थियो ।

यस्तै अहिले देशभर संक्रमणको अवस्था विश्लेषण गर्ने हो भने पीसीआर परीक्षणका आधारमा संक्रमित हुनेको ७ दिनको औसत दर प्रदेश १ मा ४५ प्रतिशत छ भने मधेस प्रदेशमा ५१ प्रतिशत छ । वाग्मती प्रदेशमा परीक्षणको संख्या पनि धेरै भएका कारण यो दर केवल ३४ प्रतिशत छ । यो दर गण्डकी प्रदेशमा ४४ प्रतिशत, लुम्बिनी प्रदेशमा ४५ प्रतिशत, कर्णाली प्रदेशमा ५१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रहेको छ ।

वाग्मती बाहेकका प्रदेशमा भने दैनिक परीक्षणको संख्या नै कुनै दिन बढी, कुनै दिन कम र कुनै दिन शून्य पनि देखिएका कारण संक्रमण दरमा धेरै नै उतारचढाव देखिन्छ ।

यस्तै, ओमिक्रोनले ल्याएको तेस्रो लहरमा हाल मृत्युदर भने निकै कम देखिएको छ । मृत्युदर अहिले केवल ०.२ प्रतिशत रहेको छ भने दोस्रो लहरमा यो दर ०.६ प्रतिशत थियो । पहिलो लहरको यही समयमा मृत्युदर दोस्रो र तेस्रो लहरभन्दा अलि बढी ०.७ प्रतिशत थियो । यसकाे मुख्य कारण अहिलेको लहरमा संक्रमितको संख्या धेरै ठूलो हुनु हो । ती लहरहरूमा भन्दा अहिले तीन गुणाभन्दा बढी संक्रमित भइसकेका छन् | तर, यो लहरमा मृत्युदर कम भए पनि, पहिलो, दोस्रो र तेस्रोमा दिनहुँ मृत्यु हुनेको औसत संख्या भने क्रमश ४, १, र २ रहेको छ | संक्रमितको संख्या मन्त्रालयले भनेबमोजिम बढ्यो भने दिनहुँ मृत्यु हुनेको संख्या पनि सोहीअनुरुप बढ्न सक्छ |

(यो विश्लेषण विज्ञान विषयका अध्येता दोर्जे गुरुङको सहयोगमा तयार पारिएको हो ।)

प्रकाशित : माघ ५, २०७८ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?