सर्वोच्च अदालतमा आजदेखि जरुरी मुद्दामा मात्र सुनुवाइ हुने- समाचार - कान्तिपुर समाचार

सर्वोच्च अदालतमा आजदेखि जरुरी मुद्दामा मात्र सुनुवाइ हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतमा भोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण आजदेखि अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । सर्वोच्चको मंगलबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले कोरोनाको बढ्दै गएपछि बुधबारदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय थियो ।

बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको मात्र नियमितरूपमा सुनुवाइ गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यही माघ १८ गतेसम्मका लागि सेवा कटौती गर्ने निर्णय भएको हो ।

सो अवधिमा मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमितरूपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिहरूको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ हुनेछ । त्यस्तै, थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र निर्णय सुनाउनेमा रहेको मुद्दाको सुनुवाइ गर्ने र सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने रहेको छ ।

उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणहरूको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्था तथा संक्रमित भएको अवस्थासमेतको मूल्यांकनका आधारमा काम कारबाही गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय भएको छ ।

प्रकाशित : माघ ५, २०७८ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्

हात्तीको त्रासले रातभर जाग्राम

पीडित भन्छन्– ‘राहत होइन, आक्रमणबाट सदाका लागि मुक्त गरियोस् ।’
हात्तीको परम्परागत मार्गमा बस्ती विस्तार हुँदै जानु र ओहोरदोहोरमा अवरोध हुँदा बस्तीमा आक्रमण
सन् २०१६ यता मात्रै हात्तीको आक्रमणबाट ८ जनाको मृत्यु, ५० भन्दा बढी घरटहरा क्षतविक्षत
भवानी भट्ट

कञ्चनपुर — गत साता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको एक झुन्डले भीमदत्त–१९ बागफाँटाका केही घर भत्काइदियो । त्यसयता बस्तीका सबैजसो अनिदो छन् । रातमा हात्ती आएर फेरि विध्वंश मच्चाउने हो कि भन्ने डरले रातभर जाग्राम बस्ने गरेको स्थानीय तारादेवी भाटले सुनाइन् ।

माघको कठ्यांग्रिँदो जाडो । बाक्लो हुस्सु र शीतलहर उस्तै छ । यस्तो अवस्थामा पनि बेला–बेला गस्तीकै शैलीमा स्थानीय खेतबारीतर्फ निस्कने गरेका छन् । ‘राति सुत्न पनि डर लाग्न थाल्यो, कुन दिन हात्ती आएर यही झुपडीभित्रै सोत्तर बनाएर जान्छ,’ भाटले भनिन्, ‘खेतीपाती त सधैं यस्तै हो, यस पटक घरभित्रको अन्नसमेत सबै सखाप पार्‍यो ।’

गत साता हात्तीको बथानले घर भत्काइदिएका पीडितमध्येकी एक हुन् तारादेवी । घर मात्रै होइन, उनको एक बिघा जमिनमा लगाएको गहुँ बाली पनि पूर्ण रूपमा नष्ट भएको छ । त्यसपछि भीमदत्त नगरपालिका र विभिन्न संघसंस्थाले तारादेवीलगायत पीडितलाई राहत पनि दिए । तर उनीहरूको माग राहतभन्दा पनि यो समस्या दिगो व्यवस्थापन हुनुपर्छ भन्ने छ । ‘हामीलाई राहतभन्दा पनि वन्यजन्तुको त्रासबाट मुक्त हुने व्यवस्था गरिदिनुपर्‍यो,’ तारादेवीले भनिन् ।

शुक्लाफाँटा निकुञ्जबाट बस्तीमा पसेर हात्तीको बथानले स्थानीयका घर भत्काउनेदेखि खेतीपाती नोक्सान गर्दै आएको छ । कतिपय अवस्थामा मानवीय क्षतिसमेत निम्तिने गरेको छ । हात्तीको आक्रमणबाट कात्तिक पहिलो साता शुक्लाफाँटा–१० मा २ जना र कात्तिक अन्तिम साता लालझाडी गाउँपालिका–६ मा १ जनाको मृत्यु भएको थियो । निकुञ्जसँगै जोडिएको वेदकोट नगरमा पनि हात्तीले दर्जनौं परिवारको धनमाल र खेतीपातीमा नोक्सान गर्दै आएको छ ।

बर्खायाममा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा आउने हात्तीको बथान केही महिना यहीं बस्ने गर्छन् । त्यस क्रममा बेलाबेलामा निकुञ्ज नजिकका बस्तीमा पस्ने र धनमालको क्षति गर्ने गर्छन् । शुक्लाफाँटा निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताका अनुसार यो वर्ष यहाँ हात्तीको बथान साबिकका वर्षको भन्दा लामो समय बसेको छ । दुधुवाबाट लालझाडी संरक्षित क्षेत्र हुँदै शुक्लाफाँटामा पसेर भारतकै पिलिभित टाइगर रिजर्भसम्म पुग्ने हात्तीको परम्परागत मार्ग हो । यो बथान बर्खा र हिउँदमा निरन्तर ओहोरदोहोर गरिराख्छ । यसपटक बर्खामा शुक्लाफाँटा आइपुगेको हात्तीको बथान हिउँदमा समेत यहीं देखिइरहेका छन् ।

‘यसपालि लामो समयसम्म हात्तीको बथान निकुञ्जमै देखिएको छ । त्यही भएर बस्तीमा बढी क्षति भइरहेको हो,’ मेहताले भने, ‘छावा पनि सँगै भएकाले अलि बढी आक्रामक देखिएका छन् ।’ हात्तीको परम्परागत मार्गमा बस्ती विस्तार हुँदै जानु र ओहोरदोहोरमा अवरोध हुँदा बस्तीमा आक्रमण गर्ने गरेको उनले बताए । उनका अनुसार सन् २०१६ यता मात्रै निकुञ्ज र सामुदायिक वन क्षेत्र नजिकका बस्तीमा हात्तीको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ । ५ सय बढी किसानको अन्न बालीमा क्षति पुर्‍याएको छ भने ५० भन्दा बढी घरटहरा हात्तीले भत्काएका छन् ।

शुक्लाफाँटामा रैथाने हात्तीको संख्या निकै कम छ । निकुञ्जको तथ्यांकअनुसार यहाँ हात्तीको संख्या २४ मात्रै छ । पछिल्लो पटक गरिएका विभिन्न अध्ययनले हात्तीको संख्या ४० जति पुगेको हुन सक्ने अनुमान गरिए पनि हाल आधिकारिक गणना भने भएको छैन ।

निकुञ्ज प्रशासनसँगै स्थानीय तहहरूले अन्य वन्यजन्तु र हात्तीलाई बस्तीमा आउन नदिन विद्युतीय तारबार लगाउनुका साथै कतिपय ठाउँमा कंक्रिट पर्खालसमेत बनाएका छन् । विद्युतीय तारबारले केही वर्ष हात्ती बस्तीमा नपसे पनि नियमित मर्मत तथा रेखदेखको अभावले तारबार जीर्ण हुँदा त्यसको प्रभावकारिता पनि कम हुँदै गएको छ । कंक्रिट पर्खाल निकै खर्चिलो भएकाले यो विधि पनि त्यति उपयुक्त नभएको संरक्षणकर्मीहरू बताउँछन् ।

‘वन क्षेत्रको किनारमा हात्तीलाई मन नपर्ने खेतीपाती लगाउनुपर्‍यो, उसको यात्रामा अवरोध हुनुभएन,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मी जोशीले भने, ‘हात्ती बस्तीमा पस्दा उसको बाटो छेकेर धपाउने गरिन्छ । उसलाई भाग्ने बाटोसमेत छाडिँदैन । त्यतिबेला हात्ती निकै आक्रामक हुने गर्छ ।’ मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणका लागि निकुञ्ज आसपासका बासिन्दालाई सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्नु आवश्यक रहेकोमा उनको जोड छ ।

प्रकाशित : माघ ५, २०७८ ११:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×