बाँध सार्न भारतको अझै आनाकानी

शिवपुरी

रौतहट — ईशनाथ नगरपालिका–१ बन्जाराहास्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले दशगजा मिचेर लगाएको बाँध सार्न अझै आनाकानी गरेको छ । स्थानीय प्रशासनले सार्न दबाब दिँदै आए पनि भारतीय पक्षले टारिरहेको हो । सीमा मिचेको प्रमाणित भएको डेढ वर्ष बितिसक्दा पनि हटाइएको छैन । यसअघिको सीमा सुरक्षा बैठकमा नेपाली अधिकारीले यही विषयमा कुरा उठाएका थिए ।

बाँध सार्न भारतको अझै आनाकानी

नेपाल भारत सीमाक्षेत्रको दशगजमा कुनै पनि गतिविधि र संरचना निर्माण गर्न नपाउने सहमतिविपरीत भारतले बन्जाराहामा झन्डै ७ मिटर दशगजा क्षेत्र मिचेर ड्याम बनाएको छ । उक्त ठाउँमा उसले आफ्नो नापी विभागको सर्भे टोली झिकाएको थियो । दशगजा मिचेको स्विकार्दै मौखिक रूपमा हटाउने आश्वासन मात्र दिए पनि अहिलेसम्म आलटाल गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही केही समयअघि स्थलगत अनुगमनमा पुगेका थिए ।

‘मिचेको सीमा सार्न निरन्तर ताकेता गर्दै आएका छौं,’ उनले भने, ‘भारतीय अधिकारीलाई अनुरोध गरेपछि हुन्छ मात्र भन्छन् तर सार्ने काम गर्दैनन् । अब हुने सीमा बैठकमा फेरि कुरा राख्छु ।’ भारतीय अधिकारीहरूले कोभिडका कारण बाँध हटाउन ढिला भएको भन्दै टार्ने गरेका छन् । ‘अब माथिल्लो निकायबाट कूटनीतिक पहल थालिएन भने मिचेको सीमा हटाउन सम्भव होलाजस्तो लागेन,’ प्रजिअ शाहीले भने ।

यसअघि भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको मुख्यालय मोतिहारीको राधाकृष्ण भवनमा भारतीय समकक्षीसितको समन्वय बैठकमा सीमा सार्ने विषयमा कुरा उठेको थियो । भारतको पूर्वी चम्पारणका प्रशासन प्रमुख (डीएम) शिरसत कपिल अशोक र सीतामाढी जिल्ला प्रमुख (डीएम) सुनिलकुमार यादवलाई समेत सीमा मिचेको र हटाउनुपर्ने भन्ने जानकारी छ ।

भारतको सिँचाइ विभाग, सर्भे विभाग मोतिहारी प्रशासनका प्रतिनिधि, सीमा सुरक्षा बलसहित रौतहटका प्रशासन प्रमुख, सुरक्षा अधिकारीको टोलीले डेढ वर्षअघि जीपीएस माध्यमबाट सर्भे गर्दा दशगजा मिचेको पाइएपछि नेपाली पक्षबाट रेखांकनका लागि पाइप गाडिएको थियो । पाइप गाडेको स्थानमा भारतले सीमा मिचेर एकपक्षीय रूपमा अग्लो ड्याम लगाएको छ ।

अन्तर्राष्ट्रिय सीमाको कुरा भएकाले केन्द्रीय सरकारबाट आदेश, निर्देशन नआएसम्म केही गर्न नसकिने भन्दै भारतीय अधिकारी पन्छिँदै आएका छन् । अन्तर्राष्ट्रिय सन्धिअनुसार नेपाल भारत सीमाक्षत्रेको दशगजाबाट ९.१ मिटर भूभाग खाली राख्नुपर्छ । तर भारतले उक्त क्षेत्र अतिक्रमण गरी एकतर्फी रूपमा माटो भर्ने काम गरेको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले समेत भारतीय समकक्षीलाई चाँडै बाँध सार्न अनुरोध गर्दै आएका थिए ।

रौतहटको वाग्मतीदेखि पश्चिम ३१ किलोमिटर खुला सीमा क्षेत्र पर्छ । भारतले झन्डै २२ किलोमिटरसम्म २५ फिट अग्लो बाँध निर्माण गरेपछि यो जिल्ला बर्सेनि डुबानको चपेटामा पर्दै आएको छ । भारतले एकतर्फी अन्तर्राष्ट्रिय सन्धि सम्झौता मिचेर निर्माण गरेको बाँध विस्तार गर्न थालेपछि स्थानीयले विरोध जनाउँदै आएका छन् । सीमामा कुनै किसिमको गतिविधि नगर्ने उनीहरूले मौखिक प्रतिबद्धता जनाए पनि व्यवहारमा लागू गर्न नसकेको उक्त वडाका सदस्य गृषनन्दन सिंहले बताए ।

प्रकाशित : माघ ५, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?