१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कोभिड रोकथाममा स्थानीय तह निष्क्रिय

महामारी भयावह बनिसक्दा पनि रोकथाम तथा नियन्त्रणका लागि गतिलो प्रयास नहुँदा अधिकांश संक्रमित घरमै बसिरहेका छन्, त्यसले परिवारका अन्य सदस्यमा समेत जोखिम बढाएको छ 
लिला श्रेष्ठ

काठमाडौँ — काठमाडौं उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १० हजार २ सय ५८ संक्रमित थपिएका छन् । जसमध्ये, उपत्यकामा मात्र ५ हजार ५ सय ४९ संक्रमित छन् । जुन थपिएका कुल संक्रमितको करिब ५४ प्रतिशत हो । काठमाडौंमा ४ हजार ४, ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । 

कोभिड रोकथाममा स्थानीय तह निष्क्रिय

राजधानीमै महामारी भयावह बनिसक्दा पनि स्थानीय तहले रोकथाम तथा नियन्त्रणका लागि गतिलो प्रयास गरिरहेको पाइएको छैन । क्वारेन्टिनका लागि पर्याप्त पूर्वाधार नहुँदा अधिकांश संक्रमित घरमै आइसोलेसनमा बस्न बाध्य छन् । त्यसले परिवारका अन्य सदस्य पनि जोखिममा छन् । कोरोनाका लक्षण भएकाहरू पनि एन्टिजेन एवं पीसीआर परीक्षण नगरी हिँडिरहेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाले कोभिड विशेष अस्पताल १५ दिनभित्र सञ्चालन गर्ने घोषणा गरेको झन्डै डेढ वर्ष भइसक्यो । तेस्रो लहरले छोपिसक्दासम्म पनि अस्पताल सञ्चालनको सुरसार छैन । २०७७ असोज १९ गतेको नगर कार्यपालिका बैठकको निर्णयअनुसार जगातीमा ‘कोभिड–१९ विशेष अस्पताल’ बनाउने घोषणा भएको थियो ।

नगरपालिकाका निर्देशक सूचना अधिकारी अनिरुद्र नेपालका अनुसार अस्पताल सञ्चालनका लागि नगरले कार्यकारी निर्देशकमा डा. सागरकुमार राजभण्डारीलाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ जना मेडिकल अधिकृत नियुक्त गरिसकेको छ । अस्पतालमा आवश्यक कर्मचारी नियुक्तिका लागि दरखास्त संकलन भएको र परीक्षाको तयारीमा रहेको समेत उनले बताए ।

जनप्रतिनिधिले किराना पसल सञ्चालन गर्नेजसरी तयारीबिनै अस्पताल सञ्चालनको घोषणा गर्नु दुर्भाग्य भएको नगरपालिकाकै एक कर्मचारीले बताए । नगर प्रमुख वासुदेव थापाले यस विषयमा कुरा गर्न चाहेनन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका २१ वटै स्थानीय तहले यसअघि सञ्चालन गरेको क्वारेन्टिन, आइसोलेसनलाई निरन्तरता दिने जानकारी दिएका छन् । ‘अधिकांश संक्रमित होम आइसोलेसनमै बसिरहनुभएको छ, क्वारेन्टिन/आइसोलेसन आवश्यक परेको जानकारी छैन,’ भक्तपुर नगर प्रमुख सुनील प्रजापतिले भने, ‘नगरले २५ शय्याको एचडीयू, ५० शय्याको जनरल वार्ड, ७ शय्याको आईसीयू र ४ वटा भेन्टिलेटर तयारी अवस्थामा राखेको छ ।’

उपत्यकाका अधिकांश स्थानीय तहका जनप्रतिनिधि अझै अलमलमै छन् । देशकै जेठो काठमाडौं महानगरले संक्रमण रोकथामका लागि कुनै प्रयास गरेको पाइँदैन । ‘आइसोलेसन सञ्चालनका विषयमा छलफल भइरहेको छ, आवश्यकताका आधारमा आइसोलेसन सञ्चालन गर्न सक्ने अवस्थामा छ,’ काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘लक्षित उमेर समूहका व्यक्तिहरूलाई खोप लगाइसकेको छ, बुस्टर डोज सुरु भइसकेको छ ।’ महानगरअन्तर्गत सञ्चालित सामुदायिक र संस्थागत विद्यालयमा खोप केन्द्र नै सञ्चालन गरेर लक्षित उमेर समूहका विद्यार्थीलाई खोप लगाइरहेको उनले बताए ।

कोभिड पहिलो र दोस्रो लहरमा सञ्चालित क्वारेन्टिन, आइसोलेसन संक्रमितको संख्या घट्दै जाँदा बन्द गरेको र पुनः तेस्रो लहरको महामारी फैलिएपछि सञ्चालन गर्न लागेको ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले बताए ।

‘बागडोलमा सञ्चालित ११० शय्याको आइसोलेसनमा १८ संक्रमितले स्वास्थ्यलाभ गरिरहनुभएको छ, अझै बढ्दो क्रममा छन्,’ उनले भने, ‘अधिकांश संक्रमित होम आइसोलेसनमै हुनुहुन्छ, आवश्यक परेको खण्डमा महानगरले सञ्चालन गरेको आइसोलेसनमा राख्ने तयारी छ ।’ अस्पताल नै भर्ना गर्नुपर्ने अवस्थाका संक्रमितलाई पाटन अस्पतालमा व्यवस्था भएको उनले बताए ।

प्रकाशित : माघ ५, २०७८ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?