कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘अनलाइन-अफलाइन’ ले तनाव

स्तरीय इन्टरनेट, स्मार्टफोन वा ल्यापटप र शान्त वातावरणको मापदण्डमा छैन समान पहुँच 
सन्जु पौडेल

काठमाडौँ — ‘बुबा–आमाको फोन चलाउनुपर्छ,’ उनले भने, ‘पढ्दापढ्दै बीचमा कल आउँछ, त्यस्तो बेला अनलाइन कक्षा काटिन्छ । त्यसले गाली खाइने समस्या छ ।’ रूपन्देहीको सैनामैना–५ बुद्धनगरका रेवाज कार्की बुटवलको एउटा विद्यालयमा ८ कक्षामा पढ्छन् । 

‘अनलाइन-अफलाइन’ ले तनाव

कोरोना संक्रमणको दर मुलुकभर पुनः बढ्दा भौतिकको साटो अनलाइन कक्षा प्राथमिकतामा छ । लुम्बिनीका विभिन्न जिल्लामा विद्यालयहरूले फेरि अनलाइन कक्षा थालेका छन् । तर अनलाइन कक्षाप्रति न विद्यार्थी खुसी छन् न त अभिभावक । ‘अनलाइन क्लासमा पढाएको बुझ्नै गाह्रो लाग्छ,’ कार्कीले भने । अनलाइन कक्षा चलिरहेका बेला कसैले गीत बजाइदिने, भिडियो अफ गरेर कुनै विद्यार्थी गायब हुँदा शिक्षकको ध्यान त्यसमै धेरै जाने र मोबाइल अगाडि राखेर लगातार बसिरहँदा थकाइ लाग्ने गरेको उनले बताए ।

‘कक्षाकोठामा बसेर पढ्दा शिक्षकसित फेस टू फेस प्रश्न सोध्न पाइने, साथीभाइ भेटेर पढाइको विषयमा छलफल र रमाइलो गर्न पाइने हुन्छ,’ उनले भने, ‘अनलाइन भन्नेबित्तिकै अभिभावकलाई गेम खेल्छन् कि भन्ने तनाव, हामीलाई मोबाइल ह्याङ हुने, पढाएको प्रस्ट नबुझिने, बाहिरका हल्ला सिधै कानमा पर्ने, नेट र लाइन जानेजस्ता अप्ठ्याराले हैरानी खेप्नुपर्ने चिन्ता हुन्छ ।’ ४० मिनेटका दरले आठवटा विषय पढ्नुपर्छ । बिहान अनलाइन बसेपछि साँझसम्म कक्षा र गृहकार्यमै समय जाने गरेकाले धेरै मानसिक दबाब महसुस हुने गरेको उनले बताए ।

बुटवल–९ की सरिता खड्कालाई त्यस्तै छ । बिहान उठ्नेबित्तिकै आफ्नो मोबाइल खोलेर बच्चालाई अनलाइन कक्षामा उपस्थिति गराउने चटारो सुरु भयो । उनले गुनासो गरिन्, ‘एकै समयमा दुईवटा बच्चाको कक्षा अनलाइन हुँदा गाह्रो पर्‍यो ।’ श्रीमान् काम गर्न बाहिर जाने भएकाले मोबाइल धेरै समयसम्म उपलब्ध नहुने र ४ कक्षामा रहेकी छोरी र केजीमा भर्ना गरेका छोरालाई एकैपटक कक्षामा लिएर बस्न समस्या भएको उनले बताइन् । साना कक्षाको साटो आफैं बसेर पढ्न सक्ने विद्यार्थीलाई मात्र यस्ता प्रविधियुक्त कक्षाले काम गर्ने उनले बताइन् ।

दाङको तुलसीपुरस्थित ज्ञानज्योति मावि अहिले बन्द छ । दुईवटा परीक्षा गराउँदा गराउँदै स्थानीय तहले निर्देशन दिएपछि पुस २४ बाट विद्यालय बिदा दिइएको प्रधानाध्यापक सुरेन्द्र जीसीले बताए । ‘मंगलबारदेखि पुनः अनलाइन कक्षा सञ्चालन गर्दैछौं,’ उनले भने, ‘बालबालिकालाई कक्षा चलेको छ है भन्न मात्र हो, पढ्ने र पढाउने दुवैका अप्ठ्याराको लेखाजोखै छैन ।’

गाउँगाउँका विद्यार्थी पढ्न आउने भएकाले अधिकांश परिवारमा इन्टरनेटको पहुँचमा नहुनु र सुविधायुक्त मोबाइल वा ल्यापटप विद्यार्थी एवं शिक्षकसँग पनि नहुँदा जटिलता हुने उनले बताए । त्यतिमात्र नभई एउटा परिवारले दुईवटा कोठा भाडामा लिई बस्ने, श्रीमान्/श्रीमतीले पढाउने र बच्चाबच्चीको पनि अनलाइन कक्षा गराउँदा कोठा नै नपुग्ने, मोबाइल नपुग्ने जस्ता अधिक समस्या विद्यालयको गुनासो कक्षमा आउने गरेको भन्दै उनले बताए । कतिपय परिवारमा बच्चाले मोबाइल लिई पढेको वा खेलेको भन्ने अभिभावकले थाहा पाउँदैनन् । बालबालिकाले कसैको डरबिना मोबाइलमा अन्य विषय नियाल्दा पढाइ बिगारेको पनि पाइने उनी बताउँछन् ।

विद्यार्थी र अभिभावकलाई भने घरमा नभएको भए पनि इन्टरनेट जोड्नैपर्ने वा छिमेकी, आफन्त डाकी कक्षा लिनुपर्ने बाध्यता छ । ‘भौतिक रूपमा कक्षा नचले न त सोचेजस्तो पढाइ हुन्छ, न पढाइको महत्त्व नै,’ पाल्पाको तानसेन बस्ने अभिभावक पुष्पा न्यौपानेले भनिन्, ‘बालबालिकामा मिहिनेत गर्ने बानी हराएको छ ।’ परीक्षासमेत अनलाइन दिने चलन बनेपछि घरमा रहेका पुस्तक, कापीबाट हेरी परीक्षामा लेख्ने र सजिलै उत्तीर्ण हुने भएकाले त्यति महत्त्व नरहने उनको भनाइ छ ।

‘पढ्नेले पनि पढेसरहको महसुस गर्न पाउँदैनन्,’ उनले भनिन्, ‘नपढ्नेको समेत चोरचार वा परीक्षाको औपचारिकता पूरा गरेर विद्यालयले अंक दिने चलनले विद्यार्थीमा प्रतिस्पर्धाको भाव हट्छ र सबै एउटै र्‍याङ्कमा पर्छन् ।’ यसले मिहिनेत गर्ने विद्यार्थीको मनोबल घट्ने भन्दै पुष्पाले साना कक्षाका विद्यार्थीले शिक्षकलाई मन लागेका सबै प्रश्न सोध्न समय नपाउने र एकैपटक सबैले बोल्दा हल्ला बढी भई कक्षामा समस्या हुने देखेको उनको भनाइ छ ।

प्रशासनको निर्देशनअनुसार माघ १५ सम्म बिदा नै दिइएको र त्यसपछि भौतिक रूपमै विद्यालयमा पठनपाठन गर्ने सल्लाह भएको प्यूठानको एभरग्रिन बोर्डिङ स्कुलका प्रधानाध्यापक एवं प्याब्सन प्यूठानका नगर अध्यक्ष कमल योगीले बताए । ‘विद्यार्थीलाई समूह बनाएर पढाउने, मास्क अनिवार्य गराउने हो भने कुनै बाधा हुँदैन जस्तो लाग्छ,’ उनले भने, ‘तिनै विद्यार्थी घरमा बस्दा अभिभावकसँग बजार, अन्य स्थान डुलिरहेका छन् ।’ प्याब्सनले अनलाइनको विकल्प विद्यालयलाई नै चलाउन पाउनुपर्ने देखेको उनी बताउँछन् ।

विद्यार्थी पनि राज्यकै एक अंग भएकाले तिनको जिम्मेवारी लिन सक्नुपर्ने रूपन्देहीका पूर्वजिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको भनाइ छ । शिक्षामा ‘डिजिटलाइजेसन’ माध्यम १२ प्रतिशत विद्यार्थीका लागि मात्र लाभदायी भएको अध्ययनले देखाएकाले अनलाइन शिक्षा नाममात्रको भएको उनको तर्क छ । ‘मजदुरी गर्ने, आर्थिक अवस्था कमजोर भएकाले पनि छोराछोरीलाई पढाएका छन्,’ उनले भने, ‘तिनका घरमा सन्तानपिच्छे मोबाइल र इन्टरनेटको सुविधा कसले दिने ?’ स्थानीय सरकार, प्रदेश र संघीय सरकारले नै इन्टरनेट भएका स्थानमा निःशुल्क सुविधा, टेलिभिजन भएका स्थानमा टीभी र रेडियो शिक्षालाई माध्यम बनाई विद्यार्थीको पढ्ने अधिकार सुनिश्चित गर्नुपर्ने उनले बताए ।

राज्यको दायित्व यसो गर उसो गर भनी निर्देशन दिनेमात्र नभएको शिक्षाविद् जितबहादुर शाहको भनाइ छ । दुई वर्षसम्म अनलाइनमै पढाएको शिक्षकले राम्रो गरेका भए उनीहरूका लागि प्रोत्साहन पुरस्कार, विद्यालयका हकमा अनुदान दिई सञ्चालनको उपाय दिनुपर्ने उनले बताए । ‘बन्द गर, घरमै राखी पढाउ भनेर हुँदैन,’ उनले भने, ‘शिक्षा दिने शिक्षकको समर्पणमा समेत कमी हुँदा नेपाली शिक्षा क्षेत्रको विकासोन्मुख परिपाटी रोकिने देखिन्छ ।’

विद्यार्थीको भविष्य अन्योलग्रस्त बनाउन कसैलाई पनि अधिकार नरहेको भन्दै शाहले यसप्रति सरकार नै गम्भीर बन्नुपर्ने र विद्यालयले समेत चासो दिई विधिहरूका बारेमा सिकाइ गर्न जरुरी रहेको बताए । महामारीको त्रासले सरकारी निर्देशनअनुरूप बन्द वा बिदामा रहेका लुम्बिनी प्रदेशका विद्यालयले अनलाइन विधिलाई अपनाउने र विद्यार्थीलाई पढाउने विकल्प यसअघि पनि अँगाल्दै आएका थिए भने अहिले पुनः सोही माध्यम प्रायः विद्यालयको रोजाइ बनेको छ । अनलाइन सम्भव नरहेका स्थानमा भने रेडियो शिक्षा नै सञ्चालन गर्ने गरी तयारी गर्न स्थानीय तहसँग समन्वयकारी भूमिका खेल्न विद्यालयले तयारी गर्दैछन् ।

प्रकाशित : माघ ५, २०७८ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?