कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खेसरीलाल नआउँदा बर्जु महोत्सवमा आगजनी र तोडफोड, आधा दर्जन सवारी साधनमा क्षति

सुनसरी — सुनसरीको बर्जु गाउँपालिकाले आयोजना गरेको महोत्सवमा मंगलबार आगजनी र तोडफोड भएको छ । गत पुस २२ गतेदेखि संचालन भएको बर्जुमा कोरोनाको ओमिक्रोन भेरिएन्ट संक्रमणलाई मध्यनजर गर्दै सुनसरी जिल्ला प्रशासनले पुस २७ मा भिडभाडको कार्यक्रमहरुमा प्रतिबन्धसहितको आदेश जारी गरेको थियो । 

खेसरीलाल नआउँदा बर्जु महोत्सवमा आगजनी र तोडफोड, आधा दर्जन सवारी साधनमा क्षति

बर्जु सामुदायिक विकास केन्द्रसमेत सहआयोजक रहेको महोत्सवमा आगजनीबाट नम्बर नखुलेको ४ वटा स्कारपियो, १ सिटीसफारी, एक मोटररसाइकल र १ साइकलमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उच्छृङ्खल समूहले १ हजार वटा प्लास्टकको कुर्सी, स्टेज साउन्ड सिस्टम २ थान र २ वटा जेनेरेटरमा पनि पूर्ण क्षति पुर्‍याएको प्रजिअ यादवले बताए । गाउँपालिकाले प्रशासनको आदेशविपरीत महोत्सव जारी राखेको बेला मंगलबार गाउँपालिकाले भारतीय कलाकार नल्याएको भन्दै तोडफोड र आगजनी गरेको प्रजिअ यादवले बताए ।

आयोजक गाउँपालिका र बर्जु सामुदायिक विकास केन्द्रले भारतीय भोजपुरी कलाकार खेसरीलाल यादव ल्याउने प्रचार गरेर ३ सयदेखि ५ सय रुपैयाँको टिकट बिक्री गरेको थियो । तर ती कलाकार नआएपछि सहभागीहरु आक्रोशित भएर आगजनी र तोडफोड गरेका प्रजिअ यादवले बताए । उनले भने, ‘कोरोना संक्रमण बढेपछि मेला रोक्न भनेर पुस २ गते नै जिल्ला प्रशासनले पत्र दिएको थियो तर अटेर गरेर मेला चालु राखे । यो घटनाको जिम्मा गाउँपालिका र बर्जु विकास केन्द्रले लिनु पर्छ ।’

कोरोना महामारीको बेला बर्जु तालमा मेला लगाएर पैसा कमाउने धन्दा गर्दा घटना भएको जिल्ला प्रशासनले जनाएको छ । भारतीय कलाकार खेसरीलाल आउन तयार भए पनि कोरोना महामारीका कारण आउन नदिने जानकारी आयोजक पक्षलाई अगाडि नै दिएको जिल्ला प्रहरी कार्यालयका एसपी संजयसिंह थापाले बताए । उनकाअनुसार गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीलाई मेला रोक्न बारम्बार चेतावनी दिँदा पनि अटेर गरेर महोत्सव निरन्तर गरेका थिए ।

आयोजकले भारतीय कलाकार खेसरीलाललाई लुकाएर विराटनगरसम्म ल्याएका थिए । उसका सहकलाकारहरु भने सोमबार नै आइसकेका थिए । यसबीचमा गाउँपालिका अध्यक्ष चौधरीले आफूहरुले भारतीय कलाकार ल्याउने भनेर टिकट बिक्री गरिसकेको र कलाकारलाई पैसा समेत दिइसकेकाले मेला संचालन गर्न दिन अनेक पटक अनुरोध गर्दै अन्य विभिन्न नेतामार्फत भनसुन गराए । तर प्रहरी प्रशासनले नमानेपछि खेसरीलाल आउन सकेनन् । टिकट किनेर आएकाहरुले कलाकार नआएपछि हुलदंगा गर्दा उक्त घटना भएको प्रहरीको भनाइ छ ।

मेलामा करिब १० हजार दर्शक उपस्थित भएको बेला हुलदंगा भएपछि प्रहरीतर्फ पनि ईलाका प्रहरी कार्यालय दुहबीको बा १ झ १४१२ नम्बरको स्कारपियो पिकअप गाडीमा क्षति हुनुका साथै २ जना प्रहरी पनि घाइते भएका थिए । एसपी थापाले अराजक भिड तितरबितर गर्न १५ सेल अश्रुग्यास प्रहार गरेको बताए ।

मेलामा तोडफोड भएको विषयमा आयोजक गाउँपालिका अध्यक्ष चौधरीसँग सम्पर्क गर्दा फोन उठाएनन् ।

प्रकाशित : माघ ४, २०७८ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?