वैशाखमा स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनबीच सहमति- समाचार - कान्तिपुर समाचार

वैशाखमा स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनबीच सहमति

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारूढ गठबन्धनबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति भएको छ। मिति तय गर्नेलगायतका विषयमा आगामी बैठकमा छलफल हुने बताइएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेद्रबहादुर कार्कीले जानकारी दिए ।

तोकिएकै समयमा स्थानीय निर्वाचनका लागि दलहरू सहमत भएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठकमा भएको सहमतिबारे जानकारी दिँदै उनले भने, 'निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न गठबन्धनका दलहरू सहमत रहेका छन् । अरु थप विषयमा छलफल र निर्णयको लागि पर्सि माघ ६ गते पुनः गठबन्धन समन्वय समितिको बैठक बस्नेछ।'

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए ।

अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भएपछि समितिको बैठक बसेको थिएन । दाहाल संक्रमणमुक्त भएपछि बैठक बोलाइएको हो । नेपाल संक्रमणमुक्त नभएकाले उपमहासचिव गंगालाल तुलाधर बैठकमा सहभागी थिए ।

स्थानीय तहको निर्वाचन भएको पाँच वर्षको कार्यकाल समाप्त हुँदैछ । स्थानीय तहको निर्वाचन ऐन २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश: २०७९ जेठ ५, असार २१ र असोज ७ गते सकिँदैछ ।

यसअघि निर्वाचन आयोगले यसै साता निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको थियो । निर्वाचन सम्पन्न गर्न कम्तीमा १ सय २० दिनको समय चाहिने भन्दै तत्काल मिति घोषणा गर्न आयोगले सरकारलाई आग्रह गरेको हो । त्यस्तै जनप्रतिनिधिहरूको छाता संगठनहरू गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए ।

संविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिन पनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेकाले तत्काल निर्वाचन प्रक्रिया सुरु गर्न संघ/महासंघले ध्यानार्षण गराएका हुन् ।

प्रकाशित : माघ ४, २०७८ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्

वर्षमा दुई पटक मात्तिन्छन् ध्रुवे, रोनाल्डो र गोविन्दे

रासस

चितवन — समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन् । यी तीन भाइले धेरै जिउधनको क्षति गरिसकेका छन् । मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन् ।

हात्तीका विषयमा विद्यावारिधि गरिरहेका अशोक राम पुस–माघ र जेठ–असार गरी वर्षमा दुईपटक भाले हात्ती मात्तिने बताउँछन् । मात्तिएकै बेलामा हात्तीले धेरै जिउधनको क्षति गराउने गरेका छन् । उनको भनाइमा रोनाल्डोले २२, धुव्रेले १९ र गोविन्देले तीन जनाको ज्यान लिइसकेका छन् । ती तीनवटै हात्ती यतिबेला चितवन राष्ट्रिय निकुञ्जको सौराहा र कसरा आसपासको क्षेत्रमा छन् ।

गत एक महिनायता गोविन्दे र ध्रुवेले एक/एक जनाको ज्यान लिइसकेका छन् । यो मौसममा ती हात्तीले जनधनको क्षति बनाउन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूको सुझाव छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ध्रुवे यतिबेला टाइगरटप्स क्षेत्रको रिउ र राप्तीको संगमस्थलतिर छ । गोविन्दे र रोनाल्डो पनि सौरहा र कसरा आसपासमा समय–समयमा देखिने गरेका छन् । तिवारीको भनाइमा ध्रुवेलाई रेडियो कलर जडान गरेकाले यकिन ठाउँ थाहा हुन्छ भने रोल्नाडोलाई रेडियो कलर जडान गरिएको भए पनि अहिले नरहेका कारण यकिन ठाउँ थाहा हुन सक्दैन । तर समय–समयमा यी तीनै हात्ती देखिने गरेको उनी बताउँछन् ।

निकुञ्जले पालेका हात्ती प्रजननमा यी हात्ती प्रयोग हुँदै आएका छन् । पछिल्ला वर्षहरूमा अधिकांस छावा यिनै तीन मत्ता हात्तीबाट जन्मिएका छन् । यो मौसममा कुहिरो लाग्ने भएकाले निकुञ्ज आसपास क्षेत्रमा हिँड्डुल गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ । तिवारीले भने, “यो हात्तीको आक्रमण हुनसक्ने समय भएकाले जोगिएर हिँड्डुल गर्नुपर्दछ ।” निकुञ्ज बाहिर खानाका लागि हात्ती आउन सक्ने समय पनि यो हो । तिवारीले अगाडि भने, “यतिबेला निकुञ्जमा राम्रो घाँस हुँदैन, बाहिर लगाएको खेतीबाली हरियाली देखेपछि हात्ती बाहिर आउन सक्छ ।”

निकुञ्ज संरक्षणमा लामो अनुभव संगालेका संरक्षणकर्मी वेदबहादुर खड्का हात्ती बस्तीमा आइहालेमा होहल्ला गरेर नलखेट्न सुझाव दिन्छन् । धेरैजसो घटना हात्ती लखेट्ने क्रममा हुने गरेको उनी बताउँछन् । कतिपयले मादक पदार्थ सेवन गरेर राँको बाल्दै हात्ती लखेट्ने गर्दछन् । यो आफैंमा जोखिम रहेको खड्काको भनाइ छ । हात्ती आइहालेमा निकुञ्जका अधिकारी र सुरक्षाकर्मीलाई खबर गरेर धपाउनुपर्ने उनको सुझाव छ ।

अशोक रामका अनुसार ५०० मिटरभित्र हात्ती छ भने त्यस क्षेत्रका रुखका हाँगा भाँचेका हुन्छन् । यस्तै ३०० मिटरभित्र हात्तीको शरीरको गन्ध आउँछ भने हात्तीले नार्रनुर्र गरेको आवाज र सय मिटरको दूरीमा हात्तीले सुँड बजारेको आवाज आउँछ । हात्तीले मानिसमाथि आक्रमण गर्दा डराएर आत्तिएर गर्ने बताउँदै रामले भने, “हात्ती शाकाहारी जनावर हो, उसले मान्छे मारेर के पाउँछ र ?” आफूलाई खतरा महसुस गरेर नै हात्तीले आक्रमण गर्ने उनको भनाइ छ ।

चितवनमा अहिले भइरहेका ती हात्तीमध्ये ध्रुवे रौतहटसम्म पुग्ने गर्दछ भने गोविन्दे र रोनाल्डो चितवन र पर्सा क्षेत्रमा घुम्ने गरेका छन् । ध्रुवे र रोनाल्डो नेपालको पूर्वी क्षेत्रबाट आएको अनुमान गरिएको छ । गोविन्दे भने यसै क्षेत्रमा समूहबाट छुट्टिएको हुनसक्ने रामको अनुमान छ । समूहमा बस्ने हात्ती नियमविपरीत काम गरेमा निष्कासित हुने गर्दछ । समूहबाट निकालिएपछि झनै अराजक हुने र मातेर जनधनको क्षति गर्ने गरेको रामले बताए । वर्षको दुईपटक प्रजननको समयमा भाले हात्ती मात्तिने गर्दछन् ।

प्रकाशित : माघ ४, २०७८ ११:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×