कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

तीन दर्जन किरात भाषा लेखन अब सिरिजङ्गा लिपिमा

गणेश राई

काठमाडौँ — लिम्बू भाषा तथा साहित्य लेखनमा समृद्ध किरात सिरिजङ्गा लिपि अबदेखि तीन दर्जनभन्दा बढी किरात भाषाहरू लेखनमा प्रयोग हुने भएको छ । किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात राई यायोक्खालगायत संस्था संवद्ध किरात समन्वय समितिले केही महिनाअघि ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदल–२०७८’ गठन गरेको थियो । 

तीन दर्जन किरात भाषा लेखन अब सिरिजङ्गा लिपिमा

भाषाशास्त्री डा. तारामणि राई संयोजक रहेको कार्यदलले किरात भाषाहरूमा रहेका ४८ व्यञ्जन वर्ण र १२ स्वरवर्णअनुसार किरात सिरिजङ्गा लिपि समायोजन गरी प्रतिवेदन बुझाएसँगै अरु भाषामा प्रयोग गर्न सहज बनेको हो ।

संयोजक राईका अनुसार किरात भाषा भोट–बर्मेली भाषा परिवारअन्तर्गत पर्छन् । आजभोलि अन्तर–हिमाली भाषाका रूपमा समेत चिन्ने गरिन्छ । यो भाषा मूलत: नेपालको पूर्वी पहाडमा बोलिन्छ । किरात भाषाहरूमा मुलत: राई, लिम्बू, कोइँच–सुनुवार र याक्खा पर्दछन् । यसका साथै हायू, सुरेल, जिरेल, थामीले अहिले पनि किरात जाति भएको दाबी गरेकाले प्रतिवेदनमा समेटिएको उनले जनाए ।

राई समूहभित्र करिब २६ वटा भाषा रहेका छन् । जसमा बान्तवा, चाम्लिङ, कुलुङ, थुलुङ, साम्पाङ, खालिङ, वाम्बुले, बाहिङ, नाछिरिङ, याम्फु, दुमी, पुमा, दुङमाली छन् । त्यसैगरी आठपरिया, मेवाहाङ, लोहोरुङ, छिन्ताङ, छिलिङ, जेरुङ, तिलुङ, कोयी, बेलहारे, साम, फाङ्दुवाली, लिङखिम/लुङ्खिम, देवासलगायत छन् । याक्खाभित्र याक्खा र मारेक–याक्खा भाषा छन् ।

‘किरात भाषाहरू देवनारी लिपिमा लेखिँदै आएको हो तर त्यसले भाषाहरूको विशेषताअनुसार लेख्न नसकिएको कारण सिरिजङ्गा लिपि प्रयोग गर्ने गरी अगाडि बढेको हो,’ किरात समन्वय समितिका संयोजक रणवीर सुनुवारले भने, ‘वैज्ञानिक आधारसहित लिपि समायोजन कार्यदल निर्माण गर्‍यौं । अब यो कार्यले किरात एकतालाई बलियो बनाउनेसमेत विश्वास लिएका छौं ।’ किरात सिरिजङ्गा लिपिको साझा प्रयोगले प्रदेश–१ को पहिचानलाई थप उजागर गर्ने उनले दाबी गरे ।

कार्यदलका सदस्य भाषाशास्त्री डा. लाल श्याँकारेलु रापचाले समाजको आवश्यकताअनुसार भाषाशास्त्रीय मूल्यमान्यतामा रहेर किरात भाषाहरूको विशेषता केलाएर लिपि समायोजन प्रस्ताव गरिएको बताएका छन् । ‘लिम्बू भाषामा प्रयोग गरिँदै आएका चिन्हहरू जस्ताको तस्तै राखी अन्य किरात भाषाहरूको लागि आवश्यक चिन्ह, उपचिन्हहरू थपिएको छ,’ भाषाशास्त्री रापचाले भने, ‘कुनै नयाँ लिपि थपिएको छैन । प्रचलनमा रहेकैलाई समायोजन गरिएको छ ।’

सांस्कृतिक अभियन्ता विश्वासदीप तिगेलाले कुनै पनि भाषाको आफ्नै लिपि हुनुपर्ने अनिवार्य नरहेको बताए । ‘विशेषत: वैज्ञानिक स्क्रिप्ट (लिपि)लाई धेरै भाषाले एउटै चलाएको पाइन्छ,’ अनुसन्धातासमेत रहेका तिगेलाले भने, ‘तर लिम्बू समुदायमा लिम्बू लिपिमात्र भन्ने बुझाइ छ । अहिले धेरै किरात भाषामा परिमार्जित रूपमा चलाउने प्रयास गर्नु सकारात्मक पहल हो ।’ उनका अनुसार ल्याटिन स्क्रिप्ट (रोमन) १ सय ३० भाषा, मेक्सिकोलागयत मुलुकमा चलाइने महायान स्क्रिप्ट ३२ भाषा र देवनागरी लिपि ११ भाषामा चलाउँछन् ।

लिम्बू भाषाको लेखन परम्पराको इतिहास सबैभन्दा लामो छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति मुन्धुमविद् बैरागी काइँलाका अनुसार ब्राइन हटन हज्सनले संकलन गरेको लन्डनको ब्रिटिस इन्डिया अफिस लाइब्रेरीमा किरात लिपिमा लेखिएको ‘मुन्धुम साप्ला’ पाण्डुलिपि रहेको छ । सबैभन्दा पुरानो मानिएको उक्त पाण्डुलिपि सिरिजङ्गा सिङथेबेले (१७०४ई.) लेखेको काइँलाको आकलन छ ।

‘किरात सिरिजङ्गा लिपिमा किरात भाषाहरूको प्रस्तावित संयुक्त वर्णमाला । तस्बिर सौजन्य : जनक राई

समुदायमा किरात लिपि भनिए पनि लिम्बू लिपि वा याक्थुङ लिपि भनिँदै आएको छ । लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बूले २०५० सालमा यो लिपिलाई ‘किरात–सिरिजङगा लिपि’ नामाकरण गर्ने औपचारिक निर्णय गरेको बताए । ‘उक्त निर्णय गर्दाको बखत नेपालको यो मौलिक लिपि हामीले मात्र नभई अरु सबैले पनि चलाउनेछन् भन्नेमा पूर्वानुमान गरेका थियौं,’ त्यसयता अनौपचारिक र औपचारिक शिक्षा यही लिपि प्रचलन गरिएको उल्लेख गर्दै अध्यक्ष लिम्बूले भने, ‘निरन्तर अभ्यास र मानकिकरण गर्दै आजसम्मको बृहत्, विकसित र समृद्ध अवस्थामा आएको हो ।’

चुम्लुङलगायत अन्य किरातजन्य संस्थाहरूले औपचारिक निर्णयअनुसार किरात सिरिजङ्गा लिपि प्रयोगमा सकारात्मक ढंगले अघि बढेको उनले जनाए ।

इतिहासविद् इमानसिंह चेम्जोङका अनुसार राजा सिरिजङ्गाले आफ्नो ईश्वर भक्ति र तपस्याका बलले यो लिपि आविस्कार गरेका हुन् । यसलाई किरात लिपि भनियो । प्रथम सिरिजङ्गा राजाको शेषपछि लगभग एक हजार वर्षसम्म लोप भएसरह थियो । इसाको अठारौं शताब्दीमा वर्तमान पूर्वी नेपाल ताप्लेजुङ जिल्ला लिम्बूवानको सिनाम तेल्लोक गाउँमा थेबे कुलवंशभित्र सिङ्थेबे थरका प्रतिभाशाली ज्ञानी र गुणी महापुरुष (१७०४–१७४१) जन्मिए । उनले लिपिलाई पुनर्जीवन दिएर फेरि प्रचलनमा ल्याए । उनलाई प्रथम राजा सिरिजङ्गाको अवतार मानेर तेअङ्सी सिरिजङ्गा तथा दोस्रो सिरिजङ्गा भनिएको हो ।

मुन्धुमविद् काइँलाले उल्लेख गरेअनुसार सिरिजङ्गा (किरात लिम्बू) लिपिको प्रचार गर्दै उनी (तेअङ्सी सिरिजङ्गा) उति बेलाको सिक्किम देश (वर्तमान सिक्किम राज्य भारत)मा पुगे । उतिखेर सिक्किमका पाँचौं राजा फुन्छयोग् नामग्यालको शासनकाल थियो । धुमधामसाथ लिपिको प्रचार गरे ।

त्यसो गर्दा तिब्बती लिपि सिकेर बौद्धधर्ममा दीक्षित हुन गइरहेका किरातवंशी लिम्बूहरूमा आफ्नो धर्म, भाषा र लिपि प्रतिको चेतना जाग्यो । तिब्बती लिपि पढ्ने र बुद्धधर्ममा लाग्ने लिम्बूहरूको संख्यामा कमी आउन थाल्यो । यिनै कुराले गर्दा भोटे लामाहरू उनीसँग औधि क्रोधित भएका थिए । उनी पेमायोन्ची गुम्बाका ठाछाङ लामाहरूका षडयन्त्रबाट पश्चिम सिक्किमको मार्ताममा क्रूरतापूर्वक मारिए ।

प्रकाशित : माघ ३, २०७८ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?