कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय निर्वाचनबारे अलमलमा कांग्रेस

नेताहरुका चारथरी धारणा, सभापति देउवा परामर्शमा

काठमाडौँ — स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने कि केही महिनापछि सार्ने भन्नेमा कांग्रेस अलमलमा देखिन्छ । निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन सम्पन्न गर्ने गरी मिति प्रस्ताव गरिसक्दा कांग्रेसले धारणा बनाइसकेको छैन । कांग्रेसभित्र स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने, संविधानले दिएको सुविधाअनुसार वैशाखदेखि ६ महिनाभित्र गर्नुपर्ने र तीनै तह (स्थानीय, प्रदेश र संघ) को निर्वाचन सँगै गर्नुपर्ने फरक–फरक मत छन् ।

स्थानीय निर्वाचनबारे अलमलमा कांग्रेस

केही नेताले संसद्को निर्वाचन गरेर मात्र स्थानीय तहको गर्न सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । सरकारका प्रवक्तासमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्नेबारे विभिन्न मत रहे पनि सरकारले परामर्श गरिरहेको बताए । ‘स्थानीय तहको निर्वाचनबारे सरकारले सबै पक्षसँग छलफल गरिरहेको छ, संविधानको भावनाअनुसार सरकारले छिट्टै निर्णय गर्नेछ,’ उनले भने ।

स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाख ३० मा सकिँदै छ । २०७४ मा तीन चरण (पहिलो वैशाख ३१, दोस्रो असार १४ र तेस्रो असोज २) मा निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ मा सरकारले दुईभन्दा बढी चरणमा निर्वाचन गर्न सक्ने तर पहिलो चरणको मितिलाई निर्वाचन सम्पन्न भएको मानिने उल्लेख छ । ऐनको दफा ३ मा गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगाडि अर्को निर्वाचन हुने उल्लेख छ । यस हिसाबले फागुनभित्रै निर्वाचन गरिसक्नुपर्छ । संविधानमा भने कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने भनिएको छ ।

धारा २१५, २१६ र २२० मा स्थानीय तहका जनप्रतिनिधिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने उल्लेख छ । धारा २२५ मा त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने भनिएको छ । संविधान र ऐनको दोहोरो प्रावधानकै कारण कांग्रेसभित्र एकथरीको धारणा वैशाखमै निर्वाचन गर्नुपर्ने छ भने अर्कोथरीको ६ महिनाभित्र गर्नुपर्ने छ । सरकारको नेतृत्व गरिरहेका सभापति देउवा संविधान र ऐनमा बाझिएको यही प्रावधानलाई लिएर अलमलमा छन् ।

‘ऐनमा उल्लेखित मिति (फागुन अन्तिम) मा निर्वाचन गर्न करिब असम्भव भएकाले उहाँ (देउवा) वैशाखभित्र निर्वाचन गर्न सम्भव छ/छैन भनेर परामर्शमा हुनुहुन्छ,’ उनीनिकट एक नेताले भने, ‘तर निर्णयमा पुगिसक्नुभएको छैन ।’

महामन्त्री गगन थापाले भने संविधान र कानुनले जनप्रतिनिधिमूलक स्थानीय तह एक दिन पनि रिक्त रहन सक्ने कल्पना नगरेकाले कांग्रेस समयमै निर्वाचन गर्न प्रतिबद्ध रहेको बताए । ‘हामीले निर्वाचनको आन्तरिक तयारीमा जुट्न पार्टीका सबै तहलाई भनिसकेका छौं, केन्द्रीय समितिले समेत छिट्टै निर्णय गर्नेछ,’ उनले भने, ‘सत्ता गठबन्धनका अन्य दलको राय जे भए पनि कांग्रेसले दायाँ–बायाँ गर्दैन ।’

केही नेताहरूले संसद्को निर्वाचन गरिसकेपछि स्थानीय तहको निर्वाचन गर्नुपर्ने धारणा राखेका छन् । शनिबार केन्द्रीय सदस्यहरू रमेश लेखक, रामहरि खतिवडालगायतले सभापति देउवालाई भेटेर संविधानले स्थानीय तहको निर्वाचन वैशाखदेखि ६ महिनाभित्र गर्ने सुविधा दिएकाले त्यसतर्फ सोच्नुपर्ने बताएका थिए ।

प्रकाशित : माघ ३, २०७८ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?