१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एमबीबीएस पढ्न होस्टल ऐच्छिक कि अनिवार्य ?

केएमसी र नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले अनिवार्य होस्टल बस्नुपर्ने उर्दी जारी गरे पनि विज्ञहरु होस्टल बस्ने/नबस्ने विषयमा विद्यार्थीलाई नै निर्णय गर्न दिनुपर्ने पक्षमा
सुदीप कैनी

काठमाडौँ — अतिरिक्त शुल्कसँगै चर्को शुल्कसहित अनिवार्य होस्टल बस्नुपर्ने व्यवस्था गरिएको विरोधमा डेढ महिनादेखि नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल कलेज (केएमसी) मा अध्ययनरत एमबीबीएसका विद्यार्थी आन्दोलित छन् ।

एमबीबीएस पढ्न होस्टल ऐच्छिक कि अनिवार्य ?

चिकित्सा शिक्षा आयोगले होस्टल बस्ने/नबस्ने निर्णय विद्यार्थी स्वयंको हुने प्रस्ट्याएको छ । नोबेल र केएमसी मेडिकल कलेजका सञ्चालक सुनील शर्मा भने होस्टल नबस्ने विद्यार्थीलाई पठनपाठन गराउन नसक्ने अडानमा छन् ।

चिकित्सा शिक्षा अन्य विषयभन्दा फरक प्रकृतिको भएकाले अनिवार्य होस्टल बसेर अध्ययन गर्नुपर्ने उनको जिकिर छ । नेपाल मेडिकल काउन्सिलले नै मेडिकल कलेजमा अनिवार्य होस्टल हुनुपर्ने व्यवस्था गरेको शर्माले दाबी गर्दै आएका छन् । यी दुई कलेजका विद्यार्थीले शर्मालगायत कलेज प्रशासनले अनिवार्य होस्टल बस्न उर्दी जारी गरेको गुनासो गरे ।

‘चिकित्सा शिक्षा अरू विषय पढेजस्तो हैन, रातभरि अस्पतालमा ड्युटी बस्दै पढ्नुपर्छ, त्यसैले होस्टलमा बस्नैपर्छ,’ उनले शुक्रबार पत्रकारसित भनेका थिए । केएमसी र नोबेलले दुई जना बस्न मिल्ने कोठाको मासिक २४ हजार रुपैयाँ भाडा तोकेको छ । होस्टल भाडाप्रति पनि विद्यार्थी र अभिभावकको असहमति छ । कलेज सञ्चालक शर्मा भने होस्टल नबसे पाठ्यक्रमको उद्देश्य पूरा नहुने तर्क गरिरहेका छन् ।

मेडिकल काउन्सिलले पनि चिकित्सा शिक्षा अध्ययन गर्न होस्टल अनिवार्य नहुने प्रस्ट्याएको छ । काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीले मेडिकल कलेजले होस्टल बस्न चाहने विद्यार्थीलाई उक्त सुविधा दिनुपर्ने व्यवस्थामात्र गरेको जनाए । शिक्षामन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा शुक्रबार भएको छलफलमा पनि होस्टल अनिवार्य कि ऐच्छिक भन्ने विषयमा छलफल भएको थियो । छलफलपछि मन्त्रालयले विश्वविद्यालयको समन्वयमा विद्यार्थी, अभिभावक र कलेजबीच समन्वय गरी सहमतिमा विवाद निरूपण गर्ने निर्णय गरेको छ ।

चिकित्सा शिक्षाका विज्ञहरू होस्टल बसेर शैक्षिक वातावरण कायम गर्नु उपयुक्त हुने भए पनि अनिवार्य गर्न नहुने बताउँछन् । काउन्सिलका एक सदस्यले होस्टल बस्न विद्यार्थीलाई बाध्य पार्न नपाइने जनाए । ‘मेडिकल काउन्सिलले पहिले गर्ने काम नै अहिले चिकित्सा आयोगले गर्दै आएको छ, आयोगले नै होस्टल अनिवार्य होइन भनिसकेको छ,’ उनले थपे ।

मेडिकल कलेज सञ्चालक शर्मा भने काउन्सिलको त्यही मापदण्डलाई देखाएर होस्टल अनिवार्य बस्नुपर्ने अडानमा छन् । केएमसी र नोबेलले एमबीबीएसमा एक/एक सय जना पढाउन सिट पाएका छन् तर छात्रवृत्तिमा पढ्ने २० जना विद्यार्थीलाई भने होस्टल अनिवार्य गरिएको छैन । त्यसले पनि शर्माको बदनियत पुष्टि हुने काउन्सिलका ती सदस्यले बताए । देशभरका मेडिकल कलेजमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै होस्टल अनिवार्य छ । चिकित्सा शिक्षाको सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) मा नै होस्टल अनिवार्य छैन ।

संस्थानका पूर्वडिन जगदीशप्रसाद अग्रवालले शैक्षिक वातारण राम्रो बनाउन होस्टलको व्यवस्था गर्न सकिए पनि अनिवार्य गर्न नपाइने बताए । ‘होस्टल अनिवार्य गर्ने हो भने दररेट पनि प्रचलित बजारभाउअनुसार मनासिव हुनुपर्छ,’ उनले भने । व्यावहारिक हिसाबले मूल्य तोकेर होस्टल अनिवार्य गर्दा उपयुक्त हुने उनले सुझाव दिए । काठमाडौं मेडिकल कलेजले विद्यार्थीलाई सिनामंगलको होस्टलमा राख्ने भनेको छ तर पहिलो र दोस्रो वर्षको पढाइ हुन्छ भक्तपुरको दुवाकोटमा । होस्टल अनिवार्य गरेर दुवाकोट जान/आउन छुट्टै गाडी भाडा मागिएको विद्यार्थी बताउँछन् ।

काउन्सिलले होस्टल आवश्यक पर्ने बताए पनि विद्यार्थीलाई बस्न बाध्य गर्न नपाइने आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको भनाइ छ । ‘मेडिकल कलेज खोल्दा मापदण्डमा फार्मेसी पनि अनिवार्य हुनुपर्छ भनिएको हुन्छ,’ उनले भने, ‘तर बिरामीलाई त्यही फार्मेसीमा औषधि किन्नुपर्छ भनेर बाध्य गर्न त पाइँदैन नि । होस्टलमा पनि त्यस्तै नियम लागू हुन्छ ।’

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन राजेन्द्र कोजू पनि होस्टल बस्न बाध्यकारी गर्न नहुने बताउँछन् । ‘चिकित्सा शिक्षा आयोगले अनिवार्य होइन भनिसक्यो, कलेज र अभिभावकको समझदारीमा टुंगो लगाउनुपर्छ,’ उनले भने ।

प्रकाशित : माघ ३, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?