१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्वास्थ्यकर्मीलाई संक्रमणपछि नाकामा जनशक्ति अभाव

सयौंको ओहोरदोहोर हुने प्रदेशका मुख्य नाकामा खटिएकाहरू नै संक्रमित, परीक्षणबिनै घर पुग्छन् भारतबाट फर्किएकाहरू  
सन्जु पौडेल

लुम्बिनी — नाकाहरूमा राखिएका हेल्थ डेस्कका स्वास्थ्यकर्मी आफैं संक्रमणको चपेटामा परेपछि लुम्बिनी प्रदेशका विभिन्न नाकामा कोरोना जाँच प्रभावित हुन थालेको छ । प्रदेशका चार ठूला नाकामा खटिएका प्रयोगशालातर्फका कर्मचारी कोरोना संक्रमित भएसँगै जनशक्ति अभाव भएको हो । संक्रमितको संख्या एक महिनायता उकालो लाग्दै गएको छ ।

स्वास्थ्यकर्मीलाई संक्रमणपछि नाकामा जनशक्ति अभाव

भारतबाट आइरहेका धेरैमा संक्रमण पुष्टि हुने गरेको छ । यसअघि नाकामा एन्टिजेन परीक्षणमा व्यस्त ल्याबमा काम गर्ने कर्मचारीमा धमाधम संक्रमण पुष्टि भइरहेको छ । उनीहरू आइसोलेसनमा बस्नुपरेपछि जनशक्ति अभाव छ । कोरोना जचाउँदा संक्रमण पुष्टि हुने भन्दै केही नाकामा लक्षण मिल्ने समस्या देखिएका कर्मचारीले आफ्नोचाहिँ जाँच नगरी काम गरिरहेको बताए ।

रूपन्देहीको बेलहिया नाकामा सिद्धार्थनगर र विभिन्न संघसंस्थाका गरी ७ जना ल्याबका कर्मचारी निरन्तर खटिरहेका थिए । दिनहुँ काम गर्ने सिलसिलामा पाँच जनामा लक्षण देखा परेपछि कोरोना परीक्षण भयो । उनीहरूमा संक्रमण पुष्टि भएपछि घरमै आराम गरिरहेका छन् । अहिले नाकामा दुई जना मात्र एन्टिजेन परीक्षणका लागि खटिएका छन् । बेलहिया नाका हुँदै भारतबाट नेपालतर्फ दैनिक सयौं मानिस प्रवेश गर्छन् ।

नयाँ भेरिएन्ट मुलुक छिरेसँगै नाकामा एन्टिजेन परीक्षणको दायरा बढाइएको थियो । अहिले भारतदेखि ठूला झोला बोकेर आउनेलाई मात्र सोधपुछ गरी परीक्षण गर्ने गरिएको छ । तीबाहेक किनमेल, औषधि उपचार र भारत घुमी आउने नेपाली र भारतदेखि नेपाल आउने गाडीका गाडी भारतीयलाई खोप कार्डका आधारमा प्रवेश दिइएको छ । दैनिक ३ सयभन्दा बढीको परीक्षण गर्दा सरदर ४० जनामा संक्रमण पुष्टि भइरहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन लोकनाथ कँडेलले बताए । एन्टिजेन किट प्रशस्त भए पनि जनशक्ति नहुँदा परीक्षणको काम छिटो र सोचेअनुरूप गर्न नसकिएको उनले जनाए ।

‘दुई जना मात्र कोरोना जाँच नगरी बसेका छौं,’ उनले भने, ‘हामीमा पनि लक्षण छ, संक्रमण देखिए नाकामा परीक्षण बन्द हुन्छ ।’ संघसंस्था र नगरपालिका मिली स्वास्थ्यकर्मी र ल्याबमा कर्मचारी खटाएको भन्दै नाका ठूलो भएकाले धेरै मानिसको एकैपटक परीक्षण गर्नुपर्ने र कर्मचारी अभावमा उक्त काम प्रभावित भएको कँडेलले जनाए । ‘२ सयसम्मको एक्लैले पनि सकिन्छ,’ उनले थपे, ‘हजारौं जना आउँछन्, अन्य चार जना चाहिन्छ ।’

पश्चिम नवलपरासीको महेशपुर भन्सार ठूलो नाकामध्येको एक हो । उक्त नाका हुँदै दिनहुँ ५ हजार बढी मानिस नेपाल आउने भए पनि नाकामा रहेको हेल्थ डेस्क कर्मचारीविहीन छ । नाकाको छिमेकी पालिका पाल्हीनन्दनको स्वास्थ्य शाखाबाट एक जना कर्मचारी नाकामा खटिएका छन् । दैनिक फेरिने कर्मचारीले सिक्दै, जाँच गर्दै गर्दा मानिसलाई बोलाउने, दर्ता गर्ने, सोधपुछ गर्ने आदि काममै दिन बित्ने गरेको छ ।

‘एक्लै भएपछि कुन कुन काम भ्याउने ?’ स्वास्थ्य संयोजक सूर्यनारायण चौधरीले भने, ‘अन्तबाट कसैले कर्मचारी पठाइदिँदैन, हामीले एक जना खटाएर कसरी परीक्षण होस्,’ नयाँ भेरिएन्ट आएको डेढ महिना भइसक्दा पनि उक्त नाकामा हेल्थ डेस्कको स्थापना र जाँच सुरु भएको एक साता पनि पुगेको छैन । डीसीसीएमसी, स्वास्थ्य कार्यालय, अन्य संघसंस्थासँग कर्मचारी पठाइदिन आग्रह गरे पनि आफ्नैबाट काम चलाउनुस् भन्ने जवाफ पाइने गरेको चौधरीले बताए । उक्त नाकामा कर्मचारी भर्ना गरी रफ्तारमा जाँच गर्न अह्राइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।

माघीका अवसरमा प्रदेशभरि नै बिदा भएकाले माघ ३ गतेदेखि अनिवार्य रूपमा जनशक्ति खटिने उनले जानकारी दिए । ‘सधैंभरि देखिरहेको एउटै कारण छ,’ उनले भने, ‘मानिसमा जति गरे पनि चेतना भर्न नसक्दा हरेक परीक्षण असफल भइरहेको छ ।’ हेल्थ डेस्क सञ्चालन भएपछि ७५ जना संक्रमित भइसकेकाले आफूहरूले टेस्टलाई बढाउने र नाकाका भित्री बाटो भएर हिँड्नेहरूलाई रोक्न प्रयासरत रहेको मिश्रले बताए ।

प्रदेशको अर्को मुख्य नाका कपिलवस्तुको कृष्णनगर हो । उक्त नाकाबाट आएकामध्ये रेल र बसमा लामो यात्रा गरेर आएकाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले बताए । ‘हाल नाकामा दुई जना ल्याबका कर्मचारी खटिएका छन् । अन्य संस्था र नगरपालिकाले स्वास्थ्यकर्मी भनी सात जना प्रतिनिधि खटाएका छन्,’ उनले भने, ‘ल्याबमै काम गर्ने जनशक्ति नभए वा ती कर्मचारी संक्रमित भए परीक्षण कसले गर्ने ?’

नाकामा थप चार जना ल्याबमा काम गर्ने मानिस चाहिएको भन्दै उनले नगरपालिकामा नयाँ कर्मचारी भर्नाका लागि बजेट आइसके पनि करारमा हुने भर्नाका लागि आवेदक नआएको अवस्था रहेको घिमिरेको भनाइ छ ।

घिमिरेले नाकामा परीक्षण गर्नका लागि स्थान पनि कम भएकाले समस्या परिरहेको गुनासो गरे । उनले दुईवटा सामान्य टेन्ट टाँगी त्यहाँ आउने मानिसको एन्टिजेन परीक्षण गर्ने गरिएकामा मानिसको भीडभाड हुँदा भौतिक दूरी कायम गर्ने गरी स्पेस नरहेको बताए । कृष्णनगर नगरपालिकाले समन्वय गरी नाकामा ल्याबका कर्मचारी खटाउने जिम्मा पाएको भए पनि हालसम्म पालिकाले थप जनशक्ति नाकामा पठाउन सकेको छैन । विविध कारणले गर्दा जनशक्ति थप गरी काममा लगाउन नसकिएको कृष्णनगर नगरपालिकाका स्वास्थ्य संयोजक शंकर भट्टराईले बताए । आवश्यकताका आधारमा नाकामा रहेका कर्मचारीलाई कोरोना लागेमा अर्को कर्मचारी खटाउन पर्ने भए पनि त्यसका लागि तयारी पुगिनसकेको उनले बताए ।

दिनहुँ १ हजार बढी मानिस पास हुने नेपालगन्जको जमुनाह नाकामा खटिएका २४ स्वास्थ्यकर्मीमध्ये १० जनालाई संक्रमण पुष्टि भइसकेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले स्ट्यान्डबाइमा कर्मचारी राख्नुपर्ने आवश्यकता औंल्याएको कोरोना फोकल पर्सन तेज वलीले बताए ।

‘बाँकी रहेका १४ जना कर्मचारीबाट पनि काम चलिरहेको छ,’ उनले भने, ‘संक्रमितको संख्या बढ्ने र ल्याबका स्वाब संकलनकर्तामा संक्रमण देखिन थाले तत्कालै कर्मचारी आवश्यक पर्छ ।’ बैठकले स्वास्थ्य कार्यालयलाई ल्याबका कर्मचारी तयारी अवस्थामा राख्न र आवश्यकताअनुसार खटाउन भनेको भन्दै उनले स्थानीय तहका ल्याबमा रहेका जनशक्तिसमेतलाई प्रयोग गर्न मिल्ने गरी व्यवस्थापन गर्न आग्रह गरिएको बताए ।

लुम्बिनी प्रदेशको हकमा तीनवटा मुख्य नाकामा हेल्थ डेस्क राखी एन्टिजेन परीक्षण गर्ने निर्देशन भएअनुरूप काम भइरहेको स्वास्थ्य, जनकल्याण तथा परिवार कल्याण मन्त्रालय लुम्बिनीका सचिव डा. विकास देवकोटाले बताए । नाका भएका जिल्लाका स्वास्थ्य कार्यालयले आवश्यकता बताई माग गरे प्रदेशबाट हुने सहयोग गर्न तयार रहेको उनले जनाए ।

प्रकाशित : माघ ३, २०७८ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?