उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुन सक्दैन : यादव- समाचार - कान्तिपुर समाचार

उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुन सक्दैन : यादव

रासस

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । 

जनता समाजवादी पार्टी धनुषाले मुखियापट्टीस्थित बैरिया बजारमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकलाई सुन्दर र समृद्ध बनाउन सबै वर्ग र समुदायको राज्यमा अपनत्वको भावना जागृत हुनुपर्ने बताए ।

मुलुकमा शोषित, उपेक्षित मधेशी, जनजाति, मुस्लिम महिलालाई हकअधिकार दिलाउन अझै सङ्घर्ष जारी राखेको उल्लेख गर्दै अध्यक्ष यादवले ती समुदायलाई अधिकार दिलाई छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले वषौँदेखि विभेदमा रहेको मधेसीहरू मधेश आन्दोलनकै कारण सम्मान पूर्वक जीवनयापन गर्न थालेको बताइन् । मधेस आन्दोलनकै कारण शोषित वर्ग राज्यका हरेक अंगमा आरक्षण पाएको उल्लेख गर्दै जसपाका नेतृसमेत रहेका मन्त्री यादवले मधेसी, जनजाती, दलित, महिलालगायत उत्पीडित समुदायलाई आफ्नो पार्टीले मात्र अधिकार दिलाउने सक्ने दाबी गरिन् ।

प्रकाशित : माघ २, २०७८ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्

महेन्द्र माविलाई भलिबल उपाधि

कान्तिपुर संवाददाता

हेटौंडा — मकवानपुर जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाको महेन्द्र माविले जितेको छ । हेटौंडा उपमहानगर–४ हुप्रचौरमा सम्पन्न फाइनलमा थाहा नगरको सुन्दरीदेवी माविलाई २५–२१, २५–२३, २५–१६ को सोझो सेटमा हराएको हो । महेन्द्रले २५ हजार र सुन्दरीदेवीले १५ हजार रुपैयाँ पुरस्कार पाए । 

उत्कृष्ट खेलाडी महेन्द्र माविका रमेश परियार घोषित भए । उत्कृष्ट स्पाइकरमा सुन्दरीदेवीका प्रकाशबहादुर चन्द र उत्कृष्ट सेटर महेन्द्रकै प्रकाश थापामगर चुनिए ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरद्वारा आयोजित प्रतियोगितामा जिल्लाका १९ विद्यालयको सहभागिता थियो ।


प्रकाशित : माघ २, २०७८ २१:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×