अफगानिस्तानलाई सहयोग हस्तान्तरणपछि नेपाली टोली फिर्ता- समाचार - कान्तिपुर समाचार

अफगानिस्तानलाई सहयोग हस्तान्तरणपछि नेपाली टोली फिर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरणपछि नेपाली टोली आइतबार नै स्वदेश फर्किएको छ ।


आइतबार बिहान नेपाल एयरलाइन्सको जहाजमा सहायता सामग्री लिएर अफगानिस्तान पुगेको नेपाली टोलीले कावुल अन्तर्राष्ट्रिय विमानस्थलस्थित संयुक्त राष्ट्र संघका महासचिवका उपविशेष प्रतिनिधि तथा अफगानिस्तानका लागि मानवीय तथा विकास संयोजक रामिज अलकबरोबलाई सो सहयोग हस्तान्तरण गरेको हो ।

आइतबार परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगान जनतालाई आवश्यक औषधि, घरायसी सामग्री र लत्ता कपडा बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको थियो भने साँझ सो सहायता हस्तान्तरण गरेर नेपाल फर्किएको छ ।

सहयोग हस्तान्तरणपछि परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले अफगान जनताका लागि सहायता सामग्री हस्तान्तरण गर्न पाउनु नेपालको लागि गोरवको विषय भएको प्रतिक्रिया दिएकी छन् । प्रवक्ता लम्सालका अनुसार उक्त सहायता उपलब्ध गराउने काम परराष्ट्रमन्त्री डा. नारायण खड्काको पहलबाट सम्भव भएको थियो। मन्त्री खड्काको नेतृत्वमा नेपाली टोली अफगानिस्तान गएको थियो ।

प्रकाशित : माघ २, २०७८ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्

भारतबाट फर्किएका एक संक्रमितको मृत्यु

अर्जुन शाह

धनगढी — कोरोना संक्रमणबाट मृत्युदर घटेका बेला सुदूरपश्चिममा शनिबार एकजना संक्रमितको मृत्यु भयो । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ गाज्राका ५२ वर्षीय संक्रमितको आफ्नै घरमा मृत्यु भएको हो ।

भारतमा मजदुरी गर्ने उनी पुस २७ गते कञ्चनपुरको गड्डाचौकी सीमा नाका भएर फर्किएका थिए । सीमामा ऐन्टिजेन परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो, तर उनी क्वारेन्टाइन वा आइसोलेसनमा नबसी पुस २८ गते सिधै घर पुगेका थिए ।

‘घर पुगेको चौंथो दिनमा उनको मृत्यु भएको खबर आयो,’ खप्तड छेडेदह स्वास्थ्य चौकी बाजुराका इन्चार्ज नन्दबहादुर रावतले भने ‘स्वास्थ्य मापदण्ड पूरा गरेर आइतबार मृतकको अन्तिम संस्कार गरिएको छ । इन्चार्ज रावतले मृतकसँगै गाउँ फर्किएका गाज्राका अन्य एकजना र पीपल गाउँका तीनजनामा संक्रमण पुष्टि भएको बुझिएको बताए ।

गाउँमा स्वास्थ्य परीक्षण, औषधि उपचार र कोरोना परीक्षणको सुविधा नरहेको स्वास्थ्य चौकीका इन्चार्ज रावतले बताए । ‘औषधि पनि खासै केही छैन,’ उनले भने ‘स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्ने तयारी भए पनि प्राविधिक नभएकाले ढिलाइ भएको छ ।’

संक्रमितको मृत्युसँगै गाउँमा संक्रमण व्यापक रुपमा फैलिएको हुनसक्ने भन्दै स्वास्थ्यकर्मीहरूले परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । आइतबारसम्म बाजुरमा १८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैबीच सुदूरपश्चिमभर आइतबार १८४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार ७ जनाको पीसीआरमार्फत र १ सय ७७ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरूमा भारतबाट त्रिनगर–गौरीफन्टा नाका हुँदै आएका ७२ जना, कञ्चनपुरको गड्डाचौकी सीमा नाका भएर आएका ९२ जना, बैतडीको झुला हुँदैआएका ७ जना र दार्चुलाको जोलजिवी सीमा नाका हुँदैआएका एक जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित : माघ २, २०७८ १९:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×