२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कालापानी क्षेत्रमा एकपक्षीय सडक निर्माण रोक्न भारतलाई सरकारको आग्रह

काठमाडौँ — नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा एकपक्षीय सडक निर्माण कार्य रोक्न आग्रह गरेको छ ।

कालापानी क्षेत्रमा एकपक्षीय सडक निर्माण रोक्न भारतलाई सरकारको आग्रह

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली पूर्वका लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ रहेको भन्दै उक्त क्षेत्रमा एकपक्षीय सडक निर्माण कार्य रोक्न भारतलाई आग्रह गरेका छन् ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता कार्कीले भने, 'महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ ।'

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सडक निर्माणबारे सरकारको धारणा जारी गर्दै उनले भने, 'नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण/विस्तार रोक्न आग्रह गर्दै आएको छ । नेपाल र भारतबीच रही आएको घनिष्ट र मैत्रिपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचका सीमा समस्याको समाधान ऐतिहासिक सन्धि, सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रही आएको छ ।'

नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्धलाई मनन गरेर सरकारले सीमा समस्या समाधान गर्नका निमित्त कूटनीतिक माध्यमद्वारा प्रक्रिया अगाडि बढाउने मन्त्री कार्कीको भनाइ थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन पहिले लिपुलेक क्षेत्रमा सडक निर्माण कार्य तीव्रताका साथ अगाडि बढेको अभिव्यक्ति दिएका थिए । मोदीको अभिव्यक्तिमा नेपाल सरकारको धारणा माग हुँदै आएकोमा सरकारका प्रवक्ताले उक्त जानकारी दिएका हुन् ।

प्रकाशित : माघ २, २०७८ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?