खानेपानीको सपना बल्ल पूरा

विप्लव महर्जन

सल्यान — कालिमाटी गाउँपालिका-१ चोत्रेकी ४५ वर्षीय ममता भण्डारी घर नजिकैको मुहान सुकेपछि र सम्बन्धित निकायले योजना सञ्चालन नगर्दा १५ वर्षको उमेरदेखि घरदेखि शारदा नदीको किनारमा रहेको मुहानमा गएर पानी ल्याउन बाध्य हुँदै आएकी थिइन् । एक गाग्री पानीका लागि उनलाई आउजाउ गर्दा दुई घन्टा बढी लाग्ने गर्थ्यो ।

खानेपानीको सपना बल्ल पूरा

लामो समयदेखि टाढाबाट पानी बोक्नुपर्ने बाध्यताले गर्दा उनी कम्मर दुख्ने रोगबाट ग्रसित भएकी छन् । खानेपानीकै कारण लामो समयदेखि पीडित हुँदै आएकी उनको घर नजिकै धारामा पानी खान पाउने सपना बल्ल पूरा भएको छ ।

यस्तै ४० वर्षीय बबिता ओलीको पनि समस्या ममताको भन्दा फरक थिएन । राति नै उठेर सल्लेझर्कोको भरमा पानी लिन जानु पर्दा उनले विभिन्न कष्ट भोगेकी थिइन् । अप्ठ्यारो बाटोमा आउजाउ गर्दा धेरै पटक लडेर उनको शरीरमा चोट लागेको थियो । पानीको गाग्रीसहित लडेकी उनी अहिले पनि राम्रोसँग हिंड्न सक्दिनन् । हिउँदको समयमा चिसो बढ्यो भने उनका खुट्टा सुन्निने गर्छन् । एक गाग्री पानीका लागि दुई घन्टाभन्दा बढी हिंड्न बाध्य हुँदै आएकी उनले अहिले घर नजिकै धारामा पानी भर्न पाएकी छन् ।

यी दुईमात्र नभई पानीका लागि सास्ती भोग्दै आएका कालिमाटी गाउँपालिका-१ चोत्रे र हिङ्गवरेका महिलाहरूको घर नजिकै पानी भर्न पाउने सपना बल्ल पूरा भएको छ । खानेपानी कार्यालयको ५५ लाख रुपैयाँ अनुदानमा लिफ्ट खानेपानी योजना सञ्चालन गरेसँगै घरघरमा पानी पुर्‍याउने योजना पूर्ण रुपमा सम्पन्न नभए पनि बस्तीमा पुगेपछि स्थानीय महिलाको सपना पूरा भएको हो ।

जिल्लाको विकट बस्तीमा पर्ने चोत्रे र हिङ्गवरेमा पानी पुगेपछि अहिले ४० घर लाभान्वित भएका छन् । पानीका लागि स्थानीय महिलालाई राति नै उठ्ने तथा लामो समय हिँडनुपर्ने बाध्यताको अन्त्य भएको छ । स्थानीय महिलाले घर नजिकै सहज रुपमा पानी भर्न पाएका छन् । घर नजिकै धारामा पानी भर्न पाउँदा महिला खुसी भएका छन् ।

खानेपानी कार्यालयको एक घर एक धाराअन्तर्गतको लिफ्ट योजना पूर्ण रुपमा सम्पन्न नभए पनि बस्तीमा पानी पुगेपछि धेरै राहत भएको ५० वर्षीय पूर्णिमा बोहराले बताइन् । पानीका लागि अहिले विभिन्न किसिमका जोखिम उठाउनु नपर्ने भएको उनले बताइन् । ‘पानीका लागि धेरै दुःख थियो‚’ बोहरा भन्छिन्‚ ‘बस्तीमा बाहिरबाट कोही आए पनि पानी माग्दा पानी खान दिन गाह्रो हुन्थ्यो । बाहिरबाट आएकाले अन्य खाने वस्तु मागून्‚ बरु पानी नमागून् भन्ने लाग्थ्यो । अब त्यस्तो लाग्दैन ।’

बारम्बार सम्बन्धित निकायमा माग गर्दै आएको झन्डै तीन दशकपछि मात्र योजना परेर अहिले बस्तीमा खानेपानी पुगेको स्थानीय कर्णबहादुर बोहराले बताए । पानी पुगेपछि स्थानीय महिला तथा बालबालिकालाई रातदिन नभनी पानी बोक्नुपर्ने समस्याको समाधान भएको उनले जानकारी गराए । उनका अनुसार पानीका लागि स्थानीय महिलाले विभिन्न किसिमका समस्या भोग्दै आएका थिए । जंगली जनावरको त्रासका कारण ज्यान जोखिममा पार्दै आएका थिए । समयमै खाना खान नपाउँदा बालबालिका नियमित विद्यालय जान पाउँदैनथे । सरसफाइमा धेरै कठिनाइ थियो । अहिले भने सहज भएको छ ।

कालिमाटी गाउँपालिका-१ का वडा अध्यक्ष रविलाल बस्नेतले विगतमा पानीका लागि धेरै समस्या भए पनि चोत्रे‚ हिङ्गवरे योजना संचालनमा आएपछि स्थानीयलाई खानेपानीको पिरलो टरेको बताउँछन् । सम्बन्धित निकाय समक्ष छिटोभन्दा छिटो काम सम्पन्न गरेर स्थानीयलाई घरघरमै पानी पुर्‍याउनसमेत उनले आग्रह गरे । पानीकै समस्याका कारण विगतमा धेरैले बसाइसराइ गरेको उनको भनाइ छ ।

आर्थिक वर्ष २०७६ देखि संचालित चोत्रे, हिङ्गवरे लिफ्ट खानेपानी योजनाको काम पूरा नभइसके पनि गत दुई महिनादेखि नै स्थानीयले बस्ती नजिकै धारा जडान गरेर सामुहिक रुपमा पानी खाँदै आएको खानेपानी कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटाले बताए । एक घर‚ एक धारा कार्यक्रमअन्तर्गत उक्त लिफ्ट योजनाका लागि ५५ लाख रुपैयाँ खर्च भइसकेको उनले जानकारी गराए ।

उनका अनुसार ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको योजनाको अब घरघरमा लाइन विस्तारमात्र बाँकी रहेको छ । गतवर्ष कोरोनालगायत समस्याका कारण समयमै योजना सम्पन्न हुन नसके पनि यो वर्ष सम्पन्न भएर समुदायलाई हस्तान्तरण गरिने उनले बताए ।

प्रकाशित : माघ २, २०७८ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?