ललितपुरमा बुस्टर डोज आजबाटै, काठमाडौंमा सोमबार र भक्तपुरमा मंगलबारबाट मात्रै

मकर श्रेष्ठ

काठमाडौँ — काठमाडौं उपत्यकाको ललितपुर जिल्लामा आइतबारबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको छ । काठमाडौं जिल्लामा भने सोमबारबाट र भक्तपुरमा मंगलबारबाट मात्रै खोप दिन थालिने बताइएको छ ।

ललितपुरमा बुस्टर डोज आजबाटै, काठमाडौंमा सोमबार र भक्तपुरमा मंगलबारबाट मात्रै

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिष विष्टका अनुसार आइतबार पाटन अस्पतालबाट बुस्टर डोज लगाउन सुरु गरिएको हो । उनका अनुसार ललितपुर जिल्लाका हरेक स्थानीय तहबाट खोप दिइने छ ।

यस्तै, काठमाडौंबाट भने सोमबारबाट मात्रै बुस्टर डोज लगाउन सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख सागर घिमिरेका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ २ गतेदेखि फ्रन्टलाइनमा काम गर्नेहरूलाई बुस्टर दिने घोषणा गरेपनि केही प्रवाधिक तयारी गर्नुपर्ने भएकाले आइतबार बुस्टर दिन नसकिएको हो ।

उनका अनुसार काठमाडौं उपत्यकामा १८ स्थानबाट खोप दिने तयारी स्वास्थ्य कार्यालयले गरेको छ । 'हामीले खोप कहाँ-कहाँ कति मात्रा पठाउने लगायतका विभिन्न प्राविधिक विषयमा अन्तिम तयारी गरिरहेका छौं । भोलीबाट बुस्टर लगाउन सुरू गर्छौं,' उनले भने ।

साथै, भक्तपुरमा भने मंगलबारबाट खोप दिन थालिने छ । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार केन्द्रबाट खोप ल्याउने कार्य भइरहेकाले मंगलबारबाट मात्रै खोप दिन लागिएको हो । उनका अनुसार भक्तापुरमा हरेक स्थानीय तह तथा स्वास्थ्य कार्यालयहरूबाट खोप लगाउने व्यवस्था मिलाइँदै छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार मन्त्री स्तरीय निर्णय गरेर माघको २ गतेदेखि अग्रपंतिमा खटिने व्यक्तिहरूलाई र १४ गतेदेखि ६० वर्ष र माथिका नगरिकहरूलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज दिने निर्णय भएको सार्वजनिक गरेको थियो । बुस्टर डोजका रुपमा पहिला पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएको हुने छ भने पहिले लगाएकै खोप बुस्टरका रुपमा दिइने छ ।

प्रकाशित : माघ २, २०७८ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?