कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रधानमन्त्री कार्यालयमा दोब्बर सचिव

ऋषिराम पौड्याल

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औचित्य पुष्टिबिना बढुवा र दरबन्दी सिर्जना गरेर सचिव संख्या नौ पुर्‍याइएको छ ।

प्रधानमन्त्री कार्यालयमा दोब्बर सचिव

चार जनाको दरबन्दी रहेको उक्त कार्यालयमा दोब्बरभन्दा बढी सचिव हुँदा उनीहरूका लागि बस्ने ठाउँको समेत अभाव छ । कतिपय सचिव काम नै नभएकाले कार्यालयमा हाजिर गरेर मात्रै बस्ने गरेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेजी भएपछि त्यहाँ कार्यरत सुशीलचन्द्र तिवारीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव दरबन्दी सिर्जना गरिएको थियो । उक्त स्थानमा रमेश सिंहलाई राखिएको छ, तिवारीलाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ । यस्तै विशेष दरबन्दी सिर्जना गरेर सचिव खगेन्द्र नेपाललाई प्रधानमन्त्री कार्यालयमा राखिएको छ । उनी अशक्त भएकाले सचिवको विशेष दरबन्दी सिर्जना गरेर राखिएको हो । यमकुमारी खतिवडाको दरबन्दी स्वास्थ्य मन्त्रालयमा राखिएको छ । उनलाई काम भने प्रधानमन्त्री कार्यालयमा गर्नुपर्ने पत्र थमाइएको छ । खतिवडालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सरुवा गरिएको थियो । उनले आगामी जेठमा अवकाश पाउँदै छिन् । प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ सचिवले व्यंग्यात्मक शैलीमा भने, ‘कार्यालयको जता गए पनि कोठैपिच्छे सचिव ठोकिने भए ।’

निजामती कर्मचारीभित्र गलत प्रवृत्ति हावी भएको भन्दै सरोकारवाला र पूर्वप्रशासकले विरोध गरेका छन् । प्रधानमन्त्री कार्यालयमा सचिवले बस्ने कुर्सी नपाएको अवस्थामा दरबन्दी फेरि थप गरेको प्रसंग जोड्दै पूर्वसचिव शान्तराज सुवेदीले प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्यसचिव शंकर बैरागीलाई मेन्सन गर्दै बुधबार ट्वीटरमा व्यंग्य गरेका थिए, ‘के जात्रा हो यो ? व्यवस्थापकीय उच्च पद सचिवलाई यति सस्तो नबनाऔं न हो प्रमज्यू ।’ उनले डेढ साताअघि पनि देउवा र बैरागीलाई मेन्सन गर्दै ट्वीट लेखेका थिए, ‘कुनै पनि दरबन्दी थप ओएन्डएम (संगठन तथा व्यवस्थापन) सर्वेक्षण गरेर आवश्यकता र कामको चापका आधारमा गर्नुपर्छ । सचिव जस्तो उच्च व्यवस्थापकीय पदलाई व्यक्तिको चाहना र आवश्यकता हेरेर यति हल्का रूपमा लिनु हुँदैन । अर्थ, सामान्य र मुख्यसचिवले यसलाई गम्भीरतापूर्वक लिनु जरुरी छ ।’

पछिल्लो समय मन्त्रिपरिषद्को निर्णय एक जना सचिवको दरबन्दी थप्ने वा मिलाउने काममा मात्र सीमित छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले व्यक्तिहरूको व्यवस्थापन मिलाउन तीन जना सचिवको दरबन्दी सिर्जना गरेको छ । प्रधानमन्त्री कार्यालयमा ११ वटा महाशाखा र मुख्यसचिवको सचिवालयसहित २७ वटा शाखा छन् ।

पूर्वसचिव गोपीनाथ मैनाली प्रधानमन्त्री कार्यालय सुशासन दिने मूल स्थान भएकाले काम विभाजन गर्ने हो भने सचिवहरूको आवश्यकता पुष्टि हुने बताउँछन् । ‘काम गर्ने हो भने धेरै छन्,’ उनले भने, ‘कसैमाथिको रिसइबी साध्ने र कसैलाई खुसी पार्ने मात्र नियत राखियो भने उपलब्धि हुँदैन ।’ प्रधानमन्त्री कार्यालयमा खटिने सचिवले आफूलाई सजाय दिएको सोच्ने वातावरण भयो भने परिणाम राम्रो नहुने उनले बताए । उनी सचिव हुँदा तीन महिना प्रधानमन्त्री कार्यालय बसेका थिए ।

यसैबीच मन्त्रिपरिषद् बैठकले सेवा अवधि सकिन चार दिन मात्र रहेका शंकर खरेललाई सचिवमा बढुवा गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले रामेश्वर दंगाल, मुकुन्द निरौला र शंकर खरेलको नाम सचिवका लागि सिफारिस गरेको थियो । तेस्रो नम्बरमा रहेका खरेल सचिव बनेका हुन् ।

दरबन्दी बढाउँदा सचिवका लागि कर्मचारी व्यवस्थापन, तलब, गाडी, चालक, पेन्सनलगायत शीर्षकमा राज्यले कराडौं रुपैयाँ बेहोर्नुपर्छ । एक जना सचिवलाई सचिवालय वा महाशाखामा १५–२० जना कर्मचारीको व्यवस्था मिलाउनुपर्छ ।

प्रकाशित : माघ २, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?