३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

थारु समुदायमा माघीको हर्षोल्लास

काठमाडौँ — थारु समुदायको प्रमुख पर्वमध्ये एक मानिने माघी अर्थात् नयाँ वर्ष धुमधामसाथ मनाइएको छ । थारु समुदायले हरेक वर्ष माघ १ गतेको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।

थारु समुदायमा माघीको हर्षोल्लास

यस वर्ष पनि उनीहरूले नदीमा स्नान गर्नुका साथै खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका छन् । साथै यस अवसरमा दान गर्ने पनि प्रचलन छ ।

देशका विभिन्न सहरमा ससाना समूह मिलेर शुभकामना आदानप्रदान गरेर थारु समुदायले माघी पर्व मनाइरहेका छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्छ ।

यस पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामसाथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला-बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायमा छ ।

बेलुका आगनमा मुढा बालेर धुनी जगाइन्छ । र धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गरिन्छ । यस समुदायमा माघ १ देखि ५ दिनसम्म आफू स्वतन्त्र भएको अनुभव गर्ने बताइन्छ ।

साथै सक्नेहरू चार धाम जाने र नसक्नेहरूले नजिकको तीर्थस्थलमा गई गच्छेअनुसार दान गर्ने चलन छ । यस्तै कुनै कारणले श्राद्ध कर्म रोकिएकाले यसै दिन श्राद्ध गर्दा कर्म पूर्ण हुने पनि जनविश्वास छ ।

माघीका दिन अधिकांश स्थानमा आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनोट गर्ने चलन थारु समुदायमा छ । थारु समुदायमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुने मानिन्छ । जुन बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

विशेषगरी तराईका थारु समुदायले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् ।

सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई थारु समुदायमा स्वतन्त्रता दिवसको रुपमा समेत मनाइन्छ ।

प्रकाशित : माघ १, २०७८ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?