माघ २ गतेदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माघ २ गतेदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने

माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने र माघ १४ गतेदेखि ६० वर्षमाथिका र खोपको पूर्ण मात्रा लगाएको ६ महिना भएकालाई बुस्टर मात्रा दिइने
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले माघको पहिलो हप्तादेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पुस २८ गते माघको पहिलो हप्तादेखि बुस्टर मात्रा दिने मन्त्रीस्तरीय निर्णय भएको हो ।

स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यलयलाई पत्र लेख्दै बुस्टर मात्राको खोप लगाउन निर्देशन दिएको छ । माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्ति र माघको १४ गतेदेखि ६० वर्षमाथि र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर मात्राको खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बुस्टर मात्रामा पहिले लगाएकै खोप दिइने पनि मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले अहिलेसम्म २ करोड ७४ लाख ७५ हजार ९ सय ९५ मात्रा खोप लगाइसकेको छ । त्यसमध्ये कम्तीमा एक मात्रा लगाउनेको संख्या १ करोड ५६ लाख ६ हजार २१ र पूर्ण मात्रा लगाउनेको संख्या १ करोढ १८ लाख ६९ हजार ९ सय ७४ रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म विभिन्न मुलुकबाट खरिद गरिएको र सहयोगस्वरूप प्राप्त गरी नेपालमा कुल ४ करोड ३ लाख ८८ हजार ८ सय ४० मात्रा खोप प्राप्त भएको छ ।

प्रकाशित : माघ १, २०७८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

शुक्र सेन्ट्रल ओपन च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जितेका छन् । शुक्र गोकर्ण गल्फ क्लबमा शुक्रबार एक ओभर ७३ स्कोर गर्दै ७२ होलको कोर्समा कुल १० अन्डर २ सय ७८ को कार्ड बनाएर च्याम्पियन बने ।

उनले रवि खड्कालाई एक स्ट्रोकले पछाडि पारे । सूर्य नेपाल गल्फ टुर २०२१–२२ को तेस्रो इभेन्टमा शुक्रको यो दोस्रो उपाधि हो । दुई साताअघि उनले गृहनगर धरानमा सूर्य नेपाल इस्टर्न ओपन जितेका थिए । उनले अघिल्लो दिनको खेल समाप्तिमा रवि र भुवन नगरकोटीमाथि ६ स्ट्रोकको अग्रता लिएका थिए ।

अन्तिम दिन चार अन्डर ६८ खेलेका रविले ९ अन्डर २ सय ७९ को कार्ड बनाए । इभन पार ७२ खेलेका भुवन नगरकोटी ६ अन्डर २ सय ८२ को स्कोर बनाउँदै तेस्रो भए । शुक्रले १ लाख ३५ हजार, रविले ८८ हजार र भुवनले ६५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

सुवास तामाङ ४ अन्डर २ सय ८४ अंकसाथ चौथो भए । एमेच्योरतर्फको उपाधि जितेका सुवासले अन्तिम दिन इभन पार ७२ को स्कोर बनाए । एमेच्योरमै दोस्रो स्थानमा रहेका सद्भाव आचार्य ५ अन्डर २ सय ९३ को कार्ड बनाउँदै समग्रमा सातौं स्थानमा रहे । नेपाल प्रोफेसनल गल्फर्स संघले सूर्य नेपालको प्रायोजनमा गरेको प्रतियोगितामा व्यावसायिकतर्फ ३९ र एमेच्योरमा १९ गल्फरले भाग लिएका थिए । विजयी खेलाडीलाई सूर्य नेपालका सहायक ब्रान्ड म्यानेजर नवीन सरोज र आयोजक संघका सल्लाहकार घनश्याम थापाले पुरस्कृत गरेका थिए ।

प्रकाशित : माघ १, २०७८ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×