ओमिक्रोन सामान्यतः तीनदेखि पाँच दिनमा निको- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओमिक्रोन सामान्यतः तीनदेखि पाँच दिनमा निको

खोप नलगाएका र पूर्ण मात्रा लगाएको ६ महिनाभन्दा बढी भइसकेका व्यक्तिमा भने जटिलता
अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ को तेस्रो लहरमा संक्रमित भएकाहरू सरदर तीनदेखि पाँच दिनमा निको भएको विज्ञहरूको भनाइ छ । खोप नलगाएका र पूर्ण मात्रा लिएको ६ महिनाभन्दा बढी भइसकेका व्यक्तिमा केही जटिलता देखिएको छ ।

पछिल्लो भेरिएन्ट ओमिक्रोनले धेरैजसोको फोक्सो नभई माथिल्लो श्वासनलीमा संक्रमण गराएर घाँटीमा खसखस, खोकी व्यापक रूपमा गराए पनि यसपटक अस्पताल भर्ना भएकालाई खासै बढी अक्सिजनको आवश्यकता परेको छैन । संक्रमितलाई ज्वरोसमेत निम्नमध्यम स्तर अर्थात् सरदर ९९ डिग्री सेल्सियसदेखि १०० डिग्री सेल्सियससम्म आएको छ ।

पहिलो र दोस्रो लहरताका संक्रमितहरू सामान्यतः १० दिनदेखि १४ सम्ममा निको हुने गरे पनि हाल औसत ३ देखि ५ दिनसम्ममा निको हुने गरेका छन् । यस्तै दोस्रो लहरको दाँजोमा अस्पताल बसाइको अवधिमा समेत कमी आएको छ ।

‘हाल खोप नलगाएका वा पूर्ण मात्रा लगाएको ६ महिनाभन्दा बढी समय भएकाहरू मात्र तेस्रो लहरको संक्रमणमा गम्भीर बिरामी भएको देखिएको छ,’ वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड सेन्ट्रल हस्पिटलका उपनिर्देशक एवं छातीरोग विशेषज्ञ डा.प्रज्ज्वल श्रेष्ठले भने, ‘अब दुई मात्रा खोप लगाएर पुगेन, ६ महिनाभन्दा बढी भएकालाई जटिलताबाट जोगाउन बुस्टर डोज आवश्यक देखिएको हामीकहाँ भर्ना भइरहेका बिरामीको मेडिकल हिस्ट्रीले देखाएको छ ।’ उनका अनुसार अस्पतालमा भर्ना भएकामा दुई मात्रा खोप लगाएको ६ महिना नाघिसकेकामा जटिलता देखिएको छ ।

अहिले वीर अस्पतालमा भर्ना रहेका ५२ जना बिरामीमा झन्डै ३८.४६ प्रतिशत अर्थात् २० जना कोभिडविरुद्धको खोप नलगाएका छन् । ६१.५३ प्रतिशत अर्थात् ३२ जनाले एक मात्रा र ५३.८४ प्रतिशत अर्थात् २८ जनाले दुई मात्रा खोप लगाएका छन् । मुलुकमा पहिलो र दोस्रो लहरताका रुघाखोकीको लक्षण भएकालाई कोभिड नभएको बुझिने गरिए पनि तेस्रो लहरमा सबैजसो संक्रमितमा रुघाखोकीको लक्षण देखिएको डा. श्रेष्ठले बताए । यसबाहेक निम्नमध्यम स्तरको ज्वरो, घाँटी दुखाइ, तीव्र जीउ, टाउको दुखाइसमेत लक्षणका रूपमा देखिएका छन् ।

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कोभिड बिरामी राख्ने कक्षको सफाइ गर्दै कर्मचारी । अस्पतालमा केही दिनयता संक्रमित बढ्न थालेका छन्। तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

त्रिवि शिक्षण अस्पतालमा कोभिड संक्रमणले भर्ना रहेका ३७ जना बिरामीमध्ये धेरैजसोलाई फोक्सोमा असर गरेको छैन । निमोनिया भएकालाई पनि ‘लो–फ्लो’ अक्सिजनले नै काम चलेको छ । खोप नलगाएका, बूढापाका दीर्घरोगी र एकभन्दा बढी रोग भएकामा जटिलता बढी देखिएको छ । भर्ना रहेकामध्ये करिब २५ प्रतिशतलाई फोक्सोमा असर (निमोनिया) देखिएको औंल्याउँदै त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा.सन्तकुमार दासले भने, ‘दोस्रो लहरमा भर्ना भएकामध्ये करिब ९० प्रतिशतसम्मलाई दुवै फोक्सोमा निमोनिया देखिएको थियो । तर, अहिले निमोनिया भएकालाई २ लिटरदेखि ६ लिटरसम्म प्रतिमिनेट लो–फ्लो अक्सिजन दिनुपरेको छ । केही बिरामीलाई निमोनिया भए पनि अक्सिजन चाहिएको छैन ।’

दोस्रो लहरमा शिक्षण अस्पतालमा भर्ना रहेका निमोनिया भएका बिरामीलाई ‘नन रिब्रिदिङ मास्क (एनआरएम)’, १५ लिटर प्रतिमिनेट हाई–फ्लो केनुलाबाट करिब ६० लिटरदेखि ८० लिटरसम्म अक्सिजन प्रतिमिनेट दिनुपरेको थियो । त्यसताका अस्पताल भर्ना हुनेलाई निको हुन सामान्यतः १० दिनदेखि दुई सातासम्म लाग्ने गरेको थियो । वीर अस्पतालमा भर्ना रहेका ५२ जनामध्ये ७५ प्रतिशत अर्थात् ३९ जनालाई फोक्सोमा सामान्य खालको असर देखिएको छ । ३५ जनालाई अक्सिजन चाहिए पनि धेरै कम परिणाम अर्थात् प्रतिमिनेट १ लिटरदेखि २ लिटरसम्म अक्सिजन दिइएको छ ।

पहिलो र दोस्रो लहरको दाँजोमा हाल भर्ना भएकाको अस्पताल बसाइ अवधिमा समेत कमी देखिएको छ । ‘अहिले धेरैजसो पहिलो र दोस्रो लहरभन्दा केही पृथक् ओमिक्रोनको लक्षण लिएर अस्पताल आइरहेका छन् र छिटो निको भइरहेका छन्,’ डा.दासले भने, ‘सामान्य र मध्यम लक्षण देखिएका करिब ९० प्रतिशतभन्दा बढी घरकै सामान्य स्याहारमा निको भइरहेको आकलन छ ।’

तेस्रो लहरसँग जुधिरहेका नेपाली खोपले गर्दा पहिलो र दोस्रो लहरको दाँजोमा बढी सुरक्षित रहेको औंल्याउँदै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा.नवीनप्रकाश शाहले भने, ‘आधा जनसंख्याले कम्तीमा एक मात्रा खोप लिएकाले अस्पताल भर्ना कम भइरहेको छ भने संक्रमणको गम्भीरता र मृत्युसमेत नगन्य छ ।’

दोस्रो लहरमा कोभिड निको भएपछि समेत काम गर्दा स्याँस्याँ हुने, खोकी जारी रहने, कमजोरीलगायतका लक्षण देखिएको थियो भने तेस्रो लहरमा निको भएकामा पिठ्युँ, कम्मरलगायत शरीरको दुखाइ र थकाइ देखिएको छ । ‘बिरामीले संक्रमणताका र निको भएपछि समेत यस्तो दुखाइ, थकान अनुभव गरिरहेका छन्, यसो हुनुको वास्तविक कारण भविष्यमा हुने अध्ययन अनुसन्धानबाट थाहा हुन्छ,’ शाहले भने ।

दोस्रो लहरमा संक्रमणपछि स्वाद र गन्ध हराउने समस्यासमेत देखिए पनि तेस्रो लहरमा यो समस्या खासै देखिएको छैन । तेस्रो लहरमा खोप लगाएकाका लागि हलुका सुरक्षा देखिए पनि नलगाएकाका लागि यो संक्रमण खतरनाकसमेत हुन सक्ने उनले बताए । राजधानीका ठूला अस्पतालमा उपचाररत बिरामीको जस्तै स्थिति उपत्यकाबाहिरको स्वास्थ्य निकाय पुग्नेमा समेत देखिएको छ ।

अधिकांशले संक्रमण थाहा पाएको दुई–तीन दिनमै सास फेर्न गाह्रो भएको, स्वाँस्वाँ भएको गुनासो नगर्ने गरेको औंल्याउँदै सेती प्रादेशिक अस्पतालका कोभिड उपचार प्रमुख एवं मेडिसिन विभाग प्रमुख डा.शेरबहादुर कमरले भने, ‘सास फर्न गाह्रो हुने, अक्सिजनको आवश्यकताजस्तो समस्या हालसम्म खासै देखिएको छैन । अधिकांशमा रुघाखोकीजस्तो लक्षण लिएर आइरहेका छन् ।’

प्रकाशित : माघ १, २०७८ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्

मुस्किलले भेटिन्छन् हराएका मोबाइल

देशबाहिर पुगेनन् भने खोजी सूचीका मोबाइल कुनै सिम प्रयोग हुनेबित्तिकै कहाँ छ भन्ने ट्र्याक हुन्छ, चोर पनि समातिन्छन् 
सजना बराल

काठमाडौँ — मोबाइल हराए, चोरी भए वा लुटिएमा हतपत नभेटिने देखिएको छ । प्रहरी र दूरसञ्चार प्राधिकरणको तथ्यांक हेर्दा उजुरी र फेला परेकाको संख्याले यसको पुष्टि गर्छ । महानगरीय प्रहरी परिसर काठमाडौंको तीन वर्षको तथ्यांकअनुसार ३८ हजार ५० वटा मोबाइल हराएको उजुरी परेका छन् । त्यसरी उजुरी परेकामध्ये ४ हजार ७ सय वटा मात्रै फेला परेका छन् । 



हराएकाको तुलनामा फेला परेको संख्या १२.३५ प्रतिशत मात्र हो । मासिक न्यूनतम ५ सयदेखि बढीमा १५ सय वटासम्म मोबाइल हराएका उजुरी पर्ने गरेको परिसरले जनाएको छ । यसमा औसतमा १०/११ प्रतिशत मात्रै फेला पर्ने गरेको छ । यस्तै, प्राधिकरणको पछिल्लो चार आर्थिक वर्षको तथ्यांकमा पनि हराएर भेटिने मोबाइल फोनको संख्या निकै कम देखिन्छ ।

आव २०७६/७७ मा १ हजार १ सय ६२ वटा मोबाइल हराएको निवेदन परेकामा प्राधिकरणले २ वटा मात्रै पत्ता लगाउन सकेको थियो । आव २०७७/७८ मा २ हजार ३ सय ९४ वटा हराएको निवेदन परेको थियो । त्यसमा ९ सय २७ वटाको कहाँ प्रयोग भइरहेका छन् भन्ने पत्ता लागे तर एउटै पनि भेटिएनन् ।

‘पोहोर चाबहिलबाट लगनखेल जाँदै गर्दा गाडीभित्रै मोबाइल हरायो, प्रहरीमा उजुरी दिएकी थिएँ, अझै भेटिएको छैन,’ फेसन डिजाइनर दृष्टा शाक्य भन्छिन्, ‘सामसङको एम–टेन सेट थियो, ३५ हजारमा किनेकी थिएँ । गाडीमा चोरी भयो जस्तो लाग्छ । प्रहरीले फोनमा अर्को सिम नहालेसम्म ट्र्याक गर्न सकिँदैन भनेको थियो । धेरैचोटि धाएँ तर भेटिएन ।’ फोन सेट हराउँदा सम्पर्क नम्बर, कागजपत्र, फोटा र उपयोगी दस्ताबेज सबै हराउने भएकाले निकै ठूलो नोक्सान परेको अनुभव उनको छ ।

प्रहरी परिसर काठमाडौं (टेकु) को मोबाइल शाखाको विवरणअनुसार आइफोन, सामसङ, वान प्लसजस्ता ब्रान्डका महँगा फोन चोरी, पकेटमारी र लुटपाट हुने गरेका छन् । प्रहरीले इन्टरनेसनल मोबाइल इक्विप्मेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बरका आधारमा अदालतको अनुमति लिएर कल डिटेल रेकर्ड (सीडीआर) हेरेपछि नेपाल टेलिकम र एनसेललगायतका दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग सिम डिटेल्स मागेर सेटको लोकेसन पत्ता लगाउने गर्छ ।

आईएमईआई नम्बर थाहा नभए सिम कार्ड कुन अपरेटर (एनीटीसी, एनसेल, स्मार्ट आदि) को हो, उसलाई सम्पर्क गरी अदालतकै अनुमतिमा डिटेल्स हेरिन्छ । त्यसबाट मोबाइलको आईएमईआई पत्ता लगाउने गरिन्छ । पत्ता लागेपछि सीडीआर र युजर डिटेल्सबाट हराएको सेट फेला पार्न सकिन्छ ।

‘अहिले आईएमईआई हेर्नेलगायत प्रविधि प्रयोग गरी फोन ट्रेस गर्ने गरेका छौं,’ प्रहरी परिसर काठमाडौं (टेकु) का एसपी दिनेशराज मैनालीले भने, ‘मोबाइल नेटवर्क र इन्टरनेट सेवा प्रदायक सबैसँग मिलेर छुट्टै एप्लिकेसन डिजाइन गर्न पाए यो काम अझ सहज हुन्थ्यो । आईएसपीहरूबाट विवरण लिने मेकानिज्म बनेको छैन ।’ हराएका सेट खोज्न अदालतसँग अनुमति लिनुपर्ने प्रक्रिया झन्झटिलो छ । हराएका मोबाइलबारे उजुरी परेको अनुपातमा प्रविधि बुझ्ने जनशक्ति प्रहरीसँग निकै कम छन् ।

‘उजुरी दिएपछि जो बारम्बार सोधपुछका लागि आउनुहुन्छ, उहाँहरूको फोन भेटिएकै छ,’ एक प्रहरी अधिकृतले भने, ‘प्रहरीले वास्ता गरेन भन्ने हुँदैन । असाध्यै दुःख गरेर पत्ता लगाइदिएको फोन लिन नआएपछि हामीले प्रदर्शनीमा राख्नुपरेको पनि छ ।’ आईएमईआई ट्रेसिङ प्रविधिसँगै मिडिया एक्सेस कन्ट्रोल आईडी (म्याक आईडी) ट्रेसिङ सुरु गर्न सके हराएका/चोरी भएका फोन पत्ता लगाउन अझ सजिलो हुने प्रहरीको भनाइ छ ।

प्रक्रियामा भलै ढिला हुन्छ तर एक ठाउँबाट चोरी भएका वा हराएका मोबाइल सेट सीमापारि नपुगी देशभित्रै कुनै पनि ठाउँमा पुनः प्रयोग हुँदा ट्र्याक गर्न सकिन्छ । ती सेट भेटिन्छन्, चोर पनि पक्राउ पर्छन् । प्रहरीका अनुसार चोरी, लुटपाट वा पकेटमारी भएका अधिकांश मोबाइल सेटमा सिम कार्ड प्रयोग गरिएका हुँदैनन् । सिम प्रयोग नभए, चोरेर विदेश पुर्‍याइए वा नेपालभित्रै पार्टपुर्जा निकालेर अर्को फोनमा प्रयोग गरे त्यस्ता फोन भेटिँदैनन् । हराएको मोबाइल सेटमा फोन लागे पनि फोन नउठाइए ट्र्याक गर्न मिल्दैन ।

‘बरु, मोबाइलमा जीपीएस (लोकेसन) अन राखेको छ भने फाइन्ड माई मोबाइल/डिभाइसमार्फत आफैंले पत्ता लगाउन सकिन्छ,’ एक प्रहरी अधिकारीले भने । चोरी भएका मोबाइल फोन न्युरोडतिरका पसलमा लगेर पासवर्ड अनलक गरी फेसबुक मार्केट प्लेस र ई–कमर्स साइटमा बिक्रीका लागि राखेको पनि पाइने प्रहरीहरू बताउँछन् । मोबाइल फोन चोरी गरे वा चोरीका फोन अनलक गर्न सघाए मुलुकी अपराध संहिता, २०७४ बमोजिम दुईदेखि सात वर्षसम्म कैद र २० हजारदेखि ७० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

मोबाइल हराए वा चोरी भएमा प्रहरी र दूरसञ्चार प्राधिकरणमा निवेदन दिन सकिन्छ । प्राधिकरणको वेबसाइटमा ‘मोबाइल ट्र्याक’ विवरण टिपाएपछि सम्बन्धित मोबाइल सेवा प्रदायकलाई ट्रेसिङका लागि पठाइन्छ । सञ्चार सेवा प्रदायकहरूले आफ्ना नेटवर्कमा उक्त मोबाइल प्रयोग हुनासाथ प्राधिकरणलाई जानकारी दिन्छन् । त्यस्तो बेला प्रहरीलाई भनेर मोबाइल भेटिएको जानकारी दिने गरिएको प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले बताए ।

प्रकाशित : माघ १, २०७८ ०६:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×