२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आइसोलेसन भरियो, भाग्न थाले संक्रमित

अस्पतालको आइसोलेसनमा बसेका संक्रमित खाना खोज्न आफैं कुद्छन् 
भवानी भट्ट

कञ्चनपुर — महाकाली प्रादेशिक अस्पतालको आइसोलेसन केन्द्रमा बुधबार बिहानसम्म १७ जना संक्रमित थिए । गड्डाचौकी नाकामा संक्रमण देखिएकालाई एम्बुलेन्समार्फत बिहानैदेखि आइसोलेसनमा ल्याउन थालियो । एकैछिनमा संक्रमित भरिए । स्वास्थ्यकर्मीको टोली आइसोलेसनमा पुग्दा संक्रमितहरू धमाधम भाग्न थालेको देखियो ।

आइसोलेसन भरियो, भाग्न थाले संक्रमित

‘हामी पुग्दा त दुई/तीन जना संक्रमित भागिसकेका रहेछन्,’ महाकाली प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा.गोविन्द रोकायाले भने, ‘बिरामीको चाप बढ्दै गएको छ तर उनीहरूको रेखदेख हुन सकेको छैन ।’ उनका अनुसार ५० शय्याको आइसोलेसन केन्द्रमा दोब्बरभन्दा बढी संक्रमित राख्नुपर्दा झनै समस्या भएको हो ।

भारतबाट घर फर्किने नेपालीको गड्डाचौकी नाकामै एन्टिजेन परीक्षण गरिन्छ । संक्रमण देखिएमा उनीहरूलाई सोझै एम्बुलेन्सबाट अस्पताल पुर्‍याइन्छ तर अस्पतालमा उनीहरूको कुनै रेकर्ड हुँदैन । उनीहरूलाई आइसोलेसनमा राखेपछि कुनै रेखदेख पनि हुँदैन । यस्तो अवस्थामा संक्रमितहरू आइसोलेसन केन्द्रबाट भागेर जाने गरेका हुन् । अस्पतालको छेउमै सडक निर्माणाधीन अवस्थामा छ । यही कारणले अस्पतालको पर्खालसमेत भत्काइएको छ । संक्रमितहरू सहजै भाग्न सक्ने भएका कारण आइसोलेसनमा पुर्‍याएपछि समेत जाने गरेका हुन् । हरेक दिन दुई/तीन जना संक्रमित भागेर जाने गरेका हुन् ।

यति मात्रै होइन आइसोलेसनमा बसेकाहरू आफैं खाना तथा अन्य सामग्री लिनसमेत जाने गरेका छन् । विगतमा संक्रमितको खानाका लागि छुट्टै बजेट आउने गर्थ्यो । यस पटक अस्पतालले नै व्यवस्थापन गर्नुपर्ने भएको छ । अस्पतालले बिहान ९ देखि १० र साँझ ५ देखि ६ बजे गरी दिनको दुई समय खाना दिने गरेको छ । उक्त समयपछि आउने बिरामीले आफैं खाना लिन जानुपर्ने अवस्था रहेको डा. रोकायाले बताए ।

‘आइसोलेसन भनेको लक्षण देखिएका वा स्वास्थ्यमा समस्या भएकालाई राख्ने स्थान हो,’ उनले भने, ‘यो त होल्डिङ सेन्टर जस्तो बनाइएको छ । हामीले बिरामीको उपचार गर्ने कि संक्रमितको रेखदेख गर्ने ?’ उनले आइसोलेसनमा राखिएका बिरामीको रेखदेख गर्नेसमेत कोही नभएको र उनीहरूको नाम दर्ता वा अन्य कुनै रेकर्ड नहुने गरेको बताए ।

गड्डाचौकी नाकाबाट ल्याइएका संक्रमितलाई वडाको सिफारिसमा होम आइसोलेसनमा बस्ने गरी पठाइन्छ । उनीहरू सार्वजनिक बसमा बिनारोकतोक यात्रा गरिरहेका छन् । यसले समुदायमा संक्रमण फैलिने जोखिम झनै बढेको छ । महाकाली प्रादेशिक अस्पतालमा शुक्रबार बिहानसम्म ४ दिनको अवधिमा ३ सय १४ संक्रमित पुगेका छन् । तीमध्ये १६ जना मात्रै अस्पतालमा छन् । अरू सबै होम आइसोलेसनमा बस्ने गरी घर गएका छन् ।

कञ्चनपुरका मात्रै नभई सुदूरपश्चिमका अन्य जिल्लाका संक्रमितसमेत सार्वजनिक बसमा यात्रा गरेर घरतर्फ गएका छन् । ‘हामीले वडा र पालिकाको सिफारिसमा होम आइसोलेसनमा बस्ने गरी घर पठाउने गरेका छौं,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले भने, ‘उनीहरू सार्वजनिक यातायातमा जान नपाइने पनि भनेका छौं तर सबैको रेखदेख गर्न सकिँदैन, कतिपय यसरी नै गएका हुन सक्छन् ।’ उनले होल्डिङ सेन्टर तयार नभएका कारण अस्पतालमा चाप बढेको बताए ।

अस्पतालनजिकैको सालघारी क्षेत्रमा एक हजार शय्याको होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा छ । दुई महिनामा सक्ने गरी असारमा ठेक्का सम्झौता भएको होल्डिङ सेन्टरको काम अझै सकिएको छैन । निर्माण कम्पनीले तत्काल ३ सय शय्यामा बिरामी राख्न सक्ने भने पनि यसको सञ्चालन कसले गर्ने भन्ने अन्योल छ । होल्डिङ सेन्टरमा स्वास्थ्यकर्मीदेखि संक्रमितको खानाको व्यवस्थापन कसरी गर्ने भन्ने कुनै निर्णय भएको छैन ।

‘आज पनि हामीले होल्डिङ सेन्टर सञ्चालनको जिम्मा दिन आग्रह गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘हामी जतिसक्दो चाँडो होल्डिङ सेन्टरको व्यवस्थापनका लागि जुटेका छौं, त्यसपछि अस्पतालको चाप कम हुनेछ ।’ शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई समेत भेटेर यही विषयमा कुरा भएको उनले बताए ।

कञ्चनपुरमा शुक्रबार थप १ सय १ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये गड्डाचौकी नाकामा मात्रै ८६ जना संक्रमित भेटिएका छन् । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ६ सय २० पुगेको छ । जसमध्ये ५८ जनामात्रै अस्पतालको आइसोलेसनमा छन् । बाँकी ५ सय ६२ जना होम आइसोलेसनमा छन् ।

प्रकाशित : माघ १, २०७८ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?