कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

महामारीमा केजरीवालको घरदैलो सेवा 

दिल्लीका मुख्यमन्त्री केजरीवालले संकटको घडीमा जनतासँग जोडिने उदाहरण स्थापित गरेका छन्
राजेश मिश्र

नयाँदिल्ली — कोरोना संक्रमण बढेयता दिल्लीमा अर्काका घरहरूमा पाहुना वा अपरिचितले हत्तपत्त ‘डोरबेल’ बजाउँदैनन् । कुनै सामान अनलाइन अर्डर गरेको अवस्थामा वा पूर्वसूचना दिएर कोही आएको खण्डमा मात्रै ‘डोलबेल’ बज्छ । म बसेको फ्ल्याट पनि त्यस्तै छ, हत्तपत्त डोरबेल बज्दैन । 

महामारीमा केजरीवालको घरदैलो सेवा 

शुक्रबार बिहान ८ बजेतिर ‘डोरबेल’ बज्यो । ढोकामा प्रहरी पोसाकमा हातमा फाइल बोकेका एक पुरुष र एक महिला थिए । सोधे ‘आप अनुप अरोरा है ?’ मैले होइन भन्दै छेउकै ढोकातर्फ संकेत गरेँ । तर, उनीहरूको आगमनले एक महिना अगाडि मलाई पनि त्यस्तै गरी खोज्दै आएका यस्तै पोसाकधारीको सम्झना भयो । र, त्यही कारणले फेरि मेरो फ्ल्याट मालिक अरोरालाई खोजेको अनुमान लगाएँ । ढोकामा आएका अरोरालाई उनीहरूले सोधे– ‘आप कोभिड पोजिटिभ है ?’ उत्तर आयो– ‘हाँ ।’ सँगैको फ्ल्याटमा कोभिडको कुरा आएपछि मैले सुन्न चासो दिएँ ।

त्यहाँ बस्ने तीनै जनाको कोभिड पोजिटिभको रिपोर्ट अघिल्लो साँझ आएको थियो । फाइल बोकेका दुई जनाले परिवारका सबै सदस्यबारे विस्तृत विवरण लिए । स्वास्थ्य अवस्था, लक्षण, उमेर, खोप लिए/नलिएको, बाहिरको यात्रा कहिले गरेको, को कोसँग सम्पर्कमा पुगेको आदि सोधपुछ थियो । उनीहरूले ६० वर्ष कटेका व्यक्तिलाई अस्पताल भर्ना गराउनुपर्ने सुझाव पनि दिँदै थिए । आवश्यक पर्‍यो भने एम्बुलेन्स बोलाएर अस्पताल लैजान्छौं भन्दै थिए । उताको लामो संवादपछि फेरि मसँग र तलमाथि बस्ने अन्य परिवारको विस्तृत विवरण कोभिडसँग मिल्ने कुनै लक्षण भए/नभएको सोधीखोजी गरे ।

एक महिनाअघि लक्षणहरू देखिएपछि गराएको जाँचमा मेरो रिपोर्ट पनि कोरोना पोजिटिभ आएको थियो । दिल्लीको बसाइमा एक्लै भएका बेला संक्रमणले छोयो । स्वास्थ्यको दृष्टिकोणले ठिकै थिएँ । तैपनि एक्लो बसाइँ, के कसो हुने होला भनेर मन अशान्त थियो । तर, दिल्ली सरकारको सिस्टमले ढाडस दियो । मैले आफ्नो रिपोर्ट थाहा नपाउँदै नजिकको डिस्पेन्सरीबाट भन्दै बेलुका फोन आयो र भनियो– ‘आप ने आज कोभिड टेस्ट करवाया था ? पोजिटिभ आया है । घर पे रहिएगा । कहीं मत निकलिएगा ।’

भोलिपल्ट बिहानै दुई जना आएर विस्तृत विवरण टिपेर गए । अक्सिमिटर छ/छैन सोधे । छैन भनेपछि ल्याएर दिए । र, म बस्ने फ्ल्याट बाहिर प्रहरी पोसाकमै दिलसाद अली नामका युवक ड्युटीमा खटिए । मलाई भनियो– ‘तपाईं १० दिन होम आइसोलेसनमा हुनुहुन्छ । बाहिर ननस्किनु, कसैलाई नबोलाउनु होला । दिनदिनै अक्सिजन लेभल, ज्वरो र स्वास्थ्यबारे जानकारी हामीलाई दिनुहोला । केही चाहिए, अस्पताल जान परे बाहिर ड्युटीमा रहेका स्वयंसेवकले सहयोग गर्नेछन् ।’ सुरुमा गेटमा प्रहरी आएको देख्दा टेस्ट गराएर अनावश्यक के झमेलामा परेछु भन्ने भएको थियो । तर, परदेशमा स्थानीय सरकारबाट पाएको व्यवहारले खुसी नै दियो । बाहिर तैनाथ दिलसादले दिनदिनै फोन गरेर ‘कुछ चाहिए तो बता देना’ भनेर सोध्न थाले । सीडीओ अफिसजस्तै यहाँको डिस्ट्रिक्ट मेजिस्ट्रेटको अफिसबाट दिनदिनै फोन गर्दै मेरो स्वास्थ्य अवस्थाको जानकारी लिइन्थ्यो ।

मलाई पोजिटिभ भएका बेला दिल्लीमा दैनिक भेटिने संक्रमितको संख्या सयभित्र सीमित थियो । अहिले २५ हजार हाराहारी भेटिँदै छन् । तैपनि अहिले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको सरकार ‘डोर टु डोर’ सेवा दिन प्रयत्नशील मात्रै छैन, सफल पनि भइरहेको छ । उनले बसालेको यो पद्धतिले सरकार र नागरिकलाई धेरै नजिक बनाएको छ । आम नागरिकलाई सरकारसँग अपनत्व अनुभूति दिएको छ ।

कोरोनाको तेस्रो लहर रोकथाम र नियन्त्रणको तयारीबारे लोकनायक जयप्रकाश नारायण अस्पतालमा जानकारी लिँदै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल ।

घरघरमा सेवा पुर्‍याउन कसरी सम्भव भयो ? यसबारे जानकारी लिँदा पाइयो– दिल्ली सरकारले करिब अढाई लाखको संख्यामा युवाहरूलाई ‘सिभिल डिफेन्स भोलिन्टिएर’ मा भर्ना गरेको छ । उनीहरूको मासिक तलब हुँदैन । खटाइएका बेला दैनिक भारु ७ सय ६३ रुपैयाँका दरले पारिश्रमिक दिइन्छ । आवश्यकताअनुसार भर्ती खुल्छ । त्यसमा भारतसँगैनेपाल र भुटानका युवाले पनि काम पाउने व्यवस्था छ । उनीहरूलाई ७ दिनको तालिमपछि दिल्ली प्रहरीसँग मिल्ने पोसाक दिइएको हुन्छ । त्यस्तो पोसाक दिनुको कारण रहेछ उनीहरूलाई सम्मान मिलोस्, साथै काममा सहजता होस् । दिल्लीको सुरक्षा व्यवस्था केन्द्र सरकार मातहत छ । दिल्ली प्रहरी केन्द्रको छ ।

दिल्ली सरकारले सिभिल डिफेन्स स्टाफलाई एयरपोर्टदेखि सार्वजनिक बस र टोलटोलमा आवश्यकताअनुसार काममा परिचालन गर्ने गर्छ । कोभिड महामारीका बेला धेरैजसोको ड्युटी यता लगाइएको छ । बिरामी पहिचान, उनीहरूलाई अस्पताल लैजाने, औषधि पुर्‍याउने, परामर्श दिने, घर बाहिर खटिने र खोप अभियानमा लाग्ने जस्ता जिम्मेवारीमा उनीहरू छन् ।

महामारी फैलिनासाथ मुख्यमन्त्री केजरीवाल सातामा २/३ पटक भिडियो कन्फ्रेन्समार्फत दिल्लीका जनतासँग जोडिन्छन् । सर्वसाधारणको मनोबल बढाउने कुराहरू गर्छन् । सतर्क रहन तर नआत्तिन आग्रह गर्दै सरकारले तयारी गरेको जानकारी गराउँदै डाढस दिने कोसिस हुन्छ उनको । गरिबलाई खानाको अभाव भए सितैं रासन पाइने ठाउँको जानकारी दिन्छन् । त्यस्ता स्टलहरू थपिएको बताउँछन् । होम आइसोलेसनलाई जोड मात्रै दिँदैनन्, घरै बस्दा उपचार सेवा कसरी लिने भन्ने पनि बताउँछन् ।

होम आइसोलेसनमा रहेकाहरूलाई सिभिल डिफेन्स स्टाफमार्फत सम्पर्क गर्ने, उनीहरूलाई आवश्यक औषधि, सबै सुविधा सरकारले पुर्‍याउँदै आएको छ । डिजिटल माध्यमबाट योगको कक्षा पनि सुरु गराएका छन् । महामारी नियन्त्रणमा केजरीवाल सरकारले गरेका यस्तै प्रयासहरूले होला, यसपटक विगतको जस्तो आत्तिने अवस्था दिल्लीमा छैन । विभिन्न तहका ६५ हजार बेड तयार राखिएको केजरीवालले भन्दै आएका छन् । भिडियोमार्फत गर्ने संवाद संक्रमितसँगै अन्यको पनि आत्मबल बढाउने खालको हुन्छ ।

दिल्लीमा म बस्ने क्षेत्र साउथ इस्ट जिल्लामा पर्छ । यहाँको कोभिडसम्बन्धी नुडल अधिकारी हुन् डा. निशा नुपुर । महामारी हुँदा पनि ‘डोर टु डोर’ सेवा कसरी सम्भव छ ? भन्ने प्रश्नमा उनले भनिन्– ‘हरेक बिरामीसमक्ष पुग्ने कार्यमा हामी सफल छौं । पहिलेको भन्दा सिभिल डिफेन्स स्टाफ दोब्बरले खटिएका छन् ।’ २/३ घरमा वा धेरैजना संक्रमित भएका घरको पहिचान गरी ड्युटी लगाइएको उनले बताइन् । बिरामीको दिनहुँ स्वास्थ्य स्थिति पनि फोनमार्फत बुझ्ने र आवश्यक परे चिकित्सकीय परामर्श दिने, औषधि पुर्‍याउने काम गरिरहेको उनले बताइन् । अहिले आइसोलेसनमा बस्नुपर्ने अवधि पनि घटाएर ७ दिन बनाइएको छ ।

दिल्ली सरकारले नआत्तिन, जरुरी नभई अस्पताल नजान र होम आइसोलेसनमा बस्न दिएको सुझावसँगै पुर्‍याएको ‘डोर टु डोर’ सेवाकै परिणाम यस पटक अस्पतालका बेडहरू अझैसम्म ठूलो संख्यामा खाली छ । दिल्लीमा यतिबेला कोरोनाका सक्रिय संक्रमित ९४ हजार १ सय ६० जना छन् । अस्पतालमा ३ हजार जति मात्रै भर्ना छन् । बाँकी होम आइसोलेसनमै छन् ।

प्रकाशित : माघ १, २०७८ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?