विमानस्थल र एयरलाइन्सको लापरबाहीले यात्रुको उपभोक्ता अधिकार हनन : मानव अधिकार आयोग- समाचार - कान्तिपुर समाचार

विमानस्थल र एयरलाइन्सको लापरबाहीले यात्रुको उपभोक्ता अधिकार हनन : मानव अधिकार आयोग

रासस

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले तोकिएको समयमा हवाई उडान नहुनु र उडान ढिलो ‘फ्लाइट डिले’भएको सूचना समयभित्रै एयरलाइन्सले यात्रुलाई नदिँदा यात्रुको उपभोक्ता अधिकार हनन भएको जनाएको छ ।

आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विभिन्न विमानस्थलमा गरेको स्थलगत अवलोकनका क्रममा उडान सेवा विलम्ब हुनु र यात्रुले सास्ती बेहोर्नुमा एयरलाइन्सको लापरबाही रहेको निष्कर्ष निकालेको हो ।

आयोगको संघ र प्रदेश कार्यालयले तीन महिनाको अवधिमा गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा हवाई यात्रु खासगरी सुत्केरी, बिरामी, महिला, अपाङ्गता भएका व्यक्ति, अत्यावश्यक कामकाजी र ज्येष्ठ नागरिकले बढी सास्ती बेहोर्नुपरेको उल्लेख गरेको छ । तोकिएको समयमा र बिनाझन्झट यात्रा गर्न पाउने आम उपभोक्ताको अधिकारका सम्बन्धमा सरोकारवाला पक्षलाई जिम्मेवार बनाउन तथा विमान उडानको निर्धारित समयमा ढिलाइ हुन नदिन गरिएको व्यवस्थापनबारे सम्बन्धित विमान सेवा कम्पनीसँग जानकारी लिने जनाएको छ ।

शुक्रबार ‘हवाई उडान र नागरिकको उपभोक्ता अधिकार’सम्बन्धी छलफल कार्यक्रममा आयोगका उपसचिव मञ्जु खतिवडाले प्रतिवेदन प्रस्तुत गर्दै यात्रुको उपभोक्ता अधिकार सम्बन्धमा विमानस्थल तथा विमान सेवा कम्पनीमा गरिएको स्थलगत अनुगमनको सार प्रतिवेदन प्रस्तुत गर्दै उडानबारे यात्रुलाई समयमा सही सूचना नदिइँदा यात्रुले सास्ती बेहोर्नुपरेको पाइएको बताए ।

विमानस्थल, सरोकारवाला यात्रु र एयरलाइन्ससँग गरिएको अवलोकन अध्ययनबाट तथ्याङ्कअनुसार आधा घण्टादेखि आठ घण्टासम्म उडान ढिलो हुने गरेको र एयरलाइन्सले बेलैमा र सही सूचना नदिने गरेका कारण यात्रुले कठिनाई भोग्नुपरेको निष्कर्ष निकालिएको छ । लामो समयसम्म विमानस्थलमा पर्खनुपर्ने कारण यात्रु विमानस्थल परिसरका महङ्गा र गुणस्तरहीन खानेकुरा खान बाध्य भएको प्रतिवेदनमा औँल्याइएको छ । साथै विमान उडान ढिलो हुने देखिएमा यात्रुलाई अग्रिम जानकारी नगराइने गरेको तथा विमान उडानको समय परिवर्तनबारे विमानस्थलमा आइपुगेपछि मात्रै अवगत गराउँदा यात्रु दोहोरो मारमा परेको उल्लेख गरिएको छ ।

विमानस्थलमा यात्रुको चाप बढे पनि उनीहरुका लागि विश्रामस्थल, खानेपानी, शौचालयलगायतको सुविधा पर्याप्त नहुँदा यात्रुले सास्ती खेप्नुपरेको जनाइएको छ । हिमाली र पहाडी भेगका उडानमा यात्रुले बढी सास्ती बेहोर्नुपरेको पाइएको छ ।

कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले उपभोक्ताको हकहित संरक्षण र सेवालाई व्यावहारिक र मर्यादित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले विमानस्थल र एयरलाइन्सले समयमा सही सूचना नदिएकाले उपभोक्ताले सास्ती भोग्नुपरेको भन्दै उपभोक्ताको अधिकारप्रति सजक रहन सबैमा अनुरोध गरे । विमानस्थलले आधुनिक सुविधा दिन तथा नियामकले प्रभावकारी अनुगमन गरेर सेवालाई प्रभावकारी बनाउन अध्यक्ष मगरले आग्रह गरे । उनले हवाई उडानका यात्रुले भोगिरहेको समस्याबारे कसरी समस्या समाधान गर्न सकिन्छ भनेर सरोकारवालासँग छलफल गरेर छिट्टै सरकारलाई राय सुझावसहितको प्रतिवेदन पेस गर्ने जानकारी दिए ।

आयोगका सदस्य सूर्यप्रसाद शर्मा ढुङ्गेलले सम्बन्धित निकायले नियम कानूनको प्रभावकारी कार्यान्वयन नगर्दा उपभोक्ता अधिकार हनन् भएको भन्दै उपभोक्ता अधिकारको विषयलाई विषयगतरूपमा गहन अध्ययन गरी सिफारिस गरिने बताए ।

आयोगका सदस्य मिहिर ठाकुरले विमानस्थलमा हवाई यात्रुले भोगिरहेको समस्याको पहिचान गरी सेवा सुधारमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने गरी छिट्टै प्रतिवेदन सरकारलाई सिफारिस गर्ने आयोगले जनाएको छ । विमान कम्पनीले नियमित उडान नगर्दा यात्रुले भोगेको समस्या, सही सूचना नपाउँदा नागरिक उपभोक्तामाथि भएको क्षतिबारे नेपाल सरकारलाई सुझाव दिएर सुधार गरिने आयोगको भनाइ छ ।

उपभोक्ता अधिकारकर्मी गोविन्द सुवेदी, निर्मल धिताल, विष्णुप्रसाद तिमल्सिना, बाबुराम पौडेल, भावना भट्टलगायतले विमानस्थलको सेवा चुस्त र प्रभावकारी एवं सबैखाले यात्रुमैत्री बनाएर उपभोक्ता अधिकारको सुनिश्चित गर्न आयोगमार्फत सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित : पुस ३०, २०७८ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्

हुम्लीलाई तीन महिनापछि बल्ल चार किलो चामल !

रासस

सिमकोट — नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झन्डै तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेको छ । शुक्रबारदेखि सुरु गरिएको खाद्यान्न वितरणमा एक व्यक्तिले चार किलोग्राम मात्रै चामल पाउने भएको छ । 

समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदा यहाँका नागरिक मर्कामा पर्दै आएका छन् । प्रत्येक महिना पाउनुपर्ने भए पनि समयमै ढुवानी नहुँदा यहाँका नागरिक चामल पाउनबाट वञ्चित बनेका हुन् । भौगोलिक रूपमा विकट हुम्लामा लिमिटेडले समयमै चामल ढुवानी नगरिदिँदा करिब ६० हजार सर्वसाधारण समस्यामा परेका छन् । कमिसनको खेलले तीन महिना बित्दासमेत चामल ढुवानी हुन नसकेको बताइएको छ ।

तीन महिनापछि बल्ल चामल वितरण गरेको भएपनि उनीहरुले एक महिनाको मात्रै चामल पाउने भएका छन् । लिमिटेडको हुम्ला शाखामा मौज्दात न्यून भएका कारण सर्वसाधारणका लागि बिक्री नभएको हो । तीन महिनायता लिमिटेडको कोटाको सस्तो मूल्यमा खरिद गर्न पाउने खाद्यान्न नपाएपछि बजारमा महँगो मूल्य तिरेर खाद्यान्न खरिद गर्नु परेको थियो ।

चार किलो चामलका लागि नागरिकता पेस

लिमिटेड शाखा हुम्लाले तीन महिनासम्म खाद्यान्न वितरण गर्न नसकेर शुक्रबारदेखि वितरण कार्य सुरु गरेको छ । चामल लिन लिमिटेडको शाखामा पुग्दा यहाँका नागरिकले आफ्नो परिचयपत्र खुल्ने नेपाली नागरिकता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने बाध्यता जस्तै बनेको छ । नागरिकता पेस नगर्दा चामल नपाइने भएको स्थानीयवासी गणेश बोहराले बताए । उनले भने, 'सधैँ चामल लिन वडाले दिने रासन कार्ड भए हुन्थ्यो, यो पटक नागरिकता अनिवार्य गरेको छ, यसले गर्दा सोझा सर्वसाधरणलाई थप झन्झटिलो बनेको छ ।'

चामल पाउनका लागि लाइनमा बस्नुपर्ने बाध्यता छँदै छ । फेरि अर्को झन्झट नागरिकताको फोटोकपी बुझाउनुपर्ने स्थित छ । अनुदानमा ढुवानी भएर आएको चामल लिनका लागि आफ्नो नागरिकता दिनुपर्ने यो कस्तो नियम हो भन्दै अर्का स्थानीयवासी जानकी भण्डारीले गुनासो पोखे । आफूहरु सर्वसाधरणलाई दुःख मात्र दिन खोजेको उनको भनाइ छ । गाउँबाट साढे दुई घण्टाको पैदल हिँडेर लिमिटेडको शाखा कार्यालय सिमकोट पुग्नुपर्ने बाध्यता त छँदैछ । त्यसमा पनि चार केजी चामलका लागि यहाँका नागरिकका लागि नागरिकता प्रमाण पत्र धरौटी राखे जस्तै भएको छ । सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका नागरिकले यस अगाडि वडाले दिएको रासन कार्डले हुन्थ्यो भने अहिले नागरिकता पेस गर्नुपर्छ ।

प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चामल पाउने नागरिकहरु नदोहोरिऊन् र उनीहरुले चामल पाए/नपाएको विवरण राख्नका लागि नागरिकता अनिवार्य गरिएको हो । गाउँघरका सबै नागरिक चामल पाउनबाट कोही नछुटून् भन्नका लागि उनीहरुको नागरिकता माग गर्ने निर्णय भएको उनले बताए । नागरिकता अनिवार्य नगर्दा बीचमा कोहीले दुई तीनवटा रासन कार्डसमेत बनाएर अनियमितता हुन सक्छ कि भने यसो गरिएको बताए ।

मनपरी खुल्छ लिमिटेडको खाद्य गोदाम

सदरमुकाम सिमकोटमा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्य गोदान नियमविपरीत मनपरी खुल्दै आएको छ । खाद्य व्यवस्था समितिको बैठकले जन्म, मृत्यु र अतिआवश्यकका लागि हप्ताको एक शुक्रबार खोल्ने निर्णय गरेको छ । तर लिमिटेडले त्यसको विपरीत गोदाम खोलर आफ्नो अनुकूल चामल वितरण गरिरहेको छ । उक्त समितिले गोदाममा चामल मौज्दात बढी जम्मा पारेर महिनाको एक पटक सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका साथै बजारवासी र कर्मचारी वितरण गर्ने नियम बनाएको भए पनि यसको कुनै कार्यान्वयन नभएको बताइएको छ ।

शुक्रबार आन्दोलित बने सर्वसाधरण

लिमिटेडको शाखा कार्यालयले आजदेखि चामल वितरण गरेको भए पनि एक महिनाको पूरा पाउनुपर्ने चामलमध्ये आधा घटाएर वितरण गरेपछि सिमकोट गाउँपालिका–१ र २ नागरिक आन्दोलित बनेका हुन् । तल्लो बजारमा रहेको लिमिटेडको शाखामा चामल खरिद गर्न छोडेर उनीहरु जिल्ला प्रशासन कार्यालयमा आएर चामल पूरा वितरण गर्न माग राख्दै आन्दोलन गरेका थिए । सर्वसाधरण आक्रोशित भएपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सिमकोट गाउँपालिका अध्यक्ष पद्मबहादुर लामा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय भण्डारी, प्रहरी नायब उपरीक्षक हेरम्भ शर्मालगायतको टोली बसेर तीन महिनापछि वितरण भए पनि यहाँका नागरिकले पाउनुपर्ने सबै खाद्यान्न वितरण गर्ने सहमति भएको हो ।

सीता एयरले ढुवानीमा ढिलाइ गर्दा चामल अभाव

हुम्लाका लागि खाद्यान्न ढुवानी गर्ने जिम्मा पाएको निजी सीता एयरले समयमै ढुवानी नगर्दा यहाँका नागरिक तीन महिनादेखि चामल पाउनबाट वञ्चित बनेका हुन् ।

विगतका वर्षमा सीता, तारा र समिट एयरलाइन्स सबैले खाद्यान्न ढुवानी गर्दा यसरी अभाव झेल्नु परेको थिएन तर यो पटक सीता एयरले दैनिक ढुवानीमा वास्ता नगर्दा थप समस्या निम्तिएको हो । खाद्यान्नले चालु आर्थिक वर्षमा हुम्लामा २७ हजार ९०० क्विन्टल चामल ढुवानी गर्ने भनेको छ । तर ढुवानीमा हुने बेवास्ताले तीन महिना बित्दासमेत उसले ढुवानी गरेको छैन । अहिले झन्डै एक हजार २०० क्विन्टल मात्रै चामल मौज्दात रहेको लिमिटेड शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए । त्यही मौज्दात रहेको चामल तीन महिनादेखि नपाएका सर्वसाधरणलाई वितरण गर्न थालिएको प्रमुख अधिकारीले बताए ।

गत असोजपछि सर्वसाधरणका लागि बिक्री वितरण बन्द गरिएको उनले बताए । साउन, भदौ र असोज महिनामा भने अघिल्लो वर्षको मौज्दात खाद्यान्नबाट बिक्री गरिएको थियो । शाखाबाट तीन हजारभन्दा बढी मासिक रुपमा खाद्यान्न पाउने ग्राहकहरु रहेका छन् ।

प्रकाशित : पुस ३०, २०७८ १६:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×