कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

श्रीमतीको हत्या गर्ने ७ वर्षपछि पक्राउ

मनोज पौडेल

कपिलवस्तु — कृष्णनगर नगरपालिका ६, स्थित श्रीनगरमा पत्नीलाई बीभत्स तरिकाले हत्या गरेर शव जलाएर फरार श्रीमान् ७ वर्षपछि पक्राउ परेका छन् ।सीमावर्ती भारतको उत्तर प्रदेश, सिद्धार्थनगर जिल्लास्थित ग्राम धन्सा घर भएका ३० वर्षे सिकन्दर भन्ने मुलायम चमारलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमतीको हत्या गर्ने ७ वर्षपछि पक्राउ

‘७/८ महिनादेखि उनको गतिविधि सुक्ष्म रुपले ट्रयास गर्दै बसेका थियौं,’ नायब उपरीक्षक धर्मराज भण्डारीले भने, ‘लुकिछिपी नेपाल आउँदै छन् भन्ने जानकारी आयो ।’ उनीसँग नम्बर प्लेट नभएको आर वान ५ मोटरसाइकल, दुई थान मोबाइल र उत्तर प्रदेश प्रान्तीय रक्षक दल महानिर्देशनालयको परिचय पत्र बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।

०७१ फागुन ३० गते सिकन्दर ससुराली आएका गिए । ज्वाइँ आएपछि ससुरा सुखराम चमारले सक्दो खातिरदारी गरे । खाना खुवाएर मच्छरदानी राखेर छोरी ज्वाइँलाई ओछ्यान लगाइदिएर उनी गोठमा सुत्न गए । मुलायमले राति सँगै सुतेकी श्रीमती किस्लावती चमारको हात, खुट्टा काटेर तरिकाले हत्या गरे । किस्लावतीका बाँया हात र ख्ट्टा दुवै चुँडिएका थिए । कसैले थाहा नपाउन् भनेर मुलायमले घरदेखि ३ सय मिटर टाढा रहेको झिन्कन आरखको रहरको खेतमा शव लगेर गाडे । जलाउने प्रयास पनि गरे ।

छोरी–ज्वाइँ एक्कासि हराएपछि सुखराम अत्तालिए । सोधखोज गर्न लागे । खेतबारी चहार्न थाले । अर्को दिन चैत १ गते उनलाई भारतबाट फोन आयो । ससुराली गएका ज्वाइँ त घर फर्किसके । त्यही गाउँमा बिहे भएकी उनकी जेठी छोरीले ज्वाइँ घर फर्किसकेको तर बैनी नआएको जानकारी बाबुलाई गरेकी थिइन् । त्यसपछि बाबुको मनमा चिसो पस्यो ।

फेरि खेतबारीमा खोज्न थाले । दिउँसो गाउँलेले एउटा कुकुरले मान्छेको खुट्टा लिएर गइरहेको देखे । त्यसपछि हल्ला भयो । प्रहरी गएर हेर्दा घटनास्थल फेला पर्‍र्यो । शव जलाउने प्रयास गरेर जल्न नसकेपछि माटोले पुरेर छाडिएको थियो । शव क्षतविक्षत अवस्थामा थियो । बाबुले छोरीको दाहसंस्कार गरे । आरोपी पक्राउ हुन नसक्दा घटना सामसुम रहयो ।

हत्या आरोपी सिकन्दर पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय आएका ससुरा सुखरामको खुटा समातेर आफूलाई बचाउन अनुनयविनय गरेको बताए । तर, यस्तो क्रुर र अमानवीय हत्यारालाई हदैसम्मको कारबाही गर्नु पर्ने माग सुखरामले गरे ।

हत्या घटनाको दुई दिनपछि सिकन्दरलाई भारतबाटै गाउँलेले नेपाल बुझाउन ल्याउँदै थिए । गाउँलेले साइकलमा ल्याउँदै थिए । बीच बाटोबाटै एक जनाको मोटसाइकल खोसेर उनी भागेका थिए । उनले विवाह गरेको दुई वर्ष मात्र भएको थियो । ‘विवाहपछि उनी भारतमै अर्कै महिलासँगको सम्बन्धमा रहेछन्,’ एसपी कार्कीले भने, ‘त्यसैकारण यहाँ उनले योजना बनाई हत्या गरे ।’ श्रीमतीको हत्यापछि मुलायमले भारतमै अर्को विवाह गरेका थिए ।

प्रकाशित : पुस ३०, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?